दाइको हत्या गरी शव नहरमा फालेर भारततर्फ भाग्दै गरेका भाई पक्राउ

राजविराज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेर फरार भएका एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको छ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय बिनोद चौधरीले आफ्ना २६ वर्षीय सहोदर दाइ मनोज चौधरीको हत्या गरेको आरोप लागेको छ। घटनापछि फरार रहेका उनलाई आइतबार बिहान करिब साढे ६ बजे कोहलपुर नगरपालिका–१५ चन्हवाबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार असार १४ गते साँझ करिब ७ बजे दुवै दाजुभाइबीच झगडा हुँदा मनोज चौधरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बिनोदले कुटपिट गरी दाइको हत्या गरी शव नहरमा फालेको आरोप प्रहरीले लगाएको छ।

मनोजको शव फेला परेपछि प्रहरीले मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाएको छ। हत्यापछि फरार भएका बिनोद चौधरीलाई खोजी गर्ने क्रममा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा उनी भारततर्फ भाग्न खोजिरहेको अवस्थामा कोहलपुर–१५ चन्हवाबाट पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट