सुस्तामा एसएसबीको आतंकपछि साम्पाङको प्रश्नः नेपाली सेना सीमामा किन जाँदैन ?, कुनै सन्धी भए देखाउ
काठमाडौँ– नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भनिएको भिडियो सार्वजनिक भएपछि प्रतिनिधिसभामा शुक्रबार श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सरकारमाथि प्रश्नहरूको वर्षा गरेका छन्।
सीमा क्षेत्रमा नेपाली नागरिक आफैं निहत्था रूपमा उभिएर आफ्नो भूमि जोगाउन बाध्य भएको दाबी गर्दै उनले प्रधानमन्त्री र रक्षामन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाए। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै साम्पाङले सीमामा भइरहेको घटनाबारे सरकारको आधिकारिक धारणा मागे।
प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित नभए कम्तीमा रक्षामन्त्रीलाई सदनमा ल्याएर जवाफ दिन लगाउनुपर्ने उनको माग थियो। ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न भने कम्तीमा रक्षामन्त्रीलाई सदनमा ल्याइयोस्। हामीसँग केही गम्भीर प्रश्न छन्,’ उनले सभामुखमार्फत आग्रह गरे।
साम्पाङका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सुस्ता क्षेत्रमा भारतीय एसएसबीका सदस्यहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरिरहेको देखिन्छ। उनले सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू असुरक्षित महसुस गर्न थालेको दाबी गर्दै यस्तो विषयमा सरकारको मौनता झन् चिन्ताजनक भएको बताए।
उनले संसद्मा प्रश्न गरे, ‘भारतीय पक्षको सीमा सुरक्षा बल नेपालभित्र आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गरिरहेको दृश्य हामीले हेरिरहेका छौं। त्यहाँ निहत्था नेपालीहरू आफ्नै भूमि जोगाउन संघर्ष गरिरहेका छन्। यस्तो बेला नेपाल सरकार कहाँ छ ?’
साम्पाङको सबैभन्दा कडा प्रश्न भने नेपाली सेनाको भूमिकालाई लिएर थियो। सीमा सुरक्षाको जिम्मेवारी बोकेको राज्य संयन्त्र निष्क्रिय देखिएको आरोप लगाउँदै उनले नेपाली सेनालाई सीमामा परिचालन गर्न नपाइने कुनै गोप्य सहमति, सन्धि वा करार भए त्यसलाई सार्वजनिक गर्न माग गरे।
‘हाम्रो नेपाली सेना सीमामा जानै नहुने के कसम खाएको रहेछ ? सीमा अवलोकन गर्न पनि नपाइने कस्तो करार गरिएको रहेछ ? नेपाली सेनालाई सीमामा पठाउन नहुने कुनै सन्धि गरिएको छ भने संसदमा देखाइयोस्,’ उनले चुनौतीपूर्ण शैलीमा भने।
उनले यो केवल स्थानीय विवाद नभई राष्ट्रिय सार्वभौमिकता र सीमाको सुरक्षासँग जोडिएको विषय भएको बताए। सीमामा तनाव बढिरहेका बेला राज्यका जिम्मेवार निकायहरू मौन बस्नु उचित नहुने उनको तर्क थियो।
साम्पाङले प्रधानमन्त्री बालेन्द्र साहप्रति पनि असन्तुष्टि व्यक्त गरे। सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर आफूहरूले लगातार ११ दिनदेखि संसदमा प्लेकार्डसहित विरोध जनाइरहेको भए पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको उनको गुनासो थियो। ‘प्रधानमन्त्री त संसदमा आउँदै आउनुभएन। अब सभामुखले रक्षामन्त्रीलाई भए पनि खोजेर ल्याइदिनुपर्छ। हामीलाई जवाफ चाहिएको छ,’ उनले भने।
हाल रक्षामन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री बालेन्द्र साहले नै सम्हालिरहेका कारण साम्पाङको प्रश्न प्रत्यक्ष रूपमा प्रधानमन्त्रीतर्फ लक्षित देखिएको थियो। उनले सीमासम्बन्धी यति संवेदनशील विषयमा सरकार र संसद्बीच स्पष्ट संवाद आवश्यक रहेको बताए।
साम्पाङले सुस्ता घटनालाई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे। संसद्का सदस्यहरूलाई वास्तविक अवस्था जानकारी गराउन र सीमामा राज्यको उपस्थिति सुनिश्चित गर्न सरकार अघि सर्नुपर्ने उनको भनाइ थियो।
उनले दरबार हत्या प्रकरणको छानबिनको प्रसंगसमेत जोड्दै कुनै पनि विषयमा सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक हुने धारणा राखे। ‘जोसुकै दोषी भए पनि अनुहार, पद वा नाम नहेरी कारबाही हुनुपर्छ,’ उनले भने।
सुस्ता प्रकरणलाई लिएर संसदमा उठेको यो आवाजसँगै अब सरकारको आधिकारिक धारणा के आउँछ भन्ने चासो बढेको छ। सीमामा भारतीय सुरक्षा बलको गतिविधिबारे सार्वजनिक भएका भिडियोहरूको सत्यता, नेपाली नागरिकले भोगेको अवस्था र राज्यका सुरक्षा निकायको भूमिकाबारे सरकारलाई स्पष्ट जवाफ दिनुपर्ने दबाब भने थप बढेको छ।
सीमामा नागरिकहरू आफैं अग्रपंक्तिमा देखिने र राज्य संयन्त्र अदृश्य जस्तो देखिने अवस्था सिर्जना भएको आरोपबीच हर्क साम्पाङले उठाएका प्रश्नहरूले संसदमा मात्र होइन, राष्ट्रिय बहसमै नयाँ तरंग पैदा गरेको छ।
