गणतन्त्र दिवसः रविको आसनलाई लिएर चासो, सांसद मात्रै हुँदा पनि मन्त्रीको लहरमा कसरी ?

काठमाडौँ– गणतन्त्र दिवस–२०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको आसन व्यवस्थालालाई लिएर निकै चासो देखिएको छ।

सांसदका रूपमा उपस्थित भएका लामिछानेलाई अन्य सांसदहरूको पंक्तिमा नभई बहालवाला मन्त्रीहरूको लहरमा राखिएपछि समारोहको प्रोटोकल व्यवस्थामाथि चर्चा सुरु भएको हो। राजकीय मर्यादाक्रमअनुसार तय गरिएको आसन व्यवस्थामा अधिकांश सांसदहरूका लागि छुट्टै स्थान छुट्याइएको थियो।

सत्ता पक्ष, प्रतिपक्ष तथा स्वतन्त्र सांसदहरू सोही निर्धारित क्षेत्रमा बसेका देखिए। तर रास्वपा सभापति लामिछाने भने संघीय सरकारका बहालवाला मन्त्रीहरूसँगै एउटै लहरमा आसीन देखिए। समारोहको अग्रपंक्तिमा राष्ट्रपति रामचन्द्र पौडेल दम्पती, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा प्रधानमन्त्री वालेन्द्र साह दम्पती बसेका थिए।

दोस्रो लहरमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल रहेका थिए। त्यसपछिको लहरमा सरकारका मन्त्रीहरूसँगै रवि लामिछानेलाई राखिएको थियो। उनी मन्त्रीहरू सीता वादी, शिशिर खनाल, प्रतिभा रावल र निशा मेहताको बीचमा बसेका थिए।

लामिछानेको दायाँपट्टि प्रतिभा रावल र निशा मेहता तथा बायाँपट्टि सीता वादी र शिशिर खनाल रहेका थिए। यस विषयमा चासो बढेपछि सरकारी मर्यादाक्रमको कानुनी व्यवस्था पुनः चर्चामा आएको छ। नेपाल सरकारको विद्यमान राजकीय मर्यादाक्रमअनुसार संघीय सरकारका बहालवाला मन्त्री र पूर्वउपप्रधानमन्त्रीको मर्यादा समान तहमा राखिएको छ।

दुवैलाई आठौँ स्थानको मर्यादा प्रदान गरिएको व्यवस्थाअनुसार नै लामिछानेलाई मन्त्रीहरूको लहरमा आसन मिलाइएको हो। लामिछाने यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन्। सोही हैसियतका आधारमा उनी अहिले सांसद मात्रै भए पनि राजकीय समारोहमा मन्त्रीसरहको प्रोटोकल सुविधा पाउने अवस्थामा छन्।

यद्यपि, समारोहमा अन्य पूर्वउपप्रधानमन्त्रीहरूको उपस्थिति नदेखिएकाले लामिछानेको आसन व्यवस्थाले थप राजनीतिक अर्थ पनि बोकेको विश्लेषण हुन थालेको छ। विशेषगरी रास्वपाभित्रकै शक्ति संरचना र वर्तमान सत्ता समीकरणसँग यसलाई जोडेर समेत हेरिएको छ।

रोचक पक्ष के थियो भने, रास्वपाकै वरिष्ठ नेता तथा वर्तमान प्रधानमन्त्री वालेन्द्र साह र पूर्वउपसभापति रहिसकेका सभामुख डोलप्रसाद अर्यालभन्दा रवि लामिछाने पछाडिको लहरमा बस्नुपरेको थियो। दलको आन्तरिक हैसियतभन्दा राज्यको औपचारिक मर्यादाक्रम बलियो हुने अभ्यासको एउटा दृश्यका रूपमा यसलाई हेरिएको छ।

गणतन्त्र दिवसजस्तो उच्चस्तरीय राजकीय समारोहमा आसन व्यवस्थाले केवल प्रोटोकल मात्रै होइन, राज्य संरचनाले कसलाई कुन हैसियतमा हेर्छ भन्ने राजनीतिक संकेतसमेत दिने भएकाले लामिछानेको उपस्थिति र उनको आसन दुवै चर्चाको केन्द्र बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट