जनयुद्धकालीन पत्रकारमाथि पालिका उपाध्यक्षका श्रीमानको हमलाः गोरखापत्र संवाददातालाई हेलमेटले कुटे
राजविराज– प्रेस स्वतन्त्रता सेनानी तथा गोरखापत्र दैनिकका संवाददाता देवराम यादवमाथि शुक्रबार बिहान कुटपिट भएको छ। बाटोसम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चनाकुमारी यादवका पति सुरेन्द्र यादवसहितको समूहले आफूलाई आक्रमण गरेको पत्रकार यादवले बताएका छन्।
महादेवा गाउँपालिका क्षेत्रअन्तर्गत हुलाकी राजमार्गस्थित खाँडो पुलमा केही व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा सुरेन्द्र यादवसहितको समूहले एक्कासी आक्रमण गरेको यादवको भनाई छ। एक्कासी हेलमेट प्रहार गरी कुटपिट गरिएको उनले बताए।
घटनामा घाइते भएका पत्रकार यादवको राजविराजस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी शाखाले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गरेको छ। महासंघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरेको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु विश्वकर्माले पनि घट्नामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेका छन्।
पत्रकार यादव लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा पनि पत्रकारितामा आबद्ध थिए। उनी त्यस वेला रेडियो जनगणतन्त्रमा काम गरेका पुराना पत्रकार हुन। हाल उनी गोरखापत्र दैनिकका सप्तरी संवाददाताका रूपमा कार्यरत छन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको जनाएको छ। समाचार तयार पार्दासम्म आरोपित पक्षको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

