प्र्याङ्कको महामारी–भ्युजको भोकमा समाजमाथि आतंकः हत्या नाटकदेखि डेलिभरी ब्वाईको अपमानसम्म
राजविराज– एक युवतीले साथीलाई भिडियो कल गरेर ‘मैले हत्या गरेँ’ भन्ने नक्कली दृश्य देखाउँछिन्। साथी आत्तिएर प्रहरीलाई खबर गर्छिन्। प्रहरी हत्या अनुसन्धान गर्न दौडिन्छ। अन्ततः त्यो हत्या होइन, ‘प्र्याङ्क’ निस्किन्छ।
त्यसको केही दिनअघि रुकुम पश्चिममा एक डेलिभरी ब्वाईलाई चोर भन्दै अपमान गरिन्छ, भिरबाट फालिदिने धम्की दिइन्छ, क्षेत्रीय पहिचानका आधारमा होच्याइन्छ। भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छ। जनआक्रोश बढ्छ। गृहमन्त्रीसम्म प्रतिक्रिया दिन बाध्य हुन्छन्। पछि प्रहरीले अनुसन्धान गर्दा त्यो पनि पूर्वनियोजित ‘प्र्याङ्क’ भएको खुलासा गर्छ।
यी दुई घटना केवल छुट्टाछुट्टै समाचार होइनन्। यी नेपाली समाजमा तीव्र गतिमा फैलिरहेको एउटा नयाँ प्रवृत्तिका संकेत हुन—जहाँ मनोरञ्जनको नाममा त्रास सिर्जना गर्ने, अपमान गर्ने, भ्रम फैलाउने र मानिसको भावनासँग खेल्ने कामलाई ‘कन्टेन्ट’ बनाइँदैछ।
ललितपुरको चाङ्गाथलीस्थित युनाइटेड कालोनी नजिक डेरा गरी बस्दै आएकी पर्वत फलेवास नगरपालिका–१० घरकी २५ वर्षीया मन्दिरा गुरुङले आफ्नो हात र ओछ्यानमा रातो अबिर दलिन्। त्यसपछि उनले साथी सुस्मिता जिरेललाई भिडियो कल गरिन्।
भिडियो कलमा देखिएको दृश्य सामान्य थिएन। हातमा रगतजस्तो पदार्थ थियो, ओछ्यानमा पनि रातो दाग थियो। गुरुङले आफूले साथीको हत्या गरेको जस्तो संकेत दिएकी थिइन्। हत्या भएको ठानेर आतंकित बनेकी सुस्मिताले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा खबर गरिन्।
प्रहरी प्रभाग लुभुबाट टोली तत्काल घटनास्थल पुग्यो। कोठा खानतलासी गरियो। अनुसन्धान अगाडि बढ्यो। तर केहीबेरमै प्रहरीले ‘हत्या’को कथाभित्रको वास्तविकता फेला पार्यो—त्यो सबै ‘प्र्याङ्क भिडियो’का लागि गरिएको नाटक थियो।
प्रहरीका अनुसार गुरुङले झुट्टा अफवाह फैलाएर शान्ति–सुरक्षामा खलल पुर्याउने काम गरेकी थिइन्। उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ। घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—मनोरञ्जनका लागि प्रहरीले आफ्नो स्रोत र समय खर्च गर्नुपर्ने अवस्था किन सिर्जना हुँदैछ?
ललितपुरको घटना हुनु अघि अर्को भिडियोले सामाजिक सञ्जाल ततायो। ‘जिवन ओली’ नामक युट्युब च्यानलमा जुन २४ मा सार्वजनिक गरिएको चार मिनेट २४ सेकेन्ड लामो भिडियोमा टेम्पर ग्लास पुर्याउन आएका एक डेलिभरी ब्वाईलाई अपमानित गरिएको देखिन्थ्यो।
भिडियोमा उनलाई चोरको आरोप लगाइन्छ। तराईको व्यक्ति भन्दै होच्याइन्छ। धम्की दिइन्छ। हात जोड्न बाध्य बनाइन्छ। एकान्त स्थानमा घेराबन्दी गरिन्छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भयो। धेरैले यसलाई मनोरञ्जन होइन, मानसिक यातना भने।
घटनाले यति ठूलो बहस जन्मायो कि गृहमन्त्री सुधन गुरुङले समेत सार्वजनिक रूपमा प्रतिक्रिया दिनुप¥यो। उनले सामाजिक सञ्जालमै टिप्पणी गर्दै यस्तो प्रकारको दुव्र्यवहार गर्नेहरूलाई ‘हदैसम्मको कानुनी कारबाही’ गरिने बताएका थिए।
भिडियो हेर्दा पीडित देखिने व्यक्ति वास्तवमै पीडित थिएनन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अनुसन्धानले भिडियो भाइरल बनाउने उद्देश्यले योजनाबद्ध रूपमा सुटिङ गरिएको निष्कर्ष निकाल्यो।
प्रहरीले बाँफिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजन केसी, २८ वर्षीय डिल्लीबहादुर वली तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुवीर कोरीलाई पक्राउ ग¥यो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी बेदबहादुर पौडेलका अनुसार भिडियोमा ‘पीडित’को भूमिकामा देखिएका कोरी स्वयं सुटिङ योजनामा सहभागी थिए। प्रारम्भिक अनुसन्धानले तीनै जनाले भाइरल कन्टेन्ट बनाउने उद्देश्यले दृश्य निर्माण गरेको देखाएको छ।
तर प्रहरीले एउटा महत्वपूर्ण कुरा पनि औंल्याएको छ—यदि सबै पात्र सहमतिमै थिए भने पनि प्रयोग गरिएको भाषा, शैली र प्रस्तुतिले क्षेत्रीय तथा साम्प्रदायिक द्वेष फैलाउने जोखिम पैदा गरेको थियो। यही कारणले उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
नेपालमा प्र्याङ्क नयाँ विषय होइन। युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको विस्तारसँगै पछिल्लो दशकमा यसको लोकप्रियता बढेको हो। सुरुमा साथीभाइबीचको सामान्य मजाकका रूपमा देखिएको यो प्रवृत्ति विस्तारै अपरिचित व्यक्तिलाई लक्षित गर्ने, डर देखाउने, अपमान गर्ने र भावनात्मक रूपमा झकझक्याउने दिशातर्फ गएको देखिन्छ।
कसैलाई भूत देखाएर तर्साउने, झुट्टा आरोप लगाउने, प्रेम प्रस्तावको नाटक गर्ने, चोरीको आरोप लगाउने, सार्वजनिक रूपमा अपमान गर्ने, जातीय वा क्षेत्रीय पहिचानलाई लिएर होच्याउने जस्ता सामग्रीहरू सामाजिक सञ्जालमा लाखौं पटक हेरिन्छन्।
समस्या त्यहीँबाट सुरु हुन्छ—भ्युज बढ्दै जाँदा सीमा घट्दै जान्छ। हिजो सामान्य मजाक थियो। आज हत्या भएको झुटो दृश्य निर्माणसम्म पुगेको छ। उसो त यस्ता गतिविधि बढ्दै गएपछि गृह मन्त्रालयले २०७८ माघ १७ गते नै सार्वजनिक स्थलमा गरिने प्र्याङ्क गतिविधिविरुद्ध औपचारिक निर्देशन जारी गरेको थियो।
मन्त्रालयले व्यक्तिको जानकारी र सहमतिबिना भिडियो खिच्ने, सार्वजनिक गर्ने तथा मानसिक वा शारीरिक हैरानी पु¥याउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको थियो। गृह मन्त्रालयका तत्कालीन प्रवक्ता फणीन्द्रमणि पोखरेलले त्यस्ता गतिविधिबाट सामाजिक बेथिति बढ्न सक्ने भन्दै चेतावनी दिएका थिए।
त्यसबेलादेखि नै प्रहरीमा यस्ता घटनासम्बन्धी उजुरीहरू बढ्न थालेका थिए। नेपाल प्रहरीका अनुसार प्र्याङ्कका नाममा गरिने गतिविधि केवल ‘मजाक’को विषय भएर सीमित रहँदैन। यदि कसैलाई हैरानी, अपमान वा मानसिक पीडा दिइयो भने मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहारको कसुर आकर्षित हुन सक्छ।
यस कसुरमा दोषी ठहरिए एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ। त्यसमाथि भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ भने विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधसम्बन्धी प्रावधान पनि आकर्षित हुन सक्छ। प्रहरीको भनाइमा ‘क्यामेरा अन भएपछि सबै कुरा मनोरञ्जन हुँदैन।’
सामाजिक सञ्जालमा सफलताको मापन अहिले ‘भ्युज’, ‘लाइक’ र ‘सब्स्क्राइबर’बाट हुन थालेको छ। यही कारण कतिपय कन्टेन्ट निर्माता दर्शकको ध्यान खिच्न दिनप्रतिदिन बढी सनसनीपूर्ण सामग्रीतर्फ उन्मुख भइरहेका छन्।
समस्या केवल झुट्टा भिडियो बनाउनुमा छैन। समस्या समाजको संवेदनशीलता, विश्वास र सार्वजनिक सुरक्षालाई मनोरञ्जनको कच्चा पदार्थ बनाउनुमा छ। जब हत्या भएको झुटो सूचना प्रहरीसम्म पुग्छ, राज्यको स्रोत परिचालन हुन्छ। जब कुनै समुदाय वा क्षेत्र विशेषलाई अपमानित गर्ने दृश्य भाइरल हुन्छ, त्यसले सामाजिक सम्बन्धमा असर पार्छ। जब कसैलाई मानसिक तनाव दिएर हाँसो कमाइन्छ, त्यसले मनोरञ्जनको नैतिक सीमामाथि प्रश्न उठाउँछ।
ललितपुरको ‘हत्या प्र्याङ्क’ र रुकुम पश्चिमको ‘डेलिभरी ब्वाई प्र्याङ्क’ दुवैले एउटा साझा सन्देश दिएका छन—सामाजिक सञ्जालको प्रतिस्पर्धाले नेपाली समाजलाई नयाँ प्रकारको जोखिमतर्फ धकेलिरहेको छ। प्रश्न अब यति मात्र होइन कि यस्ता भिडियो भाइरल किन भए। प्रश्न यो हो—के समाजलाई आतंकित बनाएर, भ्रम फैलाएर र मानिसको आत्मसम्मानमाथि खेल्दै कमाइएको लोकप्रियता वास्तवमै मनोरञ्जन हो?
कि हामी यस्तो युगमा प्रवेश गरिरहेका छौं जहाँ ‘भ्युज’का लागि सत्य, संवेदना र सामाजिक जिम्मेवारी सबैभन्दा सस्तो वस्तु बन्न थालेका छन?

