बिपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटनाः ७ जनाको मृत्यु
काठमाडौँ– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शनिबार भएको यात्रुबस दुर्घटनामा सात जनाको मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस दुर्घटनामा परेपछि घटनास्थलबाट केही शव संकलन गरिएको छ भने घाइतेहरूको उद्धार कार्य तीव्र रूपमा जारी छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विपी राजमार्गअन्तर्गत बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो। बस सुँगुरेतर्फ जाँदै गरेको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी, प्रहरी र अन्य सुरक्षा निकाय परिचालित भएका छन्।
प्रारम्भिक विवरणअनुसार बसमा सवार केही यात्रु गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ। केही यात्रु बसभित्रै च्यापिएको आशंकामा उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक खराबी, चालकको लापरबाही वा सडक अवस्थालगायत सबै पक्षबाट अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
