सिरहामा सडक पुर्न माटो खनेर छाडिएको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

राजविराज– सिराहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चोक चोहर्वाको पशु हाटबजार परिसरमा सडक निर्माणका लागि माटो खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

आइतबार दिउँसो करिब साढे २ बजे भएको घटनामा रौतहट घर भई लामो समयदेखि गोलबजारमा डेरा गरी बस्दै आएका अवास शेखका दुई छोरी र एक छोराले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुविना खातुन र ८ वर्षीय साफुल शेख छन्।

उनीहरू पाँच सन्तानमध्येका तीन जना हुन्। परिवारका अनुसार बालबालिका आइतबार दिउँसो घरबाट खेल्न निस्किएका थिए। स्थानीयवासीले भने निर्माण कार्यमा भएको लापरबाही र जथाभावी माटो उत्खननका कारण तीन बालबालिकाको ज्यान गएको आरोप लगाएका छन्।

स्थानीय मनोज महतोका अनुसार डेरानजिकै रहेको माटो खनेर बनाइएको खाल्डोमा पानी जमेको थियो। खेल्ने क्रममा बालबालिका सोही पानीमा डुबेका हुन्। घटनाबारे थाहा पाएपछि स्थानीयवासी तत्काल उद्धारमा जुटेका थिए। उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पु¥याइएको भए पनि चिकित्सकले तीनैजनालाई मृत घोषणा गरेका थिए।

घटनापछि खाल्डोमा अन्य बालबालिका समेत डुबेको हुन सक्ने आशंकामा प्रहरीले दमकलको सहयोगमा खाल्डोको पानी फालेर खोजी गरेको थियो। त्यस क्रममा थप कुनै व्यक्ति फेला नपरेको जनाइएको छ।

प्रहरीका अनुसार मृतक बालबालिकाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीले निर्माण कार्यमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। सडक निर्माणका लागि माटो उत्खनन गर्दा जोखिमपूर्ण खाल्डो बनाइएको र त्यसलाई सुरक्षित बनाउने कुनै व्यवस्था नगरिएको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार माटो खन्ने क्रममा बस्ती नजिक जोखिम बढ्ने भन्दै पटक–पटक विरोध गरिएको थियो। तर निर्माणको जिम्मा पाएको उपभोक्ता समितिले स्थानीयको आग्रह बेवास्ता गर्दै उत्खनन जारी राखेको आरोप उनीहरूले लगाएका छन्।

स्थानीयवासीले जनप्रतिनिधिको संरक्षणमा जथाभावी माटो उत्खनन गरिएको दाबी गर्दै उपयोगिता नै स्पष्ट नभएको स्थानमा सडक निर्माणका नाममा गरिएको कार्यले तीन निर्दोष बालबालिकाको ज्यान गएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

यता, निर्माण उपभोक्ता समिति तथा सम्बन्धित जनप्रतिनिधिहरूको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। घटनाको कारण, निर्माण कार्यको प्रक्रिया र सम्भावित लापरबाहीबारे सम्बन्धित निकायको धारणा आउन बाँकी छ।

एकै परिवारका तीन बालबालिकाको ज्यान जाने गरी भएको यो घटनाले सार्वजनिक निर्माणका क्रममा अपनाइने सुरक्षा मापदण्ड, स्थानीय तहको अनुगमन तथा निर्माण कार्यमा उत्तरदायित्वको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट