गृह मन्त्रालयमा सस्पेन्सको राजनीतिः कति सम्भव छ सुधन गुरुङको पुनरागमन ?

काठमाडौँ– पूर्वगृहमन्त्री सुधन गुरुङको राजीनामापछि राजनीतिक वृत्तमा नयाँ गृहमन्त्री को बन्छ भन्ने विषयले तीव्र चर्चा पाएको छ। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न नामहरूको अड्कलबाजी भइरहेका छन्।

प्रधानमन्त्री बालेन्द्र साहले भने तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने सम्भावना बलियो रहेको स्रोतहरूको दाबी छ। जसले गृह मन्त्रालय अस्थायी रूपमा प्रधानमन्त्रीकै मातहतमा रहने संकेत गरेको छ।

विवादित व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको खुलासापछि दबाबमा परेका गुरुङले हिजो आफ्नो पदबाट राजीनामा दिएका थिए। उनले राजीनामाको घोषणा प्रधानमन्त्री कार्यालयबाटै सामाजिक सञ्जालमा स्टाटस लेखेर गरेका थिए। जसमा आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि चुनौतीसमेत दिएका थिए।

सो स्टाटस सार्वजनिक भएलगत्तै उनी गृह मन्त्रालय पुगेका थिए, जहाँ उनले करिब तीन घण्टा बिताए। गृह मन्त्रालयमा उनको विदाइ औपचारिक रूपमा गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि विदाइ समारोहमा उपस्थित थिए।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मायाको चिनो प्रदान गर्दै गुरुङलाई बिदाइ गरेका थिए, त्यस क्रममा उनी भावुक देखिएको स्रोतहरूको भनाइ छ। विदाइपछि गुरुङले सरकारी गाडी मन्त्रालयमै छोडेर आफ्नै रातो गाडीमा सिंहदरबारबाट बाहिरिएका थिए। त्यतिन्जेलसम्म उनले सरकारी निवास पनि छोडिसकेका थिए र राति नै सितापाइलास्थित आफ्नो अपार्टमेन्टमा सरेका थिए।

यद्यपि, उनको राजीनामा स्थायी नहुने संकेतहरू पनि बाहिर आएका छन्। पूर्वगृहमन्त्री निकट स्रोतहरूले गुरुङ छिट्टै पुनः गृह मन्त्रालय फर्किन सक्ने दाबी गरेका छन्। उनीहरूका अनुसार सरकारले उनीमाथि उठेका आरोपहरूको छानबिनका लागि समिति गठन गर्ने र सो समितिले केही दिनमै क्लिन चिट दिन सक्ने अपेक्षा गरिएको छ।

त्यसपछि उनको पुनरागमन सम्भावना खुला रहने उनीहरूको भनाइ छ। गुरुङको सचिवालयका एक सदस्यले दाबी गर्दै प्रधानमन्त्रीले तत्काल अर्को गृहमन्त्री नियुक्त नगर्ने र गृह मन्त्रालय आफैंले हेर्ने भएकाले केही दिनभित्रै स्थिति स्पष्ट हुने बताएका छन्। उनका अनुसार ‘छानबिनपछि निर्दोष ठहर भएमा गुरुङ पुनः फर्किने छन्’ भन्ने विश्वास छ। तर, राजनीतिक वृत्तमा यो दाबीलाई पूर्ण रूपमा स्वीकार गरिएको छैन।

प्रधानमन्त्री निकट स्रोतहरूले भने यस विषयमा स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। यता रास्वपा निकट स्रोतहरूले पनि तत्काल नयाँ गृहमन्त्री नबन्ने सम्भावना रहेको स्वीकार गरे पनि गुरुङको पुनरागमन निश्चित नभएको बताएका छन्। उनीहरूका अनुसार छानबिनले निष्कर्ष दिनु नै निर्णायक हुनेछ, दोष प्रमाणित भएमा पुनरागमन सम्भव नहुने स्पष्ट संकेत छ।

यसबीच, सरकारभित्रको शक्ति सन्तुलन र गृह मन्त्रालयको नेतृत्वलाई लिएर चलिरहेको अनिश्चितताले राजनीतिक वातावरण थप तातिएको छ। प्रधानमन्त्री बालेन्द्र साहले गृह मन्त्रालय आफैंसँग राख्नुको अर्थ सुरक्षा र अनुसन्धान संयन्त्रलाई प्रत्यक्ष निगरानीमा राख्ने रणनीति भएको विश्लेषण पनि भइरहेको छ।

अब आउने केही दिनले सुधन गुरुङको राजनीतिक भविष्य मात्र होइन, गृह प्रशासनको नेतृत्व संरचना समेत स्पष्ट गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट