इन्धनमा मूल्य कटौतीपछि सप्तरीसहित तराईका जिल्लामा कृत्रिम अभाव, अधिकांश पम्प बन्द
राजविराज — नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएपछि सप्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिएको छ।
मूल्य घट्ने पूर्वानुमानमा धेरै पेट्रोल पम्प सञ्चालकले इन्धन नउठाएको तथा बिक्रीसमेत सीमित गरेपछि सर्वसाधारणले पेट्रोल र डिजेल पाउन कठिनाइ भोगिरहेका छन्। सप्तरी, सिराहा र आसपासका क्षेत्रमा बुधबार बिहानदेखि अधिकांश पेट्रोल पम्प बन्द देखिएका छन्। खुलेका केही पम्पले समेत पेट्रोल तथा डिजेल मौज्दात नरहेको भन्दै सेवाग्राहीलाई फर्काउने गरेका छन्।
दैनिक आवतजावत, सार्वजनिक यातायात, कृषि तथा व्यावसायिक प्रयोजनका लागि इन्धनमा निर्भर उपभोक्ता यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँले मूल्य घटाएको थियो। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टीतेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर १५.०९ रुपैयाँ र डिजेलको २९.४६ रुपैयाँले घटेर आएको थियो। त्यस्तै हवाई इन्धन प्रतिलिटर २९.४२ रुपैयाँ तथा एलपी ग्यास करिब ४०० रुपैयाँ प्रतिसिलिन्डरले सस्तो भएको मूल्यसूची प्राप्त भएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेपछि सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो। उनका अनुसार मध्यपूर्वमा तनाव चुलिएका बेला वैशाख २१ गते कच्चा तेलको मूल्य प्रतिव्यारेल ११४ अमेरिकी डलरसम्म पुगेको थियो। त्यसयता मूल्य घट्दै मंगलबार साँझसम्म ७४ डलर प्रतिव्यारेलमा झरेको छ, जुन करिब ३५ प्रतिशतको गिरावट हो।
यद्यपि एलपी ग्यासमा अझै पनि निगमलाई घाटा रहेको जनाएको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँभन्दा बढी घाटा रहेकाले आइओसीले घटाएर पठाएको सम्पूर्ण मूल्य उपभोक्तामा हस्तान्तरण गर्न नसकिएको निगमको भनाइ छ।
मूल्य घट्ने संकेत पाएपछि देशभरका पेट्रोल पम्प व्यवसायीले निगमका डिपोबाट इन्धन नउठाएको तथ्य पनि सार्वजनिक भएको छ। नियमित कार्यतालिकाअनुसार आइओसीबाट नयाँ खरिद मूल्य आउने र त्यसअनुसार निगमले मूल्य समायोजन गर्ने अनुमान गर्दै धेरै व्यवसायीले महँगो मूल्यमा इन्धन खरिद नगरेको स्रोतहरूले बताएका छन्।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्व अर्यालले अन्तर्राष्ट्रिय बजारको अवस्थाका आधारमा मूल्य घट्ने अनुमान व्यवसायीहरूले गरेको बताए। उनका अनुसार केही व्यवसायीले आफ्नै व्यावसायिक विश्लेषणका आधारमा इन्धन खरिद कम गरेको हुन सक्छ, तर बजारमा दीर्घकालीन अभाव सिर्जना हुने अवस्था नरहेको दाबी गरे।
‘अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति हेर्दा मूल्य घट्ने सम्भावना देखिएको थियो। व्यवसायीहरूले त्यही आधारमा निर्णय गरेका हुन सक्छन्,’ अर्यालले भने, ‘तर उपभोक्ताले लामो समय अभाव झेल्नुपर्ने अवस्था आउने छैन।’
मूल्य समायोजनसम्बन्धी सूचना चुहावटको विषय पनि फेरि चर्चामा आएको छ। गत चैतमा मूल्य वृद्धि हुनुअघि निगमका कर्मचारीको मिलेमतोमा ठूलो परिमाणमा इन्धन बिक्री भएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसपटक पनि मूल्य घट्ने संकेत समयअघि नै बाहिरिएको हुन सक्ने अनुमान गरिएको छ। तर अध्यक्ष अर्यालले भने मूल्यबारे निगमका कर्मचारीबाट सूचना लिनुपर्ने आवश्यकता नरहेको बताए।
‘अन्तर्राष्ट्रिय बजारको ट्रेन्ड र बाह्य स्रोतहरूबाट नै मूल्य परिवर्तनको अनुमान गर्न सकिन्छ। कर्मचारीबाट सूचना लिने–दिने भन्ने विषयसँग हामी सहमत छैनौं,’ उनले भने। बागमती प्रदेशमा इन्धन वितरण गर्ने नेपाल आयल निगमको थानकोट डिपोमा पनि मंगलबार असामान्य रूपमा बिक्री घटेको देखिएको छ।
डिपो प्रमुख जगदीश यादवका अनुसार सामान्य अवस्थामा दैनिक करिब १५ लाख लिटर पेट्रोल र डिजेल बिक्री हुने गरे पनि मंगलबार पेट्रोल १ लाख ८१ हजार लिटर र डिजेल ६६ हजार लिटर गरी करिब अढाई लाख लिटर मात्रै बिक्री भएको थियो।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य घटाएको भए पनि त्यसको प्रत्यक्ष असर बजारमा इन्धन आपूर्तिमा देखिएको छ। मूल्य घट्ने अपेक्षामा व्यवसायीले खरिद रोकेको र कतिपय स्थानमा बिक्रीसमेत सीमित गरेका कारण तराई–मधेशका विभिन्न जिल्लामा उपभोक्ताले पेट्रोलियम पदार्थको अभाव सामना गर्नुपरेको छ।
लोकप्रिय
गृहमन्त्रीका समर्थकद्वारा नायिका उषा रजकलाई मध्यरातमा फोनः स्क्रिनसर्ट शेयर गर्दै प्रहरी कार्यालयमा डेट गर्ने चेतावनी

