काठमाडौमा आत्म*दाह गरेका लहानका व्यवसायी राउतको पीडाः व्यापार डुब्यो, जग्गा बिकेन, तनाव बढ्दै गएपछि आफ्नै शरीरमा आगो

काठमाडौँ– बिहीबार त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। शुक्रबार सर्लाहीका ३५ वर्षीय विवेक मण्डलले त्यही बाटो रोजे। शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरभित्र ४५ वर्षीय व्यवसायी आश्विन राउतले शरीरमा आगो लगाए।

तीन दिनभित्र भएका यी तीन आत्मदाह प्रयासमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने एक जना अझै जीवन–मृत्युको संघर्षमा छन्। पछिल्ला ७२ घण्टामा भएका यी घटनाले नेपालमा बढ्दो मानसिक तनाव, आर्थिक संकट, सामाजिक दबाब र निराशाबारे गम्भीर बहस जन्माएको छ।

शनिबार अपराह्न वीर अस्पतालबाट आएको खबरले यो श्रृंखलालाई झनै भयावह बनायो। उपचाररत आश्विन राउतको मृत्यु भयो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको उपचारका क्रममा निधन भएको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित घरमा शनिबार बिहान भएको घटनामा राउतको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेको थियो। तत्काल उद्धार गरी वीर अस्पताल पु¥याइए पनि उनलाई बचाउन सकिएन।

प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद घटनाको तत्कालीन कारण देखिएको प्रहरीले जनाएको छ। तर राउतलाई नजिकबाट चिन्नेहरूका अनुसार घटनाको पृष्ठभूमि केवल एक दिनको झगडा वा क्षणिक आवेगमा सीमित थिएन।

परिवार निकट स्रोतका अनुसार राउत केही महिनायता गहिरो आर्थिक र मानसिक दबाबमा थिए। उनी सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका व्यवसायी थिए। नदी नियन्त्रण तथा तटबन्ध निर्माणमा प्रयोग हुने तारजाली (ग्याभिन) उत्पादनदेखि चीनबाट विभिन्न होम अप्लायन्स सामग्री आयातसम्मको व्यवसायमा संलग्न रहेका उनी पछिल्लो समय व्यापारिक संकटसँग जुधिरहेका थिए।

व्यवसायमा आएको गिरावटले उनको आर्थिक अवस्था प्रभावित भएको पारिवारिक स्रोतको भनाइ छ। व्यवसाय सञ्चालनका क्रममा उत्पन्न दबाबका कारण उनी ललितपुरको भैसेपाटीस्थित जग्गासमेत बेच्ने प्रयासमा थिए। तर विभिन्न कारणले बिक्री प्रक्रिया अघि नबढेपछि उनी थप तनावमा परेका थिए।

सिराहाको लाहान स्थायी घर भएका राउत काठमाडौंको बुद्धनगरमा बस्दै आएका थिए। उनी केवल व्यवसायी मात्र होइनन्, सामाजिक गतिविधिमा समेत सक्रिय थिए। उनी क्षेत्री सेवा समाजका अध्यक्षसमेत थिए। समाजका सचिव रोशन राउतका अनुसार घटना भएको समयमा उनकी श्रीमती र छोरा घरमा थिएनन्। त्यही अवसरमा उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

परिवारका सदस्यहरूले भने छोरासँगको विवादलाई घटनाको एकमात्र कारण मान्न अस्वीकार गरेका छन्। उनीहरूका अनुसार आर्थिक, पारिवारिक र स्वास्थ्यसम्बन्धी विभिन्न तनावहरू लामो समयदेखि जम्मा हुँदै गएका थिए। केही समयअघि भारतमा स्वास्थ्य उपचार गराएर फर्किएका राउत पछिल्लो समय सामान्यभन्दा बढी चिन्तित देखिने गरेको परिवार निकट व्यक्तिहरू बताउँछन्।

राउतको मृत्यु भएको केही घण्टाअघि मात्र मुगुका गणेश नेपालीको अन्त्येष्टिको तयारी भइरहेको थियो। राहदानी बनाउन काठमाडौं आएका गणेशले महानगर प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार उनको मृत्यु भयो।

गणेशको घटनाले देशव्यापी बहस जन्माइसकेको छ। महानगर प्रहरीसँगको विवाद, ह्विल लक, त्यसपछि भएको आत्मदाह र मृत्युपछि उठेका प्रश्नहरू अझै सेलाएका छैनन्। उनको परिवारले घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै आएको छ।

यता सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डल अझै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन्। विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका विवेकले पनि शुक्रबार शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। बेरोजगारी, आर्थिक अभाव र मानसिक तनाव उनको घटनासँग जोडिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

तीन व्यक्तिका जीवनकथा फरक छन्। उमेर, पेसा, सामाजिक हैसियत र भौगोलिक पृष्ठभूमि पनि फरक छन्। तर पछिल्ला घटनाहरूले एउटा साझा संकेत भने दिइरहेका छन— नेपाली समाजका विभिन्न तहमा तनाव, असुरक्षा, आर्थिक अनिश्चितता र मानसिक दबाब बढ्दो रूपमा देखिन थालेको छ।

आत्मदाह संसारकै सबैभन्दा पीडादायी र चरम आत्मघाती विधिमध्ये एक मानिन्छ। मनोविज्ञानका जानकारहरूका अनुसार यस्तो निर्णय प्रायः एकै दिनको आवेगको परिणाम हुँदैन। यसको पछाडि लामो समयदेखि थुप्रिँदै गएको निराशा, असहायता, सामाजिक दबाब, आर्थिक संकट वा व्यक्तिगत पीडाको जटिल श्रृंखला हुन सक्छ।

गणेश नेपाली र आश्विन राउतको मृत्युले अहिले त्यो बहसलाई अझ गहिरो बनाएको छ। किनभने अब प्रश्न केवल दुई व्यक्तिको मृत्युको छैन। तीन दिनभित्र एउटै विधिबाट तीन जनाले आफ्नो जीवन समाप्त गर्न खोज्नु र दुई जनाले ज्यान गुमाइसक्नुले समाज, राज्य र नीतिनिर्मातासामु एउटा असहज प्रश्न खडा गरेको छ— के नेपाली समाजभित्र बढ्दै गएको आर्थिक, सामाजिक र मानसिक संकट अब यति गहिरो बन्दै गएको छ ? जसका कारण मानिसहरूले आफ्नै शरीरमा आगो लगाएर पीडा व्यक्त गर्न थालेका छन?

गणेश नेपाली र आश्विन राउत अब यो प्रश्नको उत्तर दिन जीवित छैनन्। विवेक मण्डल अस्पतालको शय्यामा छन्। तर उनीहरूले छोडेर गएका घटनाहरूले भने देशलाई एउटा गम्भीर बहसतर्फ धकेलिरहेका छन— यस्तो श्रृंखला केवल संयोग हो कि समाजभित्र गहिरिँदै गएको संकटको चेतावनी?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट