खान सरको संस्थामा भएको गोलीकाण्ड प्रकरणका फरार अभियुक्तको विराटनगरमा रहस्यमय मृत्यु, ४ भारतीय पक्राउ
विराटनगर– भारतका चर्चित शिक्षक ‘खान सर’सँग जोडिएको गोलीकाण्ड तथा तोडफोड प्रकरणमा नाम मुछिएपछि फरार रहेका एक भारतीय युवकको विराटगरस्थित शुभ होटलमा रहस्यमय मृत्यु भएको छ। भारतमा प्रहरीको खोजी सूचीमा रहेका २४ वर्षीय प्रिन्स यादव विराटनगरमा मृत भेटिएका हुन।
बहारको सहरसा जिल्लाका प्रिन्स यादव केही दिनदेखि विराटनगर महानगरपालिका–१० स्थित उक्त होटलमा बसिरहेका थिए। शनिबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनीसँगै रहेका व्यक्तिले उपचारका लागि न्युरो अस्पताल पु¥याएका थिए। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरे।
घटना सामान्य मृत्युजस्तो नदेखिएपछि मोरङ प्रहरीले बहुआयामिक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको कन्चटको भागमा सामान्य चोटजस्तो देखिएको प्रहरीले जनाएको छ। यद्यपि उक्त चोट मृत्युको कारण हो वा होइन भन्ने विषय पोस्टमार्टम रिपोर्ट नआएसम्म स्पष्ट नहुने प्रहरीको भनाइ छ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले सबै सम्भावित कोणबाट अनुसन्धान भइरहेको छ। ‘मृतकको शरीरमा केही संकेत देखिएका छन्। तर पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै निष्कर्षमा पुग्न सकिँदैन। अनुसन्धान जारी छ,’ उनले भने।
घटनापछि प्रहरीले मृतकसँगै होटलमा बसिरहेका चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नियन्त्रणमा पर्नेहरूमा बिहारकै सहरसा जिल्लाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादव रहेका छन्।
प्रहरी स्रोतका अनुसार उनीहरूबाट प्रिन्सको नेपाल आगमन, विराटनगर बसाइ, होटलमा बिताएको समय तथा मृत्यु हुनुअघि भएका गतिविधिबारे विस्तृत जानकारी संकलन भइरहेको छ। अनुसन्धानका क्रममा अर्को महत्वपूर्ण तथ्य पनि बाहिर आएको छ। प्रिन्स यादव भारतमा दर्ता भएको एक आपराधिक मुद्दाका फरार प्रतिवादी रहेको खुलेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीमाथि बिहारमा चर्चित शिक्षक ‘खान सर’सँग सम्बन्धित विवाद तथा खान ग्लोबल स्टडिज संस्थामा भएको तोडफोड, आक्रमण र गोलीकाण्ड प्रकरणमा संलग्न रहेको आरोपमा एफआईआर दर्ता भएको थियो।
उक्त घटनापछि भारतीय प्रहरीको खोजी सूचीमा रहेका उनी फरार अवस्थामा रहेको बताइएको छ। यद्यपि भारतीय सरकारी निकायबाट सो मुद्दासम्बन्धी विस्तृत आधिकारिक विवरण भने सार्वजनिक भएको छैन।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार प्रिन्स यादव बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’का सञ्चालक रोशन आनन्दका भाइ हुन्। उनी केही दिनअघि नेपाल प्रवेश गरेको खुलेको छ। यसअघि पनि उनी पटक–पटक विराटनगर आउने–जाने गरेको तथ्य प्रहरीले फेला पारेको बताइएको छ।
प्रहरीले अहिले मृत्युको कारणबारे कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ। आत्महत्या, प्राकृतिक मृत्यु, नशालु पदार्थको अत्यधिक सेवन, स्वास्थ्य जटिलता वा अन्य कुनै आपराधिक गतिविधिसँग सम्बन्धित घटना हुनसक्ने सबै सम्भावनालाई अनुसन्धानको दायरामा राखिएको छ।
विशेषगरी नशालु पदार्थको ओभरडोजका कारण मृत्यु भएको हुनसक्ने आशंकालाई पनि प्रहरीले गम्भीर रूपमा हेरिरहेको छ। यद्यपि हालसम्म कुनै पनि सम्भावना पुष्टि भइसकेको छैन। घटनाको जानकारी पाएपछि मृतकका आफन्त विराटनगर आइपुगेका थिए। त्यसपछि शवको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। अब पोस्टमार्टम रिपोर्ट, फरेन्सिक विश्लेषण, होटलका सीसीटीभी फुटेज, मोबाइल सम्पर्क विवरण र नियन्त्रणमा रहेका व्यक्तिहरूको बयानका आधारमा मात्रै मृत्युको वास्तविक रहस्य खुल्ने अपेक्षा गरिएको छ।
यो पनि,
