कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीले उदयपुरगढी आक्रान्तः धुलो, दुर्घटना र डरको दैनिकी

उदयपुर— उदयपुरगढी गाउँपालिका–८ को वैजनाथ टोल यतिबेला धुलो, कम्पन र जोखिमको चपेटामा परेको छ। धनुषाको नक्टाझिजमा फ्याट्री सञ्चालन गरिरहेको कसमस सिमेन्ट उद्योगका लागि भइरहेको चुनढुङ्गा ढुवानीले स्थानीय बस्तीको जनजीवन नै कष्टकर बनेको छ। जसका कारण आक्रोशित स्थानीयवासीले स्थायी समाधानको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्।

स्थानीयका अनुसार उद्योगले उदयपुरगढी–४ स्थित खानी क्षेत्रबाट दैनिक रूपमा भारी टिपर र ट्रकमार्फत चुनढुङ्गा ढुवानी गर्दै आएको छ। वैजनाथ खोला हुँदै मदन भण्डारी लोकमार्गसम्म सञ्चालन भइरहेको उक्त ढुवानीका कारण सडक जीर्ण, धुलाम्मे र अत्यन्त जोखिमपूर्ण बनेको उनीहरूको गुनासो छ।

बैजनाथ टोल विकास संस्थाले आइतबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै उद्योगको मनपरी गतिविधिले बस्ती नै प्रभावित बनेको उल्लेख गरेको छ। संस्थाकी अध्यक्ष शर्मिला तामाङ र सामाजिक अभियन्ता रमा मगरले पटक–पटक छलफलमा बोलाउँदा पनि उद्योग पक्ष उपस्थित नभएको आरोप लगाएका छन्।

स्थानीयको गुनासो सुन्नेभन्दा बेवास्ता गर्ने प्रवृत्ति देखिएको भन्दै उनीहरूले सरोकारवाला निकायको संयुक्त बैठकमार्फत तत्काल समाधान खोज्न माग गरेका छन्। स्थानीयवासीका अनुसार वर्षायाममा सडक हिलाम्मे र खाल्डाखुल्डीले भरिन्छ भने सुख्खा मौसममा उड्ने अत्यधिक धुलोले बस्ती नै ढाकिने अवस्था छ।

विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारण सबैभन्दा बढी प्रभावित बनेका छन्। सडकमा खस्ने चुनढुङ्गाका टुक्रा र अनियन्त्रित गतिमा गुड्ने भारी सवारीका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।

स्थानीय किसानहरूले ढुवानीकै कारण कृषि उत्पादन प्रभावित हुन थालेको गुनासो गरेका छन्। चुनढुङ्गाको धुलो खेतबारीमा थुप्रिन थालेपछि माटोको गुणस्तरमा असर पुगेको र बाली उत्पादन घट्न थालेको उनीहरूको दाबी छ। वर्षासँगै खानीजन्य पदार्थ बगेर खेतमा पस्दा खेतीयोग्य जमिन नै बिग्रँदै गएको उनीहरू बताउँछन्।

ढुवानीका क्रममा उत्पन्न ध्वनि र कम्पन प्रदूषणले घरहरूमा समेत असर पर्न थालेको स्थानीयको भनाइ छ। रातदिन गुड्ने टिपर र ट्रकका कारण बस्तीमा शान्त वातावरण हराएको मात्र होइन, घर चर्किने र संरचनामा क्षति पुग्ने डरसमेत बढेको उनीहरू बताउँछन्।

वातावरणविद्हरूका अनुसार चुनढुङ्गा उत्खनन र ढुवानी उचित मापदण्डविना सञ्चालन हुँदा यसको प्रत्यक्ष असर मानव स्वास्थ्यदेखि कृषि र वातावरणसम्म पर्छ। अत्यधिक धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, खोकी लाग्ने, दम बढ्ने जस्ता समस्या देखिन सक्छन्। लगातारको ध्वनि प्रदूषणले मानसिक तनाव र निद्रासम्बन्धी समस्या निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ।

स्थानीयले उद्योगले केवल नाफा कमाउने उद्देश्यले समुदायको पीडा बेवास्ता गरेको आरोप लगाएका छन्। ‘उद्योगलाई नाफा चाहिएको छ, तर यहाँका बासिन्दाको स्वास्थ्य, सुरक्षा र दैनिकीबारे कसैले सोचेन,’ एक स्थानीयले आक्रोश पोख्दै भने।

स्थानीयका अनुसार समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि उद्योग व्यवस्थापन पक्ष संवादमै आउन नचाहेको गुनासो छ। यही कारण अहिले स्थानीयको असन्तोष झन् चर्किएको छ। समयमै सडक मर्मत, धुलो नियन्त्रण, सुरक्षित ढुवानी र वातावरणीय मापदण्ड लागू नगरे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।

उद्योग सञ्चालनसँगै विकास र रोजगारीको आशा गरिएको भए पनि अहिले स्थानीयले त्यसको मूल्य धुलो, जोखिम र असुरक्षाका रूपमा तिर्नुपरेको गुनासो गरिरहेका छन्। खानी क्षेत्रको प्राकृतिक स्रोत दोहन भइरहँदा त्यसको असर खेप्ने स्थानीय भने राज्य र उद्योग दुवैबाट उपेक्षित भएको अनुभूति गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट