लहानको होस्टेलबाट बेपत्ता भएका सप्तरीका तीन बालकको प्रहरीद्वारा उद्धार
राजविराज– सिरहाको लहान स्थित बोर्डिङ्ग स्कुलको होस्टेलबाट बेपत्ता भएका तीन जना बालकलाई सप्तरी प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख ति बालकलाई सोमबार बिहान करिब साढे ४ बजे सुरुंगा नगरपालिका–४ कदमाहा क्षेत्रमा फेला पारिएको हो। प्रहरीका अनुसार उनिहरु सप्तरीको बोदेबर्साइन नगरपालिका–३ गौरा टोलका हुन। फेला परेका बालकहरु १२ वर्षीय प्रिन्स मण्डल, १० वर्षीय दुर्गानन्द ठाकुर र ७ वर्षीय विकास यादव छन्।
सिरहाको लहानबाट कदमाहातर्फ पैदल हिँडिरहेका ती बालकहरूको गतिविधि असामान्य देखिएपछि प्रहरी चौकी लक्ष्मीपुरबाट गस्तिमा खटिएको टोलीले रोकेर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ती बालकहरू सिरहाको लहानस्थित गोल्डेन इंग्लिश बोर्डिङ स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेल छोडेर निस्किएको खुलेको छ।
प्रहरीका अनुसार बालकहरूलाई तत्काल प्रहरी चौकी लक्ष्मीपुरमा राखी उनीहरूको अवस्थाबारे थप जानकारी संकलन गरिनुका साथै अभिभावकहरूसँग सम्पर्क गरेर सुरक्षित रूपमा जिम्मा लगाइएको थियो।
यस घटनाले बालबालिकाको सुरक्षामा अभिभावक तथा शैक्षिक संस्थाको निगरानी कति आवश्यक छ भन्ने विषयलाई चर्चामा ल्याएको छ।

