भारतमाथि ‘बिचौलिया राजनीति’ को आरोप लगाएका रवि लामिछाने अब मोदी भेटको तयारीमा
काठमाडौँ— तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नामै लिएर ‘बिचौलिया नपठाउनुहोस्, हामी सिधै कुरा गरौँ’ भन्ने रवि लामिछाने अहिले आफैँ भारत भ्रमणको तयारीमा छन्। तर विडम्बना के छ भने, सत्ता नेतृत्व गरिरहेको दलकै सभापतिको उच्चस्तरीय भारत भ्रमणलाई सरकारका प्रवक्ताले ‘प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नभएको’ भनेर पन्साउने प्रयास गरेका छन्। यही असंगति अहिले राजनीतिक वृत्तमा चासो र बहसको विषय बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १८ जेठमा दुईदिने भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वसँग भेटघाट हुने र सम्भावित रूपमा प्रधानमन्त्री मोदीसँग समेत भेट हुने चर्चा छ। त्यति मात्र होइन, मोदीको राजनीतिक तथा वैचारिक परियोजनाका रूपमा स्थापित अयोध्यास्थित राम मन्दिर क्षेत्रको भ्रमण कार्यक्रमसमेत जोडिएको बताइएको छ।
यो भ्रमण सामान्य राजनीतिक भेटघाटभन्दा बढी अर्थपूर्ण देखिएको छ। किनकि २३ माघ २०७९ मा उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि आयोजित आक्रोशित पत्रकार सम्मेलनमा रविले भारतसँगको सम्बन्धमा ‘बिचौलिया राजनीति’ को आरोप लगाउँदै मोदीसँग प्रत्यक्ष संवाद गर्न चाहेको बताएका थिए। त्यतिबेला ‘बाह्र भाइ’ को भाष्य निर्माण गर्दै आफूविरुद्ध अन्तर्राष्ट्रिय शक्ति केन्द्रसमेत लागेको संकेत गरेका रवि अहिले त्यही भारतसँग राजनीतिक निकटता बढाउने यात्रामा देखिएका छन्।
अझ रोचक पक्ष के छ भने, दुईपटक उपप्रधानमन्त्री हुँदा समेत मोदीसँग भेटको अवसर नपाएका रविले अहिले केवल सांसद र दलका सभापतिको हैसियतमा भारत भ्रमण गर्न लागेका हुन्। उता प्रधानमन्त्री बालेन साह भने सरकार गठन भएको लामो समय बितिसक्दा पनि भारत भ्रमणमा गएका छैनन्। भारत भ्रमणको चर्चा भइरहे पनि औपचारिक पहल सुस्त देखिएको छ।
यही पृष्ठभूमिमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेलले रविको भ्रमणलाई ‘व्यक्तिगत र दलीय’ भन्दै प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री अहिले ‘सय दिनभित्र गर्नुपर्ने काममा केन्द्रित’ रहेको र त्यसैले विदेश भ्रमणमा समय नदिएको प्रतिक्रिया दिए।
तर राजनीतिक विश्लेषकहरू सरकारको यो तर्कलाई सहज रूपमा स्वीकार गर्न तयार देखिँदैनन्। किनकि सत्ता नेतृत्व गर्ने दलकै सभापति भारतजस्तो संवेदनशील छिमेकी मुलुकको भ्रमणमा जाँदा त्यसलाई केवल ‘व्यक्तिगत’ भन्नुले सरकारभित्रकै दोहोरो सन्देश उजागर गरेको टिप्पणी भइरहेको छ।
भारतका नेपाल मामिला जानकार तथा परराष्ट्र विषयमा विद्यावारिधि गरेका एसडी मुनीले समेत यो भ्रमणलाई केवल औपचारिक राजनीतिक भ्रमण नभई वर्तमान नेपाली सत्ता संरचनाको ‘व्याख्या’ गर्ने प्रयासका रूपमा हेरेका छन्। उनका अनुसार प्रधानमन्त्री बालेन साहको कार्यशैलीबारे भारतमा अन्योल र जिज्ञासा बढिरहेको छ।
मुनीका अनुसार बालेनको व्यवहार भारतले अपेक्षा गरेभन्दा फरक देखिएको छ। सुकुम्बासी बस्ती हटाउने अभियान, सीमाक्षेत्रमा किनमेलमा कडाइ, संसद अवरुद्ध गरेर अध्यादेश ल्याउने शैली र राजनीतिक संवादमा दूरी कायम गर्ने प्रवृत्तिले भारतलाई समेत चकित बनाएको उनको भनाइ छ। त्यसैले रविको भ्रमणले ‘रास्वपा भारतविरोधी होइन’ भन्ने सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।
अर्कोतर्फ, यो भ्रमणलाई रवि लामिछानेको व्यक्तिगत राजनीतिक नेटवर्क विस्तारको प्रयासका रूपमा पनि हेरिएको छ। भारतीय सत्ता वृत्तमा उनको प्रत्यक्ष पहुँच र सम्बन्ध सीमित रहेकाले यो भ्रमणले भविष्यको कूटनीतिक तथा राजनीतिक आधार तयार गर्ने लक्ष्य बोकेको विश्लेषण भइरहेको छ।
यहीबीच अर्को प्रश्न पनि उठेको छ— यदि प्रधानमन्त्री स्वयं भारत भ्रमणमा जान नसक्ने अवस्था थियो भने सत्तारुढ दलका सभापति किन सक्रिय भए ? र यदि यो केवल दलीय भ्रमण मात्र हो भने त्यसमा भारतीय सत्तारुढ बीजेपी नेतृत्वसँग उच्चस्तरीय भेटघाट किन आवश्यक प¥यो ?
रास्वपाले चुनावताका पुराना दलमाथि विदेशी शक्ति केन्द्रसँग निकटता राखेको आरोप लगाउने गरेको थियो। तर अहिले आफैँ भारतीय सत्ता वृत्तसँग सम्बन्ध विस्तारमा सक्रिय देखिनुले पार्टीको पुरानो भाष्य र वर्तमान व्यवहारबीच स्पष्ट विरोधाभास देखिएको टिप्पणी हुन थालेको छ।
राजनीतिक वृत्तमा अहिले एउटा प्रश्न बारम्बार उठ्न थालेको छ— तीन वर्षअघि ‘बिचौलिया हटाएर सिधै कुरा गरौँ’ भन्ने रविको अभिव्यक्ति राष्ट्रवादी आवेग थियो, कि अन्ततः त्यही सत्ता पहुँचको अर्को संस्करण ?

