सिरहामा ३ वर्षीय बालकको विभत्स हत्याः पोखरीमा भेटियो शरीर टुक्रा

लहान— सिरहाको बरियारपट्टी क्षेत्रबाट ३ दिनदेखि हराएका ३ वर्षीय बालकको विभत्स अवस्थामा शव फेला परेको छ। लक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोलीका भोगेन्द्र प्रसाद यादवका छोरा अभियान्स यादवको शव पोखरीमा फेला परेको हो। बालकको शरीरमा गम्भीर चोटपटक र हातखुट्टा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनएको छ।

अभियान्स वैशाख २६ गते दिउँसो आफ्नी आमा अमृती यादवसँग बरियारपट्टी गाउँपालिका–४ सोहपुर गएका बेला हराएका थिए। सुरुमा परिवारले आफन्त र स्थानीय स्तरमा खोजतलास गरे पनि कुनै सुराग नपाएपछि साँझ इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराइएको थियो। त्यसपछि प्रहरी टोलीले औपचारिक खोजी अभियान सुरु गरेको थियो।

ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट परिचालित टोलीले खोजी गर्ने क्रममा बालकको शव स्थानीय पोखरीमा फेला पारेको हो। शवको अवस्था अत्यन्त शंकास्पद देखिएपछि प्रहरीले घट्नालाई गम्भिर रुपमा लिएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार शवमा देखिएका चोटपटक र अंग काटिएको अवस्थाले योजनाबद्ध हिंसाको संकेत दिएको छ। जसले अनुसन्धानलाई झन् जटिल बनाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने प्रारम्भिक प्रतिवेदनपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने जनाइएको छ।

हालसम्मको अनुसन्धानमा बालकका आमा–बुबाबीच विगत तीन वर्षदेखि पारिवारिक विवाद थियो। बुबा वैदेशिक रोजगारीमा रहेका र आमा माइतीमै बस्दै आएको पाईएको छ। यही आधारमा प्रहरीले पारिवारिक सम्बन्धको जटिलता र सम्भावित कोणहरूबारे अनुसन्धान केन्द्रित गरेको छ। तर हालसम्म कुनै व्यक्तिलाई औपचारिक रूपमा दोषी ठहर गरिएको छैन।

निर्दोष बालकको यति क्रूर अवस्थामा मृत्यु भएको खबर बाहिरिएसँगै स्थानीयवासी आक्रोशित बनेका छन्। घटनास्थल वरपर ठूलो भीड जम्मा भएको छ भने दोषी पत्ता लगाई तत्काल कडा कानुनी कारबाही गर्न माग उठिरहेको छ। मानवअधिकारकर्मीहरूले पनि घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष र छिटो अनुसन्धानको माग गरेका छन्।

निर्दोष बालकको ज्यान जाने गरी भएको यस्तो विभत्स घटनाले स्थानीय स्तरमा त्रास र आक्रोश दुवै सिर्जना गरेको छ भने प्रहरीमाथि छिटो र प्रभावकारी अनुसन्धानको दबाब बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट