उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु, ३० घाइते, दुईको अवस्था गम्भीर
गाईघाट– महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक निजी विद्यालयको स्टाफ बोकेको बस उदयपुरमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार बिहान करिब पौने ९ बजे उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित सडकमा दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेलगत्तै इलाका प्रहरी कार्यालय संगमचोकबाट खटिएको टोलीले उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल उदयपुर पु¥याएको थियो। उपचारकै क्रममा बर्दिबास नगरपालिका घर भएका अन्दाजी ५५ वर्षीय विमलेश दत्तको बिहान पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था गम्भीर छ।
अन्य २८ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांश महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दा छन् भने केही सिराहाका पनि छन्। घाइतेहरूमा महिला, पुरुष तथा बालबालिका समेत छन्।
बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले भने सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार यात्रुमध्ये रामतोला देवी मण्डल र प्रिति यादव सकुशल छन्।
प्रारम्भिक अनुसन्धानअनुसार बस आफैं अनियन्त्रित भई सडकबाट तल खसेको देखिएको छ। दुर्घटनाको यथार्थ कारण, सवारीको अवस्था तथा चालकको भूमिका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

