जनकपुरमा विद्यार्थीले कक्षाकोठामै शिक्षिकामाथि मुक्का वर्षाएः के हो वास्तविक घट्ना ?

जनकपुर– विद्यालयलाई ज्ञान, अनुशासन र संस्कारको मन्दिर मानिन्छ। तर जनकपुरस्थित एक विद्यालयबाट सार्वजनिक भएको भिडियोले शिक्षा प्रणालीभित्र मौलाउँदै गएको गम्भीर संकटलाई नाङ्गो बनाइदिएको छ।

कक्षाकोठामै एक विद्यार्थीले आफ्नी महिला शिक्षिकामाथि हातपात र कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। यो घट्नापछि शिक्षा क्षेत्र, अभिभावक र समाजको भूमिकामाथि नयाँ बहस सुरु भएको छ।

जनकपुरको सेन्ट जेभियर हाई स्कुलको कक्षाकोठामा भएको उक्त घटनाको सीसीटीभी फुटेज केही दिनयता तीव्र रूपमा सामाजिक सञ्जालमा फैलिएको छ। भिडियोमा कक्षा सञ्चालन भइरहेका बेला एक महिला शिक्षिकाले विद्यार्थीलाई गृहकार्य वा पढाइसम्बन्धी विषयमा सोधपुछ गरिरहेको देखिन्छ।

शिक्षिकाको हातमा सानो लौरोजस्तो वस्तु देखिन्छ र उनले विद्यार्थीलाई सम्झाउने वा अनुशासनमा राख्ने प्रयास गरेजस्तो देखिन्छ। तर त्यसको केही क्षणमै अवस्था नाटकीय रूपमा बदलिन्छ। शिक्षिकाले दोस्रो पटक हात उठाउन खोजेपछि ती विद्यार्थी एकाएक आक्रामक बन्छन्। त्यसपछि उनी शिक्षिकामाथि नै जाइ लाग्छन् र मुक्का प्रहार गर्न थाल्छन्।

शिक्षिका भने ज्यान जोगाउन पछि हट्दै कक्षाकोठाबाट भाग्न खोजेको दृश्य भिडियोमा स्पष्ट देखिन्छ। घटनाको भिडियो भाइरल भएपछि विद्यालय प्रशासनले पनि उक्त घटना आफ्नै विद्यालयको भएको स्वीकार गरेको छ। विद्यालयका एक कर्मचारीका अनुसार घटना चार–पाँच दिनअघिको हो र भिडियोमा देखिएका विद्यार्थी कक्षा ५ मा अध्ययनरत छन्।

उनले विद्यार्थीको उमेर करिब १२–१३ वर्ष रहेको जानकारी दिँदै यसअघि त्यस्तो हिंसात्मक व्यवहारको कुनै इतिहास नरहेको बताए। विद्यालयका अनुसार विद्यार्थी अचानक आवेशमा आएर शिक्षिकामाथि हातपातमा उत्रिएका थिए।

विद्यालय स्रोतका अनुसार घटनापछि विद्यार्थीका अभिभावकलाई तत्काल विद्यालयमा बोलाइएको थियो। छलफलपछि विद्यालयले उक्त विद्यार्थीलाई आफूहरूले अब पढाउन नसक्ने निर्णय गर्दै अभिभावकको जिम्मा लगाइसकेको जनाएको छ।

विद्यालयका कर्मचारीले भने, ‘भिडियो हेर्दा पनि बच्चाको बदमासी स्पष्ट देखिन्छ। हामीले अभिभावकलाई बोलाएर तपाईंको बच्चालाई अब हामी पढाउन सक्दैनौँ भनेर जिम्मा लगाइसकेका छौँ।’

घटनाले अहिले एउटा गम्भीर प्रश्न खडा गरेको छ— आखिर विद्यालयभित्र यस्तो आक्रामक व्यवहार किन बढ्दै छ ? अनुशासन सिकाउने ठाउँमै शिक्षक असुरक्षित बन्ने अवस्था आउनु सामान्य घटना मात्र हो कि समाजमा बढ्दो असहिष्णुता र अनुशासनहीनताको संकेत ?

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा विद्यार्थीहरूमा बढ्दो आक्रामकता, डिजिटल प्रभाव, अभिभावकीय निगरानीको कमी र अनुशासनबारे कमजोर सामाजिक संस्कारले यस्ता घटनालाई बढावा दिएको देखिन्छ। यद्यपि, घटनाको सम्पूर्ण पृष्ठभूमि र विद्यार्थीको मानसिक अवस्था के थियो भन्ने विषयमा विद्यालयले थप विवरण सार्वजनिक गरेको छैन।

यता सामाजिक सञ्जालमा भने घटना दुई कोणबाट बहसको विषय बनेको छ। एकथरीले शिक्षकमाथि हातपातलाई अक्षम्य र गम्भीर अनुशासनहीनता भन्दै कडा कारबाहीको माग गरेका छन्। अर्कोतर्फ केहीले शिक्षिकाको हातमा रहेको लौरो र शारीरिक दण्डको प्रयासबारे पनि प्रश्न उठाएका छन्। जे भए पनि कक्षाकोठाभित्र शिक्षक र विद्यार्थीबीचको सम्बन्ध मुक्का र प्रतिकारको अवस्थामा पुग्नु शिक्षा प्रणालीका लागि सुखद संकेत होइन।

यो घटनाले एउटा विद्यार्थीको व्यवहारभन्दा पनि विद्यालय, अभिभावक र समाजले भविष्यको पुस्तालाई कस्तो संस्कार दिइरहेका छन् भन्ने प्रश्नलाई थप गम्भीर बनाइदिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट