आफ्नै विद्यालयकी छात्राको ब*लात्कारको भिडियो शिक्षकको मोबाइलमा पुगेपछि खुल्यो सामूहिक अपराधको भयावह श्रृंखला
काठमाडौँ– आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रामाथि भएको बलात्कारको भिडियो अचानक शिक्षकको मोबाइलमा पुगेपछि भक्तपुरमा १ वर्षअघिदेखि लुकाईएको एक जघन्य अपराधको पर्दाफास भएको छ । सामाजिक सञ्जालमा फैलिएको उक्त भिडियो विद्यालय प्रशासनसम्म पुगेपछि सुरु भएको खोजबिनले एक किशोरीमाथि पटक–पटक बलात्कार भएको, त्यसको भिडियो बनाएर ब्ल्याकमेल गरेको र चरित्रहत्यासमेत गरेको संगठित अपराध उजागर गरेको हो ।
भक्तपुरको मध्यपुर थिमीमा १६ वर्षीया एक बालिकामाथि पटक–पटक बलात्कार गरी त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत फैलाइएको घटनाले बाल सुरक्षा र साइबर अपराधको गम्भीर अवस्था उजागर गरेको छ। यो घट्नामा जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले तीन बालकविरुद्ध सामूहिक बलात्कार तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा अदालतमा अभियोगपत्र दर्ता गरेको छ।
अनुसन्धान प्रतिवेदनअनुसार घटनाको सुरुवात १४ माघ २०८१ मा भएको देखिन्छ। मुख्य अभियुक्तका रूपमा उल्लेख गरिएका एक बालकले पीडित बालिकालाई आफ्नै घरमा बोलाएर पहिलो पटक बलात्कार गरेका थिए। त्यसक्रममा उनले मोबाइल प्रयोग गरी करिब २० सेकेन्डको भिडियोसमेत रेकर्ड गरेका थिए।
घटनापछि बालिका डर, त्रास र सामाजिक बदनामीको भयका कारण मौन बस्न बाध्य भइन्। अभियुक्तले भिडियो मेटाइदिने आश्वासन दिए पनि त्यसलाई सुरक्षित राखेर पछि दबाब र नियन्त्रणको माध्यम बनाएको अनुसन्धानबाट खुलेको छ।
पहिलो घटनाको झण्डै एक महिनापछि मुख्य अभियुक्तले पुनः बालिकालाई सम्पर्क गरेका थिए। भिडियो मेटाइदिने बहाना बनाउँदै उनले बालिकालाई मध्यपुर थिमीस्थित एक कोठामा बोलाए। त्यहाँ पुगेपछि परिस्थिति झन् भयावह बनेको अभियोगपत्रमा उल्लेख छ।
अनुसन्धानका अनुसार कोठाभित्र पुगेपछि मुख्य अभियुक्तले पुनः बलात्कार गरे। त्यसलगत्तै बाहिर रहेका अन्य दुई जना समेत भित्र प्रवेश गरेका थिए। अभियोजन पक्षको दाबीअनुसार उनीहरूले आपसी योजना र सहमतिमा पीडितको हातखुट्टा समातेर पालैपालो बलात्कार गरेका थिए।
घटनामा एक युवा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। पीडितको बयानअनुसार एसईई परीक्षा सकिएपछि सुरुमा उनलाई झुक्याएर बाहिर लगिएको थियो। स्कुटरमा राखेर घट्नास्थलमा पुर्याएपछि उनी शलात्कारको शिकार भएको आरोप अभियोगपत्रमा समावेश गरिएको छ।
तर यो सम्पूर्ण घटनाक्रम लामो समयसम्म बाहिर आएन। पीडितमाथि गरिएको यौन हिंसाको भिडियो सामाजिक सञ्जालमा फैलँदै जाँदा उनी अध्ययनरत विद्यालयसम्म पुग्यो। विद्यालयका एक शिक्षकले उक्त भिडियो फेला पारेपछि तत्काल विद्यालय प्रशासनलाई जानकारी गराएका थिए।
त्यसपछि विद्यालयले पीडितका आफन्तलाई बोलाएर घटनाबारे जानकारी गराएको थियो। शिक्षकले आफूसँग पुगेको भिडियो प्रमाणका रूपमा सुरक्षित राख्दै अभिभावकलाई उपलब्ध गराएका थिए। कागजातअनुसार शिक्षकले उक्त सामग्री अन्यत्र नपठाई गोपनीयता कायम राखे।
अनुसन्धानबाट मुख्य अभियुक्तले भिडियो स्न्यापच्याट र इन्स्टाग्राममार्फत अन्य व्यक्तिलाई पठाएको तथा त्यसपछि भिडियो थप व्यक्तिहरूसम्म पुगेको देखिएको छ। यसले पीडितलाई केवल शारीरिक मात्र होइन, गम्भीर मानसिक, सामाजिक र भावनात्मक पीडा पनि पु¥याएको अभियोजन पक्षको निष्कर्ष छ।
यही आधारमा अभियुक्तहरूविरुद्ध सामूहिक बलात्कारसँगै विद्युतीय कारोबार ऐनअन्तर्गत पनि मुद्दा दायर गरिएको छ।
अभियुक्तहरू १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेर समूहका बालक भएकाले प्रचलित कानुनअनुसार वयस्कलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ। १६ देखि १८ वर्ष उमेर समूहकी बालिकामाथि बलात्कार गरेको अवस्थामा १० देखि १२ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। सामूहिक रूपमा अपराध गरिएको पुष्टि भए थप पाँच वर्षसम्म कैद सजाय हुन सक्छ।
नाबालिग अभियुक्त भएकाले उक्त सजायको आधा मात्र लागू हुन सक्ने कानुनी व्यवस्था रहेको छ। त्यसैगरी भिडियो र तस्बिर सामाजिक सञ्जालमार्फत फैलाएर पीडितको चरित्रहत्या गरेको आरोपमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। यसमा पनि बालबालिकाको हकमा आधा सजायको सिद्धान्त लागू हुने अभियोजन पक्षले जनाएको छ।
अभियोगपत्रमा पीडितलाई मनासिब क्षतिपूर्ति उपलब्ध गराउन, कानुनबमोजिमको जरिबाना रकम पीडित राहत कोषमा जम्मा गराउन तथा दोषी ठहर भए कानुनअनुसार सजाय निर्धारण गर्न अदालतसँग माग गरिएको छ।
यो घटनाले सामाजिक सञ्जालको दुरुपयोग, किशोर अपराध, यौन हिंसा र पीडितमाथि हुने दोहोरो मानसिक आक्रमणबारे गम्भीर प्रश्न उठाएको छ। एउटा भिडियो शिक्षकको मोबाइलसम्म नपुगेको भए सम्भवतः यो अपराध अझै लामो समयसम्म अन्धकारमै लुकेर बस्ने थियो।

