नयाँ राजनीतिक ध्रुवीकरणको संकेतः हर्क साम्पाङ–सुदन एकता नजिक

काठमाडौँ– नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिन थालेको छ।ँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री तथा हाल ‘कुलिङ पिरियड’ मा रहेका सुदन किरातीबीच राजनीतिक सहकार्य लगभग अन्तिम चरणमा पुगेको दाबी गरिएको छ।

दुवै पक्षबीच पछिल्ला केही चरणका छलफलले औपचारिक एकताको ढोका खोलिसकेको र अब केवल सैद्धान्तिक तथा संरचनागत विषय टुंगो लगाउन बाँकी रहेको नेताहरूले संकेत गरेका छन्। श्रम संस्कृति पार्टीका उपाध्यक्ष लोकनाथ चुँडालका अनुसार दुवै पक्षबीच सहकार्यका लागि आधारभूत सहमति बनिसकेको छ र अब वैचारिक तथा संगठनात्मक संरचनालाई अन्तिम रूप दिने काम मात्र बाँकी छ।

उनका अनुसार निरन्तर संवाद भइरहेको छ र दुई पक्षबीचको दूरी अब लगभग समाप्त भइसकेको अवस्था छ। उनले श्रममा आधारित उत्पादनमुखी समाजवादी अर्थव्यवस्थाको साझा अवधारणामा दुवै पक्ष सहमत हुने दिशामा अघि बढेको पनि स्पष्ट पारेका छन्।

चुँडालका अनुसार श्रम संस्कृति पार्टीले अघि सारेको श्रमदान र उत्पादनसँग जोडिएको आर्थिक मोडल र सुदन किराती पक्षको राजनीतिक दृष्टिकोणबीच उल्लेखनीय समानता देखिएको छ, जसले एकतालाई सहज बनाएको हो। उनका भनाइमा दुवै पक्षले वैचारिक मेल मिलापलाई प्राथमिकता दिँदै संगठनात्मक संरचना टुंग्याउने चरणमा प्रवेश गरेका छन्।

पार्टी एकताको खाका अनुसार सुदन किरातीको टिमबाट करिब १५ जना केन्द्रीय सदस्य श्रम संस्कृतिमा प्रवेश गर्ने तयारी छ भने केही पदाधिकारी तहमा समेत प्रतिनिधित्व रहने सम्भावना देखिएको छ। सुदन किरातीलाई वरिष्ठ नेता बनाउने प्रारम्भिक सहमति भएको चर्चा छ। यद्यपि नेतृत्व र निर्वाचन क्षेत्रसम्बन्धी अन्तिम निर्णय एकता सम्पन्न भएपछि मात्रै टुंगो लाग्ने बताइएको छ।

स्रोतहरूका अनुसार दुवै नेताबीच सार्वजनिक जीवनमा प्रतिष्ठित व्यक्तिहरूलाई साक्षी राखेर प्रारम्भिक मौखिक सहमति समेत भइसकेको छ। एकता भएपछि पार्टीको संरचनात्मक विस्तार तीव्र रूपमा अघि बढाउने योजना छ, जसअन्तर्गत हाल २८ सदस्यीय केन्द्रीय समिति विस्तार गरी १३३ सदस्यसम्म पु¥याउने विधानको व्यवस्था कार्यान्वयन गरिनेछ।

त्यस्तै केन्द्रीय सभामा करिब २०० सदस्य रहने परिकल्पना गरिएको छ, जसले नीति निर्माणमा भूमिका खेल्ने भए पनि कार्यकारी निर्णय अधिकार भने केन्द्रीय समितिमै रहने व्यवस्था छ। पार्टी स्रोतका अनुसार यो एकता केवल संगठनात्मक विस्तार मात्र नभई नयाँ राजनीतिक शक्ति निर्माणतर्फको प्रयासको रूपमा हेरिएको छ, जसले आगामी चुनावी राजनीतिमा नयाँ समीकरण बनाउन सक्ने अनुमान गरिएको छ।

विशेषगरी हर्क साम्पाङ र सुदन किरातीबीचको सहकार्यले वैकल्पिक राजनीतिक शक्तिहरूबीच नयाँ ध्रुवीकरणको सुरुवात गर्ने संकेत पनि देखिएको छ। यता, दुवै नेताबीचको एकतालाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई वैचारिक समानतामा आधारित स्वाभाविक सहकार्य भनेका छन् भने केहीले यसलाई रणनीतिक राजनीतिक गठबन्धनको रूपमा व्याख्या गर्न थालेका छन्।

तर दुवै पक्ष भने एकतालाई तत्कालीन राजनीतिक लाभभन्दा पनि दीर्घकालीन वैकल्पिक राजनीतिक संरचना निर्माणतर्फको कदम भएको दाबी गरिरहेका छन्। अब सबैको नजर दुवै नेताले औपचारिक रूपमा एकता घोषणा कहिले गर्छन् भन्नेमा केन्द्रित भएको छ, जसले नेपालको वैकल्पिक राजनीतिक आन्दोलनमा नयाँ अध्याय सुरु गर्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट