हत्कडीसहित फरार भएका थुनुवा भोलिपल्ट आफैं प्रहरी कार्यालयमा हाजिर भएपछि…
वीरगञ्ज— पर्साको बढनियार प्रहरी चौकीबाट हत्कडीसहित फरार भएका एक थुनुवा भोलिपल्ट आफैं प्रहरीको सम्पर्कमा आएका छन्। काठ तस्करीसम्बन्धी मुद्दामा पक्राउ परेका पर्सागढी नगरपालिका–४ पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान आफैं उपस्थित भएपछि प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीका अनुसार मेराजुल आइतबार साँझ बढनियार प्रहरी चौकीबाट फरार भएका थिए। फरार भएको करिब एक दिनपछि उनी सोमबार साँझ डिभिजन वन कार्यालय पर्सामा आफैं उपस्थित भएका हुन्।
प्रहरीका अनुसार काठ तस्करीसम्बन्धी आरोपमा पक्राउ परेका मेराजुल आइतबार साँझ करिब ७ देखि ८ बजेको बीचमा खाना खाने क्रममा सुरक्षाकर्मीलाई छल्दै भाग्न सफल भएका थिए। उनी प्रहरी नियन्त्रणमै रहेका बेला चौकीको चेन गेट खोलेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
फरार भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो। तर, प्रहरी स्रोतका अनुसार मेराजुल रातभर आफ्नै घरमा बसेका थिए। त्यसपछि सोमबार साँझ उनी आफैं डिभिजन वन कार्यालय पर्सामा उपस्थित भएका हुन्।
डीएसपी कार्कीका अनुसार मेराजुलविरुद्ध सवडिभिजन वन कार्यालय सबैयामा काठ तस्करीसँग सम्बन्धित तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता छन्। ती मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको थियो।
घटनाका बेला मेराजुलसँगै रहेका अन्य दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरी व्यस्त रहेको अवसरको फाइदा उठाउँदै उनी भाग्न सफल भएको प्रारम्भिक विवरणमा उल्लेख छ। प्रहरीले पुनः नियन्त्रणमा लिएका मेराजुलमाथि दर्ता रहेका वनसम्बन्धी मुद्दाका साथै फरार भएको घटनाबारे समेत आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। हाल उनी प्रहरी निगरानीमै रहेका छन्।

