कांग्रेस सांसदलाई मर्यादापालकको दुर्व्यवहारः सभामुखको आदेशबिनै बैठकबाट निकाले
काठमाडौँ— प्रतिनिधिसभा बैठकको फोटो खिचेको विषयलाई लिएर कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेका छन्। सभामुखको स्पष्ट आदेशबिनै यसरी सांसदलाई निकालिएको विषयले संसदभित्र नयाँ विवाद जन्माएको छ।
संसदको मर्यादा कायम गर्ने नाममा मर्यादापालकले आफ्नो अधिकार क्षेत्र नाघेको हो कि भन्ने प्रश्न उठ्न थालेपछि संसदीय प्रक्रियामाथि नै बहस सुरु भएको छ। प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसद सेन्दाङले मोबाइलबाट बैठक कक्षको फोटो खिचेकी थिइन्।
त्यसलगत्तै मर्यादापालकले उनलाई रोकेर बैठक कक्षबाहिर लगेको र मोबाइलमा रहेको फोटो तथा भिडिओ हटाउन दबाब दिएको बताइएको छ। सांसद सेन्दाङले आफूलाई नियमबारे जानकारी नभएको स्वीकार गर्दै फोटो डिलिट गरेपछि पुनः बैठक कक्षमा प्रवेश गर्न दिइएको बताएकी छन्।
‘मलाई बैठकमा फोटो खिच्न नहुने थाहा थिएन। बाहिर लगेर फोटो डिलिट गर्नुस् भन्नुभयो, मैले हटाएँ अनि फेरि भित्र आएँ,’ सेन्दाङले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भनिन्।
तर घटनाको मुख्य विवाद प्रक्रियालाई लिएर उठेको छ। प्रतिनिधिसभा नियमावलीअनुसार कुनै सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्न सभामुखको स्पष्ट निर्देशन आवश्यक पर्छ। नियम ३१ मा सभामुखको आदेश नमानेको अवस्थामा मात्रै मर्यादापालक प्रयोग गर्न सकिने व्यवस्था छ। तर उक्त घटनामा सभामुख डोलप्रसाद अर्यालले सांसद सेन्दाङलाई सचेत गराएको, रुलिङ गरेको वा बैठक कक्षबाट बाहिर निकाल्न प्रत्यक्ष आदेश दिएको कुनै आधिकारिक रेकर्ड सार्वजनिक भएको छैन।
यसले मर्यादापालकले आफ्नो अधिकारभन्दा बाहिर गएर व्यवहार गरेको हो कि भन्ने आशंका बलियो बनेको छ। संसदभित्र सांसदलाई अनुशासन र नियम सम्झाउने अधिकार सभामुखमा निहित हुने भए पनि व्यवहारमा मर्यादापालकले प्रत्यक्ष हस्तक्षेप गरेको देखिएपछि कांग्रेस वृत्तमा समेत असन्तुष्टि बढ्न थालेको छ।
यद्यपि संसद सचिवालयले भने घटनालाई सामान्य प्रक्रियाकै रूपमा व्याख्या गरेको छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले मर्यादापालकहरूले सभामुखसँग अनुमति लिएरै कदम चालेको दाबी गरेका छन्। ‘मर्यादापालकहरू सभामुखलाई सोधेरै जानुभएको थियो। उहाँले भिडिओ खिचेकाले हटाउन लगाएको हो,’ पाण्डेयले भनेका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो तथा भिडिओ खिच्न नपाउने प्रावधान भए पनि विगतमा यस्ता घटनामा सभामुखले मौखिक सचेत गराउने अभ्यास बढी देखिँदै आएको थियो। २०७९ साल चैत २१ गते राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेश तिमिल्सिनाले बैठक चलिरहेका बेला मोबाइल बजेपछि सांसदलाई ‘स्वीच अफ गर्न’ निर्देशन दिएका थिए, तर प्रत्यक्ष रूपमा मर्यादापालक प्रयोग गरिएको थिएन।
ताजा घटनाले संसदभित्र ‘मर्यादा पालन’ र ‘अधिकारको सीमारेखा’ बारे नयाँ प्रश्न खडा गरेको छ। सांसदमाथि मर्यादापालकको प्रत्यक्ष हस्तक्षेप संसदीय अभ्यासअनुसार थियो कि थिएन भन्ने विषय अब राजनीतिक र संसदीय बहसको केन्द्र बन्न थालेको छ।

