३१ दिने छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी नवजात शिशुलाई जिउँदै खाल्डोमा पुरेर हत्या गरिएको आशंकामा प्रहरीले शिशुकी आमालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई हाल सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापा छिन्। उनीमाथि आफ्नै ३१ दिने छोरी प्रिन्सीका थापालाई खाल्डोमा पुरेर हत्या गरेको अभियोग लागेको छ।

प्रहरीका अनुसार शिशुका पिता ३६ वर्षीय गोपाल थापाले घरबेटीको करेसाबारीमा शंकास्पद अवस्था देखेपछि खाल्डो खनेर हेर्दा नवजात शिशु पुरिएको अवस्थामा फेला परेकी थिइन्। तत्काल उनलाई बाहिर निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल, दुलेगौंडा लगिएको थियो।

तर अस्पताल पु¥याइएपछि चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए। घटनापछि स्थानीय क्षेत्रमा त्रास, आक्रोश र स्तब्धता फैलिएको छ। नवजात शिशुमाथि यस्तो अमानवीय घटना कसरी भयो भन्ने विषय अहिले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले शिशुकी आमा मैना थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

इन्स्पेक्टर दीपककुमार कार्कीका अनुसार पक्राउ परेकी महिलाले लामो समयदेखि ‘डिप्रेसन’ सम्बन्धी औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि, घटनाको वास्तविक कारण, मानसिक अवस्था, पारिवारिक परिस्थिति तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। नवजात शिशुको मृत्यु सम्बन्धी थप परीक्षण र अनुसन्धान रिपोर्टपछि घटनाको थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट