उदयपुरको कटारीमा टिपर पल्टिँदा सात जना घाइते, चालक फरार
गाईघाट — उदयपुरको कटारी नगरपालिका–१ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा टिपर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। खोक्साबाट मिर्चैयातर्फ जाँदै गरेको ना १ क ५५४९ नम्बरको टिपर टर्निङ लिने क्रममा अनियन्त्रित भई सडक किनारमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कटारी नगरपालिका–२ गुराँसे निवासी ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन्।
घाइतेमध्ये शेरबहादुर थापा र सुनिता थापाको सिरहाको मिर्चैयास्थित विभिन्न अस्पताल र क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका–२ ददरिया निवासी २३ वर्षीय राजेश दनुवार फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त टिपर घटनास्थलमै छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

