सामाजिक सञ्जालमा ‘तराईको’ भन्दै अपमान गरिएको भाइरल भिडियोको पोल खुल्यो, मिलेमतोमा बनाएको प्रहरीको निष्कर्ष
राजविराज– सामाजिक सञ्जालमा केही मिनेटको चर्चा पाउन बनाइएको एउटा भिडियो अन्ततः प्रहरी अनुसन्धानको विषय बनेको छ। ‘मनोरञ्जन’ र ‘प्य्राङ्क’ को नाममा तयार गरिएको भनिएको सामग्रीले जब समुदाय, क्षेत्रीय पहिचान र सामाजिक सम्बन्धमाथि चोट पु¥याउने स्वरूप लिन थाल्यो, त्यसले केवल दर्शकको आलोचना मात्र होइन, कानुनी हस्तक्षेपसमेत निम्त्यायो।
रुकुम पश्चिममा सार्वजनिक भएको एक भिडियो अहिले त्यसै कारण चर्चाको केन्द्रमा छ। भिडियोमा देखिएको दृश्य सामान्य ठट्टा वा अभिनयभन्दा धेरै पर पुगेको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले निकालेको छ। भाइरल हुने उद्देश्यले बनाइएको भनिएको उक्त सामग्रीले सामाजिक सद्भाव र साम्प्रदायिक सहिष्णुतामाथि नै प्रश्न उठाउने खालको सन्देश दिएको भन्दै तीन जना व्यक्ति पक्राउ परेका छन्।
घटनाको सुरुवात २४ जुन २०२६ मा भयो। ‘व्ष्दबल इष्’ि नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा एक डेलिभरी ब्वाईलाई एकान्त सडकमा रोकेर चोरको आरोप लगाउने, उनको क्षेत्रीय पहिचानलाई लक्षित गर्दै अपमानजनक व्यवहार गर्ने र भिरबाट फालिदिने धम्की दिँदै हात जोड्न बाध्य बनाएको दृश्य प्रस्तुत गरिएको थियो।
भिडियो सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा त्यसको तीव्र आलोचना सुरु भयो। धेरैले यसलाई मनोरञ्जन नभई क्षेत्रीय र सामुदायिक घृणा फैलाउने सामग्रीको संज्ञा दिए। आलोचना यति व्यापक बन्यो कि गृहमन्त्री सुधन गुरुङले समेत घटनामा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान र आवश्यक कारबाही गर्न निर्देशन दिए।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अनुसन्धान अघि बढायो। अनुसन्धानको क्रममा प्रारम्भिक रूपमा देखिएको कथा र वास्तविकता भने फरक भेटियो। प्रहरीका अनुसार भिडियोमा पीडितको भूमिकामा देखिएका व्यक्ति वास्तवमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ घर भएका ३१ वर्षीय रघुवीर कोरी हुन्, जो हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी नियमित रूपमा पाउरोटी डेलिभरीको काम पनि गर्दै आएका थिए।
अनुसन्धानले देखाएको अर्को तथ्य के थियो भने भिडियोमा देखिएका कथित आक्रमणकारी र ‘पीडित’ अपरिचित व्यक्ति नभई आपसमा परिचित थिए। रघुवीर कोरीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजन केसी र २८ वर्षीय डिल्लीबहादुर वलीसँग मिलेर योजनाबद्ध रूपमा उक्त भिडियो निर्माण गरेको प्रहरीको निष्कर्ष छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी बेदबहादुर पौडेलका अनुसार सोधपुछका क्रममा भिडियो भाइरल बनाउने उद्देश्यले आपसी सहमतिमा छायांकन गरिएको खुलेको छ। उनका अनुसार भिडियोमा देखिएका गतिविधि वास्तविक घटनाभन्दा अभिनयमा आधारित थिए।
तर अनुसन्धानको केन्द्र केवल भिडियो नक्कली थियो कि वास्तविक भन्ने प्रश्नमा सीमित रहेन। प्रहरीले ध्यान दिएको मुख्य विषय भिडियोको सन्देश र त्यसले समाजमा पार्न सक्ने प्रभाव थियो। भिडियोमा प्रयोग भएका शब्द, प्रस्तुत गरिएको व्यवहार र एउटा निश्चित क्षेत्र वा समुदायलाई लक्षित गरिएको शैलीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने निष्कर्ष प्रहरीको छ।
डीएसपी पौडेलका अनुसार मनोरञ्जनको नाममा गरिएका गतिविधिले यदि कुनै समुदाय, क्षेत्र वा समूहको मानमर्दन गर्ने, सामाजिक द्वेष फैलाउने वा सार्वजनिक शान्ति खलबल्याउने सम्भावना देखिन्छ भने त्यसलाई सामान्य ठट्टाको रूपमा मात्र लिन सकिँदैन।
यही आधारमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई शुक्रबार पक्राउ गरिएको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। म्याद थपको अनुमतिका लागि उनीहरूलाई जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ।
यो घटनाले सामाजिक सञ्जालको बदलिँदो संस्कृतिमाथि पनि बहस सुरु गराएको छ। पछिल्ला वर्षहरूमा ‘भाइरल’ हुने प्रतिस्पर्धाले सामग्री निर्माणको सीमारेखा धुमिल बनाउँदै लगेको छ। दर्शकको ध्यान खिच्नका लागि तयार गरिएका कतिपय सामग्रीले मनोरञ्जन र सामाजिक उत्तरदायित्वबीचको दूरी बढाइरहेका छन्।
रुकुमको यो घटना केवल तीन जनाको पक्राउसम्म सीमित छैन। यसले डिजिटल युगमा अभिव्यक्ति, मनोरञ्जन, सामाजिक उत्तरदायित्व र कानुनी सीमाबीचको सम्बन्धबारे नयाँ प्रश्नहरू उठाएको छ। केही मिनेटको लोकप्रियताका लागि तयार गरिएको सामग्रीले कहिलेकाहीँ व्यक्तिगत प्रतिष्ठा, सामाजिक सद्भाव र कानुनी जिम्मेवारीसँग प्रत्यक्ष ठोक्किन सक्छ भन्ने सन्देश पनि यो घटनाले दिएको छ।

