कटुवा पेस्तोल, गोली र गाँजासहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर— विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा भाडामा बस्दै आएका एक युवकको कोठाबाट कटुवा पेस्तोल, गोली र गाँजा बरामद भएपछि सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

सीमावर्ती क्षेत्रमा अवैध हतियार र लागूऔषधसँग सम्बन्धित गतिविधिमाथि निगरानी बढाइरहेका बेला प्रहरीले आइतबार बिहान ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले यादवलार्य पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार विराटनगर–१४ जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठामा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, उक्त पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली तथा १४० ग्राम गाँजा फेला परेको थियो।

खानतलासीका क्रममा प्रहरीले यादवको साथबाट दुई थान मोबाइल फोन र एक थान भालासमेत बरामद गरेको छ। बरामद सामग्रीको प्रकृति र स्रोतबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा खोजतलासका क्रममा उक्त सामग्री फेला परेको हो। पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ।

प्रहरीले बरामद हतियार वैध वा अवैध कुन प्रयोजनका लागि राखिएको थियो, त्यसको प्रयोग तथा सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। साथै गाँजा र अन्य सामग्रीको स्रोत तथा सम्भावित सञ्जालबारे पनि अनुसन्धान केन्द्रित गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट