झलहीमा कोशी पम्प नहरको बाँध भत्कियो, धान बालीमा क्षती
राजविराज– सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा नहरको पानी आसपासका खेतमा पसेर क्षती गरेको छ। करिव दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ।
डुबानका कारण धानबालीसहित कृषियोग्य जमिनमा क्षति पुगेपछि स्थानीय किसान चिन्तित बनेका छन्। स्थानीयका अनुसार बाँध भत्किएलगत्तै नहरको पानी तीव्र रूपमा खेततर्फ बगेको थियो। पानी खेतमा पसेपछि रोपिएको धानबाली नष्ट हुनुका साथै कृषियोग्य जमिनसमेत जलमग्न बनेको छ। प्रभावित क्षेत्रका किसानहरूले तत्काल क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था गर्न माग गरेका छन्।
स्थानीय नेना सचिदानन्द यादवले बाँध भत्किएपछि किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताए। उनका अनुसार खेतीको मुख्य सिजनमै भएको डुबानले किसानको लगानी जोखिममा परेको छ।
यादवले प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। साथै भत्किएको बाँध तत्काल मर्मत गरी नहरको पानी नियन्त्रणमा नलिए थप क्षेत्र डुबानमा पर्न सक्ने चेतावनी दिएका छन्।
स्थानीयवासीका अनुसार बाँध मर्मतमा ढिलाइ भए खेतीयोग्य जमिनमा थप क्षति पुग्ने र किसानको उत्पादनमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएको छ। उनीहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत निरीक्षण गरी दीर्घकालीन समाधानसहित आवश्यक कदम चाल्न माग गरेका छन्।
घटनाबारे सम्बन्धित सिंचाइ तथा स्थानीय सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। क्षतिको यकिन विवरण संकलन तथा आवश्यक प्राविधिक मूल्यांकनको काम हुन बाँकी छ।
वर्षायाम सुरु भएसँगै नहर तथा बाँधको संरचनागत अवस्थामाथि प्रश्न उठिरहेका बेला झलहीमा भएको यो घटनाले सिंचाइ पूर्वाधारको नियमित अनुगमन र समयमै मर्मतसम्भारको आवश्यकता उजागर भएको छ।

