प्रदेशकै ‘उत्कृष्ठ अस्पताल’को एक वर्षमै बेहालः डाक्टर मात्रै छन्, साबुन, पञ्जा र अक्सिजनसमेत छैन !
गाईघाट– एक वर्षअघि कोशी प्रदेशकै उत्कृष्ट जिल्ला अस्पतालको रूपमा सम्मानित भएको उदयपुर जिल्ला अस्पताल आज यस्तो संकटमा पुगेको छ, जहाँ विशेषज्ञ चिकित्सक छन्, भवन छन्, उपकरणका नाममा संरचना छन्, तर बिरामीको उपचारका लागि आवश्यक साबुन, सर्फ, गज, पञ्जा र अक्सिजनसमेत छैन।
स्वास्थ्य सेवाको मेरुदण्ड मानिने अस्पताल आफैं ‘भेन्टिलेटर’ मा पुगेको जस्तो अवस्था देखिएपछि चिकित्सकहरू नै सार्वजनिक रूपमा उभिएर भन्न बाध्य भएका छन— ‘अस्पतालमा डाक्टर छन्, तर सेवा छैन।’ कुनै समय उत्कृष्टताको नमुना मानिएको अस्पताल अहिले प्रशासनिक भद्रगोल, आर्थिक अपारदर्शिता, सामग्री अभाव र आन्तरिक द्वन्द्वको दलदलमा फसेको छ। समस्या यति गम्भीर बनेको छ कि आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने चेतावनी चिकित्सक र स्वास्थ्यकर्मीहरूले नै दिएका छन्।
शनिबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरूले अस्पतालभित्रको वास्तविकता सार्वजनिक गर्दै सम्बन्धित निकायको गम्भीर लापरबाहीका कारण स्वास्थ्य सेवा धाराशायी बन्दै गएको आरोप लगाए। अस्पतालका चिकित्सक डा. कृष्णकुमार यादवका अनुसार अहिले अस्पतालमा सामान्य सरसफाइ र उपचारका लागि आवश्यक पर्ने आधारभूत सामग्रीसमेत उपलब्ध छैन।
‘सामान्य रूपमा पनि अस्पतालमा फिल्टर, साबुन, सर्फ, गज, पञ्जा, कुचोलगायतका दैनिक आवश्यक सामग्रीसमेत उपलब्ध छैनन्। अरू सेवाको कुरै नगरौँ,’ उनले भने। उनका अनुसार सबैभन्दा भयावह अवस्था अक्सिजन आपूर्तिको छ। केही सातादेखि अस्पतालमा अक्सिजनको अभाव रहेको र अक्सिजन आवश्यक पर्ने बिरामीको उपचारसमेत प्रभावित भइरहेको छ।
‘अस्पतालमा अक्सिजनजस्तो आधारभूत सेवा नै उपलब्ध छैन भने बिरामीको उपचार कसरी गर्ने ?’ उनले प्रश्न गरे। अस्पतालको प्रयोगशाला सेवा पनि लगभग ठप्प छ। सामान्य दिसापिसाब परीक्षणदेखि ‘कम्प्लिट ब्लड काउन्ट’ (सिबिसी) जस्ता आधारभूत परीक्षणसमेत नियमित हुन सकेका छैनन्। परिणामस्वरूप सरकारी अस्पतालमा आएका बिरामी निजी ल्याब धाउन बाध्य भएका छन्।
एक्स–रे सेवाको अवस्था पनि उस्तै छ। अस्पतालमा दुईवटा एक्स–रे प्रिन्टर हुँदाहुँदै सेवा सञ्चालनमा समस्या रहेको चिकित्सकहरूको भनाइ छ। आवश्यक व्यवस्थापन र निर्णय क्षमताको अभावले सेवा प्रभावित भएको उनीहरूको आरोप छ।
उदयपुरसहित छिमेकी जिल्लाका सयौँ मिर्गौला रोगीले लाभ लिँदै आएको हेमोडायलाइसिस सेवा समेत संकटमा परेको छ। सेवा सञ्चालनका लागि आवश्यक सामग्री र व्यवस्थापनको अभावले बिरामीहरू प्रत्यक्ष मारमा परिरहेका छन्।
चिकित्सकहरूका अनुसार संकटको मूल जरो अस्पतालको लेखा तथा प्रशासनिक संयन्त्र हो। अस्पताल विकास तथा व्यवस्थापन समितिका निर्णय कार्यान्वयन नगर्ने, कार्यालय प्रमुखका निर्देशन बेवास्ता गर्ने र सेवा सञ्चालनसँग सम्बन्धित काममा अनावश्यक अवरोध खडा गर्ने प्रवृत्तिले समस्या झन् विकराल बनाएको छ।
आर्थिक व्यवस्थापनको अवस्था पनि उस्तै दयनीय छ। विशेषज्ञ चिकित्सकहरूले ६ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन्। मेडिकल अधिकृतहरूले ४ महिनादेखि अतिरिक्त भत्ता नपाएको बताएका छन् भने चालु आर्थिक वर्षको खाजा भत्तासमेत वितरण हुन सकेको छैन। ज्यालादारी कर्मचारीहरूले पोसाक भत्तासमेत नपाएको गुनासो गरेका छन्।
चिकित्सकहरूले अस्पतालको आर्थिक पारदर्शितामाथि समेत प्रश्न उठाएका छन्। आवश्यक औषधि, उपकरण र उपचार सामग्री खरिदका लागि बजेट अभाव भएको भनिए पनि आय–व्यय विवरण सार्वजनिक नगरिएको उनीहरूको आरोप छ। प्राप्त बजेटसमेत समयमै खर्च हुन नसक्दा अस्पताल सञ्चालन नै प्रभावित भएको उनीहरू बताउँछन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकेश झाले पनि समस्या वास्तविक रहेको स्वीकार गरेका छन्। उनले भने, ‘हामीसँग सेवा दिने जनशक्ति छ। विशेषज्ञ चिकित्सक छन्। तर अस्पतालभित्रका समस्याले सेवा दिन सक्ने अवस्था छैन। अहिले ५० शय्याभन्दा बढी क्षमताको अस्पतालका अधिकांश वार्ड खाली छन्। ल्याब सेवा लगभग बन्द छ। सामान्य उपकरण अभावमा समेत सेवा दिन सकिएको छैन।’
हाडजोर्नी विशेषज्ञ डा. रूपेश केसीका अनुसार अहिलेको संकट चिकित्सकको कमजोरीका कारण होइन, व्यवस्थापनको असफलताका कारण उत्पन्न भएको हो। ‘सरकारी अस्पतालमा समस्या देखियो भने दोष चिकित्सकलाई लगाउने चलन छ। तर अहिलेको अवस्था व्यवस्थापन र प्रशासनिक असफलताको परिणाम हो,’ उनले भने।
यता जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले अस्पताल प्रशासन, लेखा शाखा र चिकित्सकबीचको समन्वय अभावले समस्या जटिल बनेको स्वीकार गरेका छन्। उनका अनुसार विवाद समाधानका लागि पहल भइरहेको छ।
तर अस्पतालभित्रको वास्तविकता हेर्दा प्रश्न गम्भीर छ—एक वर्षअघि उत्कृष्ट घोषित अस्पताल आज साबुन, पञ्जा र अक्सिजनसमेत जुटाउन नसक्ने अवस्थामा कसरी पुग्यो? विशेषज्ञ चिकित्सक, भवन र संरचना भएर पनि सेवा दिन नसक्नु कुनै सामान्य प्रशासनिक कमजोरी होइन, यो स्वास्थ्य व्यवस्थापनको गम्भीर विफलता हो। यदि समयमै समस्या समाधान भएन भने आन्दोलनको चेतावनीसँगै अस्पतालका अधिकांश सेवा ठप्प हुने जोखिम बढेको छ। त्यसको प्रत्यक्ष मूल्य उदयपुर र आसपासका हजारौँ सर्वसाधारण बिरामीले चुकाउनुपर्नेछ।
