नेपाली ब्रोले स्वीकारे श्रीमतीको हत्या, ‘चुम्बन लाइभ’ प्रकरणले प्रतीक्षालाई तान्यो अनुसन्धानको घेरामा

नेपाली ब्रोले स्वीकारे श्रीमतीको हत्या, ‘चुम्बन लाइभ’ प्रकरणले प्रतीक्षालाई तान्यो अनुसन्धानको घेरामा
काठमाडौ– टिकटकको पर्दामा देखिएको रोमान्स, कारभित्र गरिएको भाइरल ‘चुम्बन लाइभ’ र सामाजिक सञ्जालमा चर्चित बनेको सम्बन्धको चर्चा अन्ततः एउटा हत्याकाण्डको अनुसन्धानसँग जोडिएको छ। पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरले अपराध स्वीकार गरेको प्रहरी स्रोतको दाबीपछि उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्य चर्चामा छिन्।

यही प्रकरणका कारण कुमारकी प्रेमिका भएको आरोप लागेपछि आचार्य पनि अहिले प्रहरी अनुसन्धानको घेरामा परेकी छन्। यद्यपि उनले आफू कुमारको प्रेमिका नभई साथी मात्र भएको दाबी गरेकी छन्। एक साताअघि काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको ईश्वरी भुजेल हत्या प्रकरणमा प्रहरीले अहिले अनुशन्धान गरिरहेको छ।

घटनालगत्तै प्रहरीले ‘नेपाली ब्रो’का नामले परिचित कुमार थापा मगरलाई बालाजुबाट नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट थप तीन जनालाई पनि पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा कुमारका भाइ विक्रम थापा मगर, उनकी साथी भनिएकी पूजन थापा र प्रतीक्षा आचार्य छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक ईश्वरी भुजेलको माइती पक्षले दिएको जाहेरीमा नाम उल्लेख भएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। हाल चारै जनामाथि बयान लिने तथा अन्य प्रमाण सङ्कलन गर्ने काम जारी छ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त कुमार थापा मगरले पत्नी हत्याको आरोप स्वीकार गरेका छन्। तर अन्य तीन जनाले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

सबैभन्दा बढी चर्चा भने प्रतीक्षा आचार्यलाई लिएर भइरहेको छ। मृतक पक्षले जाहेरीमै उनलाई कुमारको प्रेमिका भएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर र भिडियोहरूले पनि त्यही आशंकालाई बल पु¥याएको दाबी गरिएको छ।

विशेषगरी घटनाभन्दा केही समयअघि कुमार र प्रतीक्षाबीच कारभित्र गरिएको टिकटक लाइभ अहिले अनुसन्धानसँगै पुनः चर्चामा आएको छ। उक्त लाइभमा दुवैले एकअर्कालाई चुम्बन गरेको दृश्य सार्वजनिक भएको थियो। त्यतिबेला उक्त भिडियो व्यापक रूपमा भाइरल बनेको थियो भने हत्यापछि फेरि त्यसैलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

तर प्रतीक्षाले भने प्रहरीसमक्ष आफू कुमारको प्रेमिका नभई साथी मात्र भएको बयान दिएकी छन्। टिकटकमार्फत चिनजान भएको र केही भिडियो सामग्री सँगै बनाएको बाहेक कुनै निजी सम्बन्ध नरहेको उनको जिकिर छ।

‘टिकटक बनाउने क्रममा चिनजान भएको हो। त्यसबाहेक अरू कुनै सम्बन्ध छैन। टिकटक बनाउने आदतका कारण म यो घटनामा तानिएँ,’ उनले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरेकी छिन्। उनले आफू अध्ययन र रोजगारीको खोजीमा काठमाडौँ आएको बताउँदै कुमारको वैवाहिक जीवन वा घरायसी विवादबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी छिन्।

जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षाले आफूलाई प्रेमिका भनेर लगाइएको आरोप पनि अस्वीकार गरेकी छिन्। यता पक्राउ परेकी पूजन थापाले आफू कुमारको साथी मात्र भएको र घटनामा कुनै भूमिका नरहेको बताएकी छिन्। कुमारका भाइ विक्रम थापा मगरले पनि दाजु–भाउजूबीचको सम्बन्धमा समस्या रहेको जानकारी भए पनि हत्या गर्न कहिल्यै नउक्साएको बयान दिएका छन्। उनले कानुनी रूपमा अलग हुनु उचित हुने सुझाव दिएको स्वीकार गरे पनि जघन्य अपराधमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

प्रहरीले भने अहिले सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरूको भूमिका, मोबाइल सम्पर्क विवरण, डिजिटल गतिविधि, सामाजिक सञ्जालका सामग्री तथा घटनाअघि र पछिका गतिविधिको विस्तृत विश्लेषण भइरहेको बताइएको छ।

ईश्वरी भुजेल हत्या प्रकरणले सामाजिक सञ्जालमा चर्चित पात्रहरूको निजी जीवन र सार्वजनिक व्यवहारबारे पनि बहस सुरु गराएको छ। तर अनुसन्धान अधिकारीहरूका अनुसार अहिले चर्चामा रहेका भिडियो, तस्बिर वा सामाजिक सञ्जालका दाबीभन्दा महत्वपूर्ण कुरा प्रमाण, बयान र कानुनी आधार हुन्। त्यसैले घटनाको अन्तिम निष्कर्ष अदालतमा पेश हुने प्रमाण र अनुसन्धानको प्रतिवेदनले नै तय गर्नेछ।

हालका लागि भने एउटा कुरा स्पष्ट देखिएको छ—टिकटकमा देखिएको रोमान्स, भाइरल चुम्बन लाइभ र सार्वजनिक चर्चाभन्दा पर यो प्रकरण अब गम्भीर आपराधिक अनुसन्धानको विषय बनेको छ, जसको केन्द्रमा पत्नी हत्या आरोप स्वीकार गरेका ‘नेपाली ब्रो’ र उनीसँग जोडिएका व्यक्तिहरू छन्।

के थियो विवादको जड ?
मृतक ईश्वरी भुजेल नेपाली सेनाकी सुबेदार थिइन्। गोरखा माइती भएकी उनी काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा दुई छोरासँग बस्दै आएकी थिइन्। श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि उनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद (डिभोर्स) को मुद्दा दायर गरेकी थिइन्। २०८२ मंसिर १४ गते दर्ता भएको उक्त मुद्दाको सुनुवाइ प्रक्रिया चलिरहेको थियो।

यतिमात्र होइन, ईश्वरीले कुमारविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी पनि दिएकी थिइन्। सो घटनामा अनुसन्धानपछि सरकारी वकिलमार्फत अदालतमा अभियोग दायर भइसकेको थियो। यही कारण दम्पतीबीचको सम्बन्ध सामान्य वैवाहिक विवादभन्दा निकै कटुतापूर्ण अवस्थामा पुगेको देखिन्छ।

२०८३ जेठ २० गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद र वैवाहिक बलात्कार दुवै मुद्दाको पेसी परेको थियो। न्यायाधीश डा. दिवाकर भट्टको इजलासले दुवै पक्षलाई मेलमिलाप केन्द्रमा पठाउने आदेश दियो। तर मेलमिलापको प्रक्रिया सुरु हुन नपाउँदै घटनाले भयावह मोड लियो।

जेठ २२ गते राति कार्यालयबाट स्कुटरमा घर फर्किरहेकी ईश्वरीमाथि बाटो ढुकेर आक्रमण गरिएको थियो। प्रहरीका अनुसार राति करिब १० बजेर १० मिनेटतिर कुमारले इँटा, ढुंगा र धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका हुन्। पोस्टमार्टम रिपोर्टले घाँटीमा चक्कु प्रहार र टाउकोमा गम्भीर चोट लागेको पुष्टि गरेको छ।

प्रेम विवाह कसरी हत्यासम्म पुग्यो ?
प्रहरीका अनुसार कुमार थापा स्वयं पनि पूर्वसैनिक हुन्। सेनाको जागिर छाडेपछि उनी खेलकुद र सामाजिक सञ्जालतर्फ सक्रिय बनेका थिए। ‘नेपाली ब्रो’ का रूपमा परिचित उनी टिकटक र सामाजिक सञ्जालमा चर्चित थिए।

करिब २० वर्षअघि सेनामै हुँदा कुमार र ईश्वरीबीच चिनजान भएको थियो। त्यसपछि उनीहरूले प्रेम विवाह गरेका थिए। तर समयसँगै सम्बन्धमा दरार बढ्दै गयो। घरेलु विवाद, प्रहरीमा उजुरी, अदालतसम्म पुगेका मुद्दा र छुट्टिने प्रयासले सम्बन्ध अन्ततः हिंसात्मक मोडमा पुगेको अनुसन्धानबाट देखिएको छ। हालसम्मको अनुसन्धानले ईश्वरी भुजेल हत्या प्रकरण केवल एक दम्पतीबीचको सामान्य झगडाको परिणाम नभई लामो समयदेखि चलिरहेको वैवाहिक विवाद, अदालतमा विचाराधीन कानुनी लडाइँ, घरेलु हिंसाका आरोप र सम्भावित तेस्रो व्यक्तिको उपस्थितिसँग जोडिएको जटिल घटनाका रूपमा देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट