चीनमा शक्तिशाली आँधी ‘बावी’को कहर, करिब २० लाख मानिस सुरक्षित स्थानमा सारियो
काठमाडौँ— पूर्वी चीनमा शक्तिशाली आँधी ‘बावी’ले जमिनमा प्रवेश गरेपछि व्यापक सतर्कता अपनाउँदै चिनियाँ अधिकारीहरूले झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
झेजियाङ र फुजियान प्रान्तसहित आँधीको प्रत्यक्ष प्रभाव पर्ने क्षेत्रहरूमा विद्यालय बन्द गरिएका छन्, सयौँ उडान र रेल सेवा रद्द गरिएको छ भने भारी वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै आपत्कालीन तयारी तीव्र पारिएको छ।
चिनियाँ मौसम विज्ञान प्रशासनका अनुसार बावी शनिबार साँझ पहिलोपटक झेजियाङ प्रान्तअन्तर्गत ताइझोउ सहरमा ‘ल्यान्डफल’ भएको थियो। त्यसपछि सोही रात आँधी वेन्झोउ क्षेत्रमा पुनः जमिनमा प्रवेश गरेको थियो। करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको यस आँधीले चीनको पूर्वी तटीय क्षेत्रमा व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ।
सरकारी सञ्चारमाध्यमहरूका अनुसार झेजियाङ प्रान्तबाट मात्रै १७ लाखभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। छिमेकी क्षेत्रहरूबाट पनि हजारौँ मानिसलाई जोखिम क्षेत्रबाट हटाइएको छ। राजधानी बेइजिङमा समेत सावधानीस्वरूप करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा लगिएको अधिकारीहरूले जनाएका छन्।
आँधीका कारण झेजियाङमा विद्यालय, सरकारी कार्यालय र बाहिरी गतिविधिमा रोक लगाइएको छ। करिब ४०० उडान र धेरै रेल सेवा रद्द गरिएका छन्। स्थानीय प्रशासनले नदी किनार, पहाडी क्षेत्र तथा बाढीको उच्च जोखिम भएका बस्तीहरूमा विशेष निगरानी बढाएको जनाएको छ।
मौसमविद्हरूका अनुसार बावीको तीव्रता क्रमशः कमजोर हुँदै गए पनि यसले बोकेको अत्यधिक आद्र्रताका कारण पूर्वी चीनका विभिन्न क्षेत्रमा अझै भारी वर्षा, बाढी र पहिरोको जोखिम कायम रहनेछ। आइतबार विशेषगरी झेजियाङ र उत्तरपूर्वी फुजियान प्रान्तमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी जारी गरिएको छ।
चीन पुग्नुअघि बावीले जापानका दुर्गम टापुहरूमा असर पारेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। त्यसभन्दा अघि फिलिपिन्समा यसै आँधीसँग सम्बन्धित वर्षा र पहिरोका कारण कम्तीमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनको मौसम विभागले आँधी उत्तरपश्चिमतर्फ सर्दै जाने क्रममा बिस्तारै कमजोर हुने अनुमान गरे पनि जोखिम पूर्ण रूपमा नटरेको जनाएको छ। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत संयन्त्र उच्च सतर्कतामा राखिएको छ।
यो एक साताभित्र चीनमा आएको दोस्रो ठूलो आँधी हो। यसअघि साताको सुरुतिर आएको ‘मेसाक’ आँधीले विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। उक्त आँधीका कारण कम्तीमा ३९ जनाको मृत्यु भएको थियो। त्यसको प्रभावबाट पूर्ण रूपमा उकासिन नपाउँदै चीनले पुनः अर्को शक्तिशाली आँधीको सामना गर्नुपरेको छ।

