घरबेटीको विश्वासमाथि डकैती ! उदयपुरमा डेरावालले नै उडाइन् लाखौँको सुन र नगद, ज्वेलर्स सञ्चालकसमेत पक्राउ

गाईघाट– घरको ढोका फुटाएर होइन, उदयपुरको त्रियुगा नगरपालिकामा विश्वासको ढोका खोलेर चोरी गरेको घटना सार्वजनिक भएको छ। त्रियुगा नगरपालिका–१० करमगाछीका अनिल खड्काको घरमा तल्लो तलामा डेरा गरी बस्दै आएकी युवतीले १ लाख नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।

घर खाली भएको मौका छोपेर नगद र गरगहना गायब भएपछि सुरु भएको प्रहरी अनुसन्धानले यस्तो रहस्य बाहिर ल्यायो, जसले विश्वासको आवरणभित्र लुकेका अपराधीलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जेठ २७ गते बेलुका करिब साढे ६ बजे खड्काको घरबाट नगद १ लाख रुपैयाँ र करिब ६ तोला १४.५ आना सुनका विभिन्न गरगहना चोरी भएको सूचना प्रहरीलाई दिईएको थियो।

घरमा कोही नभएको समयमा भएको चोरीपछि तत्काल प्रहरी टोली घटनास्थल पुग्यो। प्रारम्भिक अनुसन्धानका क्रममा बाहिरी व्यक्तिभन्दा घरको गतिविधिबारे जानकार व्यक्तिको संलग्नता हुन सक्ने आशंकाले अनुसन्धानको दिशा बदलियो। त्यसक्रममा घरकै तल्लो तलामा डेरा गरी बस्ने २३ वर्षीया सुस्मिता थापा कटुवाल र नजिकै अर्को डेरामा बस्ने २८ वर्षीया मिना विकमाथि प्रहरीको शंका केन्द्रित भयो।

प्रहरीले दुवै जनाको डेरा खानतलासी गर्दा चोरीको घटनासँग जोडिएका महत्वपूर्ण प्रमाण फेला परे। सुस्मिता थापा कटुवालको कोठाबाट चोरी भएको नगद १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै नौगेडी, मंगलसूत्र, चन्द्रमा, औँठी, पञ्चरत्न बाला र सिक्रीसहित सुनका विभिन्न गरगहना पनि बरामद गरिएको छ।

यति मात्र होइन, चोरीबाट प्राप्त रकम प्रयोग गरी किनिएको भनिएको एक थान इन्फिनिक्स मोबाइल समेत प्रहरीले फेला पारेको छ। अनुसन्धानका क्रममा मिना विकको डेरा नजिकै रहेको आँपको रुखको फेदमा लुकाएर राखिएको नगद ६३ हजार रुपैयाँ, एक थान भिभो मोबाइल, चार्जर र इयरपडसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका क्रममा चोरीका केही सुनका गरगहना अवैध रूपमा खरिद–बिक्री भएको आशंकामा गाईघाट बजारस्थित बराह ज्वेलर्सकी सञ्चालक ३९ वर्षीया यशोदा विकलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार चोरीका गरगहना खरिद गरिएको विषयमा थप अनुसन्धान भइरहेको छ। चोरी भएको सम्पत्ति कसरी बिक्री गरियो, कति परिमाणमा गरगहना बजारमा पुगे र अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। बरामद भएका नगद, सुनका गरगहना तथा अन्य सामग्रीलाई प्रमाणका रूपमा सुरक्षित राखिएको छ भने घटनाको सम्पूर्ण पृष्ठभूमि र सम्भावित सञ्जालबारे थप अनुसन्धान जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट