बैंककको लोकप्रिय बारमा भीषण आगलागी, २७ जनाको मृत्यु; शौचालयमा लुकेकाहरू जिउँदै जले

काठमाडौँ– थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बार तथा मनोरञ्जनस्थलमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।

चातुचक जिल्लामा रहेको ‘रोङ बियर ना लाट फ्राओ’ बारमा लागेको आगो केही मिनेटमै भवनभर फैलिँदा ठूलो मानवीय क्षति भएको हो। उद्धारकर्मीका अनुसार अधिकांश शव भवनको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेका छन्। आगो र बाक्लो धुवाँबाट जोगिन त्यहाँ आश्रय लिने प्रयास गरेका मानिसहरू बाहिर निस्कन नसक्दा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्थानीय समयअनुसार मध्यरातपछि सुरु भएको आगलागी तीव्र गतिमा फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार आगो लागेपछि बारभित्र रहेका मानिसहरू भागदौडमा उत्रिएका थिए। तर केही व्यक्तिहरू धुवाँ र आगोले चारैतिर घेरेपछि शौचालयतर्फ भागेका थिए। त्यही क्षेत्रमा सबैभन्दा धेरै शव फेला परेको उद्धार टोलीले जनाएको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको बताएका छन्। प्रारम्भिक अनुमानअनुसार विद्युत् प्रणालीमा समस्या उत्पन्न भएपछि स्विच बोर्ड क्षेत्रमा आगो लागेको र त्यसपछि विस्फोट भई आगो तीव्र रूपमा फैलिएको हुन सक्ने अधिकारीहरूको भनाइ छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूले बारको भित्री संरचनामा प्रयोग गरिएका ज्वलनशील सजावटी सामग्रीले आगो फैलिन थप सहयोग पुगेको प्रारम्भिक निष्कर्ष निकालेका छन्। आगोले केही समयमै मुख्य हल, स्टेज र अन्य संरचनाहरूलाई पूर्ण रूपमा आफ्नो चपेटामा लिएको बताइएको छ।

दमकल र उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सक्रिय भए पनि आगलागीका कारण भएको मानवीय क्षति रोक्न सम्भव भएन। करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। थाइल्यान्डमा मनोरञ्जनस्थल तथा सार्वजनिक भवनमा हुने आगलागीका घटनाले विगतमा पनि सुरक्षा मापदण्डको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएका छन्।

पछिल्लो घटनापछि भवनको सुरक्षा व्यवस्था, आकस्मिक उद्धार मार्ग र आगलागी प्रतिरोधी संरचनाको अवस्थाबारे पनि छानबिन हुने सरकारी अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत अनुसन्धान जारी रहेकाले मृतक र घाइतेको संख्या अझै अद्यावधिक हुन सक्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट