१ करोड ४६ लाखभन्दा बढी अवैध सम्पत्ति प्रकरणः खानेपानीका हाकिम किशोरी यादव विरुद्ध मुद्दा दर्ता
राजविराज– सार्वजनिक पदको आडमा अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। लामो समयदेखि निगरानीमा रहेका यादवमाथि आयोगले गैरकानुनी रूपमा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्ति जोडेको निष्कर्षसहित भ्रष्टाचार मुद्दा अघि बढाएको हो।
आयोगले यादवको सेवा अवधिलाई आधार मानेर २०४७ असार ३१ देखि २०८० पुस २९ गतेसम्मको आय–व्ययको विस्तृत र सूक्ष्म अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानबाट यादव र उनको परिवारले वैधानिक रूपमा जम्मा ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ आम्दानी गरेको देखिए पनि सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सेयर लगानी, सवारी साधन खरिद लगायतका शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च भएको तथ्य बाहिरिएको छ।
आयभन्दा उल्लेख्य रूपमा बढी खर्च देखिएपछि स्रोत नखुलेको रकम स्वतः शंकाको घेरामा परेको र त्यसैलाई आधार बनाएर मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले पेस गरेको आधिकारिक सम्पत्ति विवरण र उनको वास्तविक जीवनशैलीबीच गम्भीर असमानता देखिएको छ। जसले गैरकानुनी आम्दानीको संकेत दिएको ठहर गरिएको छ।
अनुसन्धानको क्रममा उनले आर्जन गरेको भनिएको सम्पत्तिको स्रोत पुष्टि गर्न नसक्नु, साथै खर्चको अनुपात अस्वाभाविक रूपमा उच्च देखिनु भ्रष्टाचारको मुख्य आधार बनेको आयोगको भनाइ छ। अनुसन्धानले अर्को गम्भीर पक्ष पनि उजागर गरेको छ, जसअनुसार यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले आफ्नी श्रीमती निर्मला कुमारीको नाममा समेत विभिन्न लगानी गरेको भेटिएको छ।
यही कारणले अख्तियारले अवैध सम्पत्ति जफतको प्रक्रियालाई प्रभावकारी बनाउन उनलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। अख्तियारले यादवमाथि स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो कायम गरी सोहीअनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ। यो प्रकरणले विशेषतः बारा जिल्लामा मात्र होइन, समग्र सरकारी सेवामा कार्यरत कर्मचारीबीच त्रासको वातावरण सिर्जना गरेको देखिन्छ।
