‘३५ वर्ष’ भन्दै अरूलाई गन्नेहरू हो, अब जनताले तपाईंहरूको दिन गन्न थालेका छन् !

काठमाडौँ– विगतका सरकार, पुराना दल र ‘३५ वर्षे असफलता’माथि प्रहार गरेर उदाएका नयाँ राजनीतिक शक्तिहरूलाई जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले कडा चेतावनी दिएकी छिन्। उनले अब विगतलाई दोष दिएर राजनीतिक लाभ लिने समय सकिएको र जनताले नयाँ माननीयहरूको पनि हिसाब–किताब राख्न सुरु गरिसकेको सन्देश दिएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक टिप्पणीमा बमले नयाँ सांसद र जनप्रतिनिधिहरूलाई लक्षित गर्दै अब ‘३५ वर्ष’ भन्ने पुरानो भाष्यबाट बाहिर निस्किन आग्रह गरेकी छिन्। उनका अनुसार सत्ता, जिम्मेवारी र निर्णयको अधिकार हातमा आइसकेपछि विगतलाई दोषारोपण गर्दै बस्नु राजनीतिक सुविधा त हुन सक्छ, तर जनताप्रतिको उत्तरदायित्व होइन।

‘नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईंहरूको पनि गन्ती सुरु भइसकेको छ,’ बमले लेखेकी छन्। उनको यो टिप्पणी पछिल्ला वर्षहरूमा स्थापित दलहरूको आलोचना गर्दै उदाएका नयाँ राजनीतिक शक्ति र तिनका जनप्रतिनिधिप्रति लक्षित सन्देशका रूपमा हेरिएको छ।

विशेषगरी पुराना दलहरूलाई देशको दुर्दशाका लागि जिम्मेवार ठहर गर्दै आफूलाई विकल्पका रूपमा प्रस्तुत गरेका शक्तिहरू अहिले सरकार, संसद् र राज्य संयन्त्रका विभिन्न तहमा पुगेका बेला बमले उनीहरूलाई अब परिणामबाट मूल्याङ्कन गरिने स्मरण गराएकी छिन्।

उनले जनताको धैर्यलाई अनन्तकालसम्म परीक्षण गर्न नसकिने स्पष्ट सन्देश पनि दिएकी छिन्। उनका अनुसार अहिले घरबारविहीन सुकुम्बासीहरूले दिन गनिरहेका छन्। भूमिहीन नागरिकहरू आफ्ना वाचा पूरा हुने प्रतीक्षामा छन्। रोजगारीको खोजीमा भौंतारिएका युवाहरू परिणाम पर्खिरहेका छन्। खाडीका मरुभूमिमा पसिना बगाइरहेका लाखौँ नेपालीहरू परिवर्तनका प्रतिबद्धताहरू व्यवहारमा कहिले देखिन्छन् भनेर हेरिरहेका छन्।

बमको भनाइमा चुनावी भाषण, सामाजिक सञ्जालका स्टाटस वा विगतप्रतिको आक्रोशले मात्र जनताको जीवन बदलिँदैन। त्यसका लागि नतिजा चाहिन्छ, नीति चाहिन्छ र जिम्मेवारीको अनुभूति चाहिन्छ।

उनले नयाँ राजनीतिक नेतृत्वलाई अब आलोचकको भूमिकाबाट शासकीय जिम्मेवारीको भूमिकामा उत्रिन आग्रह गरेकी छिन्। विगतलाई दोष दिन सजिलो भए पनि वर्तमान सुधार्ने जिम्मेवारीबाट भाग्न नसकिने उनको सन्देश छ। ‘अब डाडुपन्यु तपाईंहरूकै हातमा छ,’ उनले लेखेकी छिन्, ‘त्यसैले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुहोस्।’

बमको टिप्पणीमा केवल आलोचना मात्र छैन, चेतावनी पनि छ। उनले अर्को निर्वाचनसम्म आइपुग्दा आजका नयाँ राजनीतिक शक्ति र नयाँ माननीयहरूको पनि पाँच वर्ष पूरा भइसकेको हुने स्मरण गराएकी छिन्। अर्थात्, आज जसरी उनीहरूले पुराना दलको पाँच, दस वा पैंतीस वर्षको हिसाब मागिरहेका छन्, भोलि जनताले उनीहरूको पनि पाँच वर्षको हिसाब माग्नेछन्।

उनले जनताले चुनावअघि गरिएका प्रतिबद्धता बिर्सिएको ठान्न नहुने सन्देश पनि दिएकी छिन्। उनका अनुसार बाचापत्रहरू अझै जनताको हातमा छन्। नागरिकहरूले ती वाचा सम्झिरहेका छन्, नियालिरहेका छन् र एक–एक बुँदाको मूल्याङ्कन गरिरहेका छन्।

नेपालको पछिल्लो राजनीतिक बहसमा ‘३५ वर्ष’ एउटा शक्तिशाली राजनीतिक नारा बनेको छ। पुराना दलहरूको शासनकाललाई संकेत गर्दै नयाँ राजनीतिक शक्तिहरूले बारम्बार यही भाष्य प्रयोग गर्दै आएका छन्। तर रक्षा बमको टिप्पणीले अब बहसलाई अर्को दिशातर्फ मोडेको छ— विगतको हिसाब माग्नेहरूले आफ्नै कार्यकालको हिसाब दिन तयार छन् कि छैनन् ?

उनको सन्देशको सार पनि यही देखिन्छ। जनताले विगतको समीक्षा गरिसकेका छन्, त्यसैले नयाँ नेतृत्वले अब विगतको असफलता दोहो¥याएर होइन, आफ्नै उपलब्धिबाट आफूलाई प्रमाणित गर्नुपर्ने समय सुरु भएको छ।

राजनीतिमा विकल्पको दाबी गर्नुभन्दा कठिन काम विकल्प साबित हुनु हो। रक्षा बमले आफ्नो टिप्पणीमार्फत नयाँ राजनीतिक पुस्तालाई यही यथार्थ सम्झाएकी छन— अब गन्ती अरूको होइन, तपाईंहरूको सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट