काजल कर्णको आरोपपछि फिल्म उद्योगभित्र उठे असहज प्रश्नः निर्देशले दिए यस्तो जवाफ
राजविराज– एउटा फेसबुक स्टाटसले नेपाली चलचित्र उद्योगभित्र लामो समयदेखि दबिएर बसेका प्रश्नहरूलाई फेरि सतहमा ल्याएको छ। अभिनेत्री काजल कर्णले आफूले चलचित्र ‘चिरञ्जीवी भवः’ को सुटिङ सेटमा मधेसी भएकै कारण अपमान, विभेद र दुव्र्यवहार भोग्नुपरेको आरोप सार्वजनिक गरेपछि फिल्म क्षेत्र यतिबेला आरोप र प्रत्यारोपको चक्रमा तानिएको छ।
काजलको दाबी एउटा भूमिका गुमाएको गुनासो मात्र होइन। उनले सार्वजनिक रूपमा लेखेको अनुभवमा जातीय पहिचानमाथिको टिप्पणी, पेशागत अपमान, मानसिक तनाव, पारिश्रमिक विवाद र अन्ततः फिल्मबाट हटाइएको घटनाक्रम जोडिएको छ। अर्कोतर्फ निर्देशक दीपकप्रसाद आचार्यले ती आरोपलाई अस्वीकार गर्दै कुनै पनि प्रकारको क्षेत्रीय वा जातीय विभेद नभएको दाबी गरेका छन्। बरु उनले कलाकार स्वयंको अनुशासन र कार्यशैलीका कारण समस्या उत्पन्न भएको बताएका छन्।
यही विरोधाभासी दाबीबीच अहिले बहस काजल र निर्माण टिमबीच सीमित छैन। प्रश्न नेपाली चलचित्र उद्योगभित्रको शक्ति सम्बन्ध, अवसरको पहुँच, क्षेत्रीय प्रतिनिधित्व र कलाकारप्रतिको व्यवहारसम्म विस्तारिएको छ।
मधेशबाट कलाकारिता यात्रा सुरु गरेकी काजल कर्णले सामाजिक सञ्जालमार्फत आफूले सानो उमेरदेखि अभिनयको सपना बोकेर अघि बढेको उल्लेख गरेकी छन्। थारु, भोजपुरी, मैथिली र नेपाली भाषाका तीन सय ५० भन्दा बढी गीतमा अभिनय गरिसकेपछि आफू नेपाली फिल्म उद्योगमा प्रवेश गरेको उनको भनाइ छ।
उनका अनुसार निर्देशक दीपकप्रसाद आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘चिरञ्जीवी भवः’ मा अवसर पाउँदा उनी उत्साहित थिइन्। हरिवंश आचार्य, करिश्मा मानन्धर लगायत स्थापित कलाकारहरूसँग काम गर्ने अवसरलाई उनले आफ्नो करियरको महत्वपूर्ण उपलब्धिका रूपमा लिएकी थिइन्। तर काजलको दाबी अनुसार फिल्म सेटमा प्रवेश गरेपछि परिस्थिति अपेक्षाविपरीत बन्यो।
उनले डिजाइनरले नाप लिइसकेपछि पनि काठमाडौंको सुटका लागि आफ्नै पोसाकको व्यवस्था गर्न भनिएको आरोप लगाएकी छिन्। सुटिङको दिन बिहान गाडी पठाइने जानकारी दिइए पनि अन्तिम समयमा आफूलाई सार्वजनिक सवारीमार्फत आउन भनिएको उनको भनाइ छ।
काजलका अनुसार इटहरीमा भएको सुटिङका क्रममा मेकअप रुममा प्रवेश गरेपछि उनीमाथि असहज व्यवहार सुरु भयो। मुख्य अभिनेत्रीको मेकअप भइरहेको कोठामा प्रवेश गर्दा आफूलाई त्यहाँ बस्न नदिइएको र अपमानजनक व्यवहार गरिएको उनको आरोप छ। सबैभन्दा गम्भीर आरोप भने उनले मेकअप र चरित्र निर्माणसँग सम्बन्धित प्रसंगमा लगाएकी छिन्।
उनका अनुसार मेकअप आर्टिस्टले जानाजानी आफ्नो अनुहार कालो बनाएको र आफूलाई आश्रममा काम गर्ने तथा गाई–गोठालो गर्ने पात्र भन्दै त्यहीअनुसार मेकअप गरिएको बताएका थिए। उनले केही प्राविधिकले आफूलाई ‘मधेसी’ भनेर सम्बोधन गर्दै तराई र मधेशमाथि व्यंग्य गरेको आरोप पनि लगाएकी छिन्।
काजलको दाबी अनुसार सेटमा ‘मधेसीको रंग यस्तै हुन्छ’, ‘तिमीलाई गाईभैंसी कसरी बोलाउँछन् थाहा होला’ जस्ता टिप्पणीहरू गरिए। उनले यसलाई व्यक्तिगत अपमान मात्र नभई आफ्नो पहिचानमाथिको प्रहारका रूपमा व्याख्या गरेकी छिन्।
उनले स्क्रिप्टमा उल्लेख नभएका दृश्यहरू जबर्जस्ती गराइएको, फोहोर उठाउने र सरसफाइसम्बन्धी दृश्यमा सीमित गरिएको तथा कलाकारको सट्टा मजदुरजस्तो व्यवहार गरिएको दाबी गरेकी छिन्। पारिश्रमिक विवादले परिस्थिति झन् जटिल बनेको उनको भनाइ छ।
काजलका अनुसार बाँकी पारिश्रमिक र खर्चबारे कुरा उठाएपछि निर्माण पक्षले आफूलाई इटहरी बोलायो। तर त्यहाँ पुग्दा आफ्नो स्थानमा अर्कै कलाकारलाई मेकअप गराइसकिएको भेटिएको उनले बताएकी छिन्। आफूलाई कुनै औपचारिक जानकारी नदिई फिल्मबाट हटाइएको र पछि लुगा लिन मात्र बोलाइएको जानकारी दिइएको उनको आरोप छ।
काजलको यो सार्वजनिक अभिव्यक्तिपछि निर्देशक दीपकप्रसाद आचार्यले सामाजिक सञ्जालमार्फत विस्तृत प्रतिक्रिया दिएका छन्। उनले काजलमाथि कुनै प्रकारको जातीय वा क्षेत्रीय विभेद नभएको स्पष्ट पारेका छन्। काजलले आफू मधेशी मूलकी भएको कुरा आफूले उनको स्टाटस पढेपछि मात्रै थाहा पाएको दाबी गर्दै उनले आफ्नो टिममा सबै कलाकारलाई समान व्यवहार गरिने बताएका छन्।
आचार्यका अनुसार काजलले उल्लेख गरेजस्तो कुनै दुव्र्यवहार भएको विषय उनलाई सुटिङ अवधिभर जानकारी गराइएको थिएन। यदि कुनै सदस्यले त्यस्तो व्यवहार गरेको पुष्टि भए तत्काल कारबाही गरिने उनको भनाइ छ। निर्देशक आचार्यले घटनाको अर्को पक्ष पनि सार्वजनिक गरेका छन्।
उनका अनुसार सुटिङको कल टाइम बिहान साढे ७ बजे तोकिएको थियो। करिब ७० जनाको युनिट कलाकारको प्रतीक्षामा बसेको अवस्थामा काजलले अन्तिम समयमा नआउने सन्देश पठाएकी थिइन्। त्यसपछि सुटिङ अवरुद्ध हुन नदिन निर्माण टिमले वैकल्पिक व्यवस्था गर्नुपरेको उनको दाबी छ। उनले काजललाई फिल्मबाट हटाउनुको कारण जातीय पहिचान नभई कार्य अनुशासनसँग सम्बन्धित रहेको संकेत गरेका छन्।
पारिश्रमिकको विषयमा पनि निर्माण पक्षले फरक दाबी गरेको छ। निर्देशक आचार्यका अनुसार कलाकारको अधिकांश पारिश्रमिक भुक्तानी भइसकेको थियो भने तेस्रो किस्ता मात्र बाँकी थियो, जुन डबिङ सम्पन्न भएपछि दिने सहमति भएको थियो।
काजलले आफूलाई गाईको गोबर सोहोर्ने र मजदुरको जस्तो काम मात्र दिइएको आरोप लगाएकी भए पनि निर्देशक आचार्यले त्यसलाई अस्वीकार गरेका छन्। उनका अनुसार कलाकारले निर्वाह गर्ने पात्रअनुसार विभिन्न दृश्यमा काम गर्नुपर्ने हुन्छ र काजलले फिल्ममा धेरै दृश्य तथा भूमिका निर्वाह गरेकी छिन्। त्यसका भिडियो फुटेज निर्माण पक्षसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन्।
निर्माण पक्षले काजलका केही गुनासा ‘मिसअन्डरस्ट्यान्डिङ’ हुनसक्ने भन्दै आवश्यक परे छलफलको वातावरण बनाउन तयार रहेको पनि जनाएको छ। तर यो विवादले उठाएको मूल प्रश्न भने अझै उत्तरविहीन छ। यदि काजलका आरोप सत्य हुन् भने नेपाली फिल्म उद्योगभित्र क्षेत्रीय पहिचान र प्रतिनिधित्वको विषय अझै गम्भीर समस्या रहेको संकेत मिल्छ।
यदि निर्माण पक्षको दाबी सही हो भने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका आरोपहरूले एउटा फिल्म, निर्माण टिम र संलग्न व्यक्तिहरूको प्रतिष्ठामाथि गम्भीर प्रभाव पार्न सक्छन्। दुवै पक्षले आफ्ना–आफ्ना दाबी सार्वजनिक गरिसकेका छन्। तर हालसम्म कुनै स्वतन्त्र छानबिन, आधिकारिक अनुसन्धान वा तेस्रो पक्षको निष्कर्ष सार्वजनिक भएको छैन।
यही कारण अहिलेको बहस ‘को सही र को गलत’ भन्ने प्रश्नमा सीमित छैन। यसले नेपाली चलचित्र उद्योगमा कार्यस्थलको संस्कार, कलाकारको सुरक्षा, पेशागत मर्यादा, पारिश्रमिकको पारदर्शिता, क्षेत्रीय समावेशिता र शक्ति संरचनाको चरित्रमाथि पनि नयाँ बहस जन्माएको छ।
काजल कर्णको फेसबुक स्टाटस र निर्देशक दीपकप्रसाद आचार्यको प्रतिवादबीचको यो विवाद अन्ततः कसरी टुंगिन्छ, त्यो आगामी दिनले देखाउनेछ। तर एउटा कुरा स्पष्ट छ— नेपाली फिल्म उद्योगले अब केवल पर्दामा समावेशिताको कथा देखाएर मात्र पुग्ने अवस्था छैन। सेटभित्रको व्यवहार, अवसरको वितरण र कलाकारले अनुभव गर्ने सम्मान पनि सार्वजनिक परीक्षणको घेराभित्र प्रवेश गरिसकेको छ।



