गृहमन्त्रीको अवैधानिक पीए बन्न खोज्दा पक्राउ परे सप्तरीका आदित्य सिंह, बेटिङ काण्डमा पनि समातिएर छुटेको खुलासा
काठमाडौं — आफूलाई गृहमन्त्रीको स्वकीय सचिव तथा गृह मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध भएको व्यक्ति भन्दै प्रहरी अधिकारीहरूलाई प्रभावमा पार्न खोजेको आरोपमा पक्राउ परेका आदित्य सिंह सप्तरीका निवासी भएको खुलेको छ।
काठमाडौँ प्रहरीले आइतबार कोटेश्वरबाट नियन्त्रणमा लिएका सिंह सप्तरीको राजविराज नगरपालिका–२ का भएको प्रहरीले जनाएको छ। उनि यसअघि पनि अनलाइन बेटिङसम्बन्धी मुद्दामा पक्राउ परिसकेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सिंहले आफूलाई गृहमन्त्री सुधन गुरुङनिकट व्यक्ति तथा गृह मन्त्रालयको जिम्मेवार अधिकारीका रूपमा प्रस्तुत गर्दै विभिन्न प्रहरी अधिकारीहरूसँग सम्पर्क बढाउने, प्रभाव जमाउने र गलत सूचना प्रवाह गर्ने गतिविधि गर्दै आएका थिए। सोही आरोपमा उनलाई आइतबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ पर्दा सिंह लागुऔषध सेवन गरेको अवस्थामा थिए। उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट सोमबार तीन दिनको म्यादसमेत प्राप्त भएको छ।
अनुसन्धानका क्रममा सिंहको विगतको आपराधिक अभिलेखसमेत खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सिंह यसअघि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कारबाहीमा परेका व्यक्ति हुन्।
सीआईबीले २०८१ पुस २३ गते ललितपुरबाट उनलाई पक्राउ गरेको थियो। त्यतिबेला अनलाइन बेटिङ तथा ठगीमा संलग्न गिरोहमाथि सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा सिंह पक्राउ परेका थिए। उनीविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान गरिएको थियो।
प्रहरी अनुसन्धानबाट सिंहले आफूलाई उच्च राजनीतिक पहुँच भएको व्यक्ति देखाउँदै प्रहरी अधिकारीहरूसँग निकटता प्रदर्शन गर्ने गरेको पनि खुलेको छ। उनले विभिन्न प्रहरी अधिकारीहरूसँगको भेटघाट, उठबस तथा सवारी प्रयोग गरेका दृश्यहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए।
प्रहरी स्रोतका अनुसार सिंहले कतिपय प्रहरी अधिकारीहरूलाई प्रत्यक्ष फोन गरेर निर्देशनात्मक शैलीमा कुरा गर्ने, आफू प्रभावशाली राजनीतिक व्यक्तिको प्रतिनिधि भएको दाबी गर्ने र त्यसमार्फत प्रभाव जमाउने प्रयास गर्ने गरेका थिए।
उनले सामाजिक सञ्जालमा प्रहरी अधिकारीहरूको सरकारी सवारीसाधनमा यात्रा गरेका तस्बिर तथा भिडियोसमेत सार्वजनिक गर्ने गरेका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका केही अधिकारीहरूसँगको निकटता देखाउने सामग्री पनि उनले विभिन्न प्लेटफर्ममा पोस्ट गर्दै आएका थिए।
हाल प्रहरीले सिंहमाथि झुटो परिचय प्रयोग गरी सरकारी निकायलाई प्रभावित पार्न खोजिएको विषय, लागुऔषध सेवनको अवस्था तथा यससँग जोडिएका अन्य गतिविधिबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले उनका सम्पर्क, गतिविधि र विगतका अभिलेखसमेत केलाइरहेको छ।
सिंहमाथिको अनुसन्धान जारी रहेकाले थप तथ्यहरू अनुसन्धानको क्रममा खुल्ने प्रहरीले जनाएको छ।

