सभामुखलाई निस्कल राईको ऐनाः हिजो ‘क्रमभंगता’ भन्दै नायकत्व निर्माण गर्दाको नतिजा आज सदनमै देखिँदै छ

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निस्कल राईले सभामुखदेखि सत्तारुढ दलसम्मलाई विगत सम्झाउँदै संसदको मर्यादा, सत्ताको अहंकार र संसदीय व्यवहारमाथि कडा प्रश्न उठाएका छन्।

अहिले विपक्षी दलका सांसदहरूले संसदमा प्लेकार्ड प्रदर्शन गरेको विषयलाई लिएर सभामुख डोलप्रसाद अर्यालले चेतावनीप्रति लक्षित गर्दै राईले अहिलेको सत्तारुढ दल रास्वपाले प्रतिपक्षमा हुँदा गरेका गतिविधि स्मरण गराएका हुन्।

विशेष समय लिएर बोलेका राईले संसदको वेल घेर्ने, निलो स्कार्फ बाँधेर प्रदर्शन गर्ने, वेलमै पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने शैलीलाई त्यतिबेला ‘क्रमभंगता’ भन्दै राजनीतिक नायकत्व निर्माण गर्नेहरूले आज प्रतिपक्षको विरोधलाई मात्रै ‘अमर्यादित’ भन्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरे।

उनले स्पष्ट शब्दमा भने—‘आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा हुँदा निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेर्न पुगेको थियो। वेलमै पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने काम पनि भएको थियो। त्यतिबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। आफैँले गरेको त्यो कदम कसरी मर्यादित र अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा कसरी अमर्यादित भयो ?’

राईले हिजोको गतिविधि पनि गलत भएको र आज भइरहेको विरोध पनि मर्यादित संसदीय अभ्यास नभएको स्वीकार गरे। तर, सत्तामा पुगेपछि आफ्नो विगत बिर्सेर प्रतिपक्षलाई मात्र उपदेश दिने प्रवृत्तिले संसदको संकट झन् गहिरो बनाएको उनको संकेत थियो।

उनले संसदमा अहिले देखिएको अव्यवस्था आकस्मिक नभई सत्तापक्षले विगतमा ‘क्रमभंगता’ लाई राजनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको संस्कृतिको परिणाम भएको टिप्पणी गरे। उनले सरकार र प्रधानमन्त्री बालेन्द्र साहमाथि संसदप्रति उत्तरदायी बन्न नचाहेको आरोप पनि लगाए।

प्रधानमन्त्रीले सदनको सामना गर्नै नचाहेको कटाक्ष गर्दै उनले भने—‘सरकार र प्रधानमन्त्रीलाई सदन देखिनसक्ने, सदन भनेपछि एलर्जी नै हुने गरेको देखिन्छ।’ संसदमा उठेका प्रश्नको जवाफ दिनबाट सरकार भागिरहेको, नीति तथा कार्यक्रममाथिको छलफललाई समेत औपचारिकतामा सीमित गर्न खोजिएको र कार्यपालिका संसदप्रति उत्तरदायी हुनबाट पन्छिएको आरोप उनले लगाए।

राईको अभिव्यक्ति केवल प्रतिपक्षी आक्रोशमा सीमित थिएन। उनले अहिलेको सरकारमाथि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासम्म हस्तक्षेप गर्न खोजेको आरोप लगाए। ‘सत्ताको छाती चौडा बनाएर हामीले क्रमभंगता गरेका छौँ भन्दै हिँड्दाको नतिजा आज सदनमा देखिँदै छ,’ उनले भने, ‘जबसम्म अङ्कको दम्भले संसदीय व्यवस्था र अभ्यासलाई लत्कारिन्छ, तबसम्म सदन मर्यादित हुन सक्दैन।’

उनको भाषणको अर्को महत्वपूर्ण पक्ष सभामुखतर्फ लक्षित थियो। सभामुख डोलप्रसाद अर्याललाई उनले ‘सदनको अभिभावक’ भन्दै सरकारलाई संसदप्रति जबाफदेही बनाउन निर्णायक भूमिका खेल्न आग्रह गरे। उनले चेतावनीपूर्ण शैलीमा भने—‘यो सदनको अभिभावक तपाईं हो। सदनको गरिमामा एक इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ।’

राईले सभामुखलाई केवल प्रतिपक्षलाई सम्झाउने भूमिकामा सीमित नरहन आग्रह गर्दै सरकारलाई पनि संसदमा उपस्थित भएर जवाफ दिन बाध्य पार्नुपर्ने बताए। उनका अनुसार जबसम्म प्रधानमन्त्री र सरकारलाई सदनप्रति उत्तरदायी बनाइँदैन, तबसम्म संसदभित्रका विरोध र अवरोध रोकिने छैनन्।

उनको भाषणले अहिलेको सत्ता–प्रतिपक्ष सम्बन्ध, संसदीय संस्कार र ‘नयाँ राजनीति’ को दाबीमाथि समेत बहस जन्माएको छ। किनकि हिजो प्रतिपक्षमा हुँदा संसदलाई राजनीतिक प्रदर्शनस्थल बनाउने शक्तिहरू आज सत्तामा पुगेपछि त्यही व्यवहारलाई ‘अमर्यादित’ भन्न थालेका छन्। यही कारण राईको भाषणलाई केवल प्रतिपक्षी टिप्पणी नभई सत्तालाई देखाइएको राजनीतिक ऐना मानिएको छ।

संसदमा निलो स्कार्फ बाँधेर वेल घेर्ने, प्लेकार्ड प्रदर्शन गर्ने, पुस्तक पढ्दै विरोध जनाउने र अहिले प्रतिपक्षलाई नै मर्यादाको पाठ पढाउने प्रवृत्तिबीचको विरोधाभासलाई उनले तीखो ढंगले उजागर गरेका छन्। यसले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ—सत्ता बदलिँदा संसदीय मूल्य र व्यवहार पनि बदलिन्छ कि केवल कुर्सी मात्रै बदलिन्छ ?

अहिले संसदभित्र देखिएको तनाव, प्रतिपक्षको आक्रोश र सभामुखमाथिको दबाबको केन्द्रमा यही प्रश्न उभिएको छ। राईको भाषणले सत्ता पक्षलाई विगत सम्झाइदिएको मात्र छैन, संसदलाई ‘क्रमभंगता’ को रंगमञ्च बनाउने राजनीतिक संस्कृतिमाथि पनि कठोर प्रहार गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट