रविमाथि हर्कको व्यंग्यात्मक दबाबः ‘पत्रकार हुँदा डुक्रिन्थ्यौ, अब मोदीसँग लिपुलेक फिर्ता माग’

काठमाडौँ— भारत भ्रमणको तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक–लिम्पियाधुरा विवादको विषय उठाउन सार्वजनिक दबाब दिएका छन्। सामाजिक सञ्जालमार्फत गरिएको उनको टिप्पणी अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

हर्क साम्पाङले आफ्नो फेसबुक स्टाटसमार्फत रवि लामिछानेलाई व्यंग्यात्मक शैलीमा सम्बोधन गर्दै लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भा’थ्यो ।’

उनको यो टिप्पणीलाई धेरैले हालका प्रधानमन्त्री बालेन्द्र साहले काठमाडौँ महानगरपालिकाको मेयर चिन भ्रमणमा जान लागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको सार्वजनिक सुझावसँग तुलना गरेका छन्। बालेनले चीन भ्रमणमा गएका ओलीलाई ‘लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’ भन्दै सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए।

अहिले हर्कले लगभग त्यही शैलीमा रविलाई व्यंग्य गर्दै राष्ट्रियतासँग जोडिएको विषयमा पुरानो अभिव्यक्ति सम्झाइदिएका हुन्। रवि लामिछाने केही दिनमै भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने चर्चा सार्वजनिक भइसकेको छ। यही सन्दर्भमा हर्कको टिप्पणी आएको हो।

विशेषतः रवि लामिछानेले पत्रकारिता कालमा राष्ट्रियता, सीमा विवाद र भारतसँगको सम्बन्धबारे आक्रामक अभिव्यक्ति दिने गरेका प्रसंगलाई अहिले उनीमाथि नै फर्काएर प्रश्न उठाइएको देखिन्छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादको संवेदनशील विषय रहँदै आएको छ। नेपालले ती भूभाग आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ।

चीन र भारतबीच लिपुलेक नाकामार्फत व्यापार सञ्चालन गर्ने सहमति भएपछि नेपालमा त्यसको व्यापक विरोध भएको थियो। त्यतिबेला संसददेखि सडकसम्म विरोध चर्किएको थियो भने परराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पारेको थियो। भारतले भने नेपालका दाबीलाई स्वीकार नगर्ने प्रतिक्रिया दिएको थियो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा पनि यही विषयलाई लिएर राजनीतिक दबाब सिर्जना भएको थियो। बालेन साहले सामाजिक सञ्जालमै सार्वजनिक रूपमा ओलीलाई ‘नेपालको सार्वभौमिकतामाथिको अतिक्रमणबारे चीनसँग कुरा गर्न’ सुझाव दिएका थिए। अहिले हर्क साम्पाङले रविमाथि पनि त्यही शैलीमा व्यंग्य गर्दै ‘पत्रकारितामा बोलेको राष्ट्रवाद अब व्यवहारमा देखाउन’ चुनौती दिएका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ पुस्ताका लोकप्रिय नेताहरूबीच सामाजिक सञ्जालमार्फत हुने यस्ता टिप्पणी केवल व्यक्तिगत कटाक्ष मात्र होइनन्, जनअपेक्षा र राजनीतिक विश्वसनीयतासँग जोडिएका संकेत पनि हुन्। विशेषगरी राष्ट्रियता र सीमा विवादजस्ता संवेदनशील विषयमा अघिल्लो भूमिकाको तुलना अहिलेको व्यवहारसँग हुने भएकाले नेताहरू निरन्तर सार्वजनिक परीक्षणमा पर्ने गरेका छन्।

रवि लामिछानेको भारत भ्रमणलाई लिएर यसअघि पनि विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। केहीले यसलाई राजनीतिक सम्बन्ध विस्तारको प्रयास भनेका छन् भने केहीले भारतसँगको सम्बन्धबारे रास्वपाको वास्तविक दृष्टिकोण परीक्षण हुने अवसरका रूपमा व्याख्या गरेका छन्।

हर्क साम्पाङको पछिल्लो टिप्पणीले भने एउटा पुरानो प्रश्न फेरि सतहमा ल्याएको छ— विपक्षमा हुँदा चर्को राष्ट्रवाद बोल्ने नेताहरू सत्ता वा कूटनीतिक सम्बन्धको नजिक पुगेपछि उही विषयमा कति मुखर रहन्छन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट