कोशीटप्पुबाट पसेका जङ्गली हात्तीको आतंकः उदयपुरमा ११ घरमा क्षति, १६ लाखभन्दा बढी नोक्सानी
गाईघाट— कोशीटप्पु क्षेत्रबाट गाउँ पसेका जङ्गली हात्तीको समूहले उदयपुरको चौदण्डीगढी नगरपालिकाका दुई वडामा व्यापक क्षति पुर्याएको छ। दुई रातको अवधिमा हात्तीले ११ वटा घर तथा विभिन्न कृषि संरचनामा क्षति पुर्याउँदा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी गणेश बमका अनुसार जङ्गली हात्तीको समूहले चौदण्डीगढी नगरपालिका–७ को कुमाङ लामाचौरी र वडा नम्बर ४ आसपासका बस्तीमा प्रवेश गरी घर भत्काउनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा खेतीबाली नष्ट गरेको हो।
प्रहरीका अनुसार हात्तीले वडा नम्बर ७ का बुद्धिमाया राई, बमबहादुर विक, रोशन विक, राधा विक, वीरबहादुर मगर, खिलबहादुर मगर, लक्ष्मी विकलगायतका घर तथा संरचनामा क्षति पुर्याएको छ। यस्तै वडा नम्बर ४ का असुन्ता राई, शारदा राई, दुर्गाबहादुर बस्नेत र सरस्वती राईको घर तथा कृषि उत्पादनसमेत नष्ट भएको छ।
क्षतिको विवरणअनुसार बुद्धिमाया राईको दुई कोठे घरमा रहेका धान, चामल, मकैको भुस तथा भाँडावर्तन नष्ट हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ। लक्ष्मी विकको घरमा तीन लाख रुपैयाँ, बमबहादुर विक र रोशन विकको घरमा जनही दुई लाख रुपैयाँ तथा वीरबहादुर मगरको कुखुराको खोर, परेवाको खोर, भान्साघर र पाँच कठ्ठा मकैबाली नष्ट हुँदा दुई लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।
त्यसैगरी खिलबहादुर मगरको भान्साघर, राधा विकको घर, असुन्ता राई, शारदा राई, दुर्गाबहादुर बस्नेत तथा सरस्वती राईका घर र कृषि उत्पादनमा समेत क्षति पुगेको छ। समग्रमा जङ्गली हात्तीको आक्रमणबाट १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकन गरिएको छ।
स्थानीय पुष्प राईका अनुसार रातिको समयमा हात्ती बस्तीमा प्रवेश गरेपछि गाउँलेहरू घर छाडेर भाग्न बाध्य भएका थिए। ‘हात्ती गाउँ पसेपछि ज्यान जोगाउन सबैजना सुरक्षित स्थानतर्फ भाग्यौं,’ उनले भने।
हात्तीले घर भत्काएका परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था मिलाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा हात्तीको समूहलाई पुनः जंगलतर्फ धपाएको थियो।
प्रहरीका अनुसार कोशीटप्पु क्षेत्रबाट आएको हात्तीको समूह अहिले लामाचौरी र ४५ चोक आसपासको वन क्षेत्रमा रहेको अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको तथा स्थानीयवासीको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको डीएसपी बमले जानकारी दिए।
उदयपुर, सुनसरी र सप्तरीका सीमावर्ती क्षेत्रमा विगत केही वर्षयता कोशीटप्पु क्षेत्रबाट जङ्गली हात्ती बस्तीमा प्रवेश गर्ने घटना दोहोरिँदै आएको छ। यसले मानव–वन्यजन्तु द्वन्द्वलाई थप जटिल बनाएको भन्दै स्थानीयवासीले दीर्घकालीन समाधानको माग गर्दै आएका छन्।

