१२ लाख घुस मागेका लहान राजस्व कार्यालयका कर अधिकृत ५ लाख नगदसहित पक्राउ
राजविराज– सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्।
आर्थिक वर्ष २०७८/७९ को कर परीक्षण मिलाइदिने नाममा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार पाललाई घुस रकमसहित पक्राउ गरी मुचुल्का तयार गर्ने तथा अन्य आवश्यक कानुनी प्रक्रिया सकिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।
अख्तियार स्रोतका अनुसार गोलबजारस्थित सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल ट्याक्स अडिट) गर्ने क्रममा कर अधिकृत पालले सेवाग्राहीसँग रकम मागेका थिए। अडिट प्रक्रियामा कार्यालयले सुरुमा कर, जरिवाना तथा अन्य शीर्षकमा गरी करिब २ करोड रुपैयाँ कर दायित्व देखाएको थियो।
त्यसपछि कर दायित्व थप बढेर ३० देखि ३५ लाख रुपैयाँसम्म पुग्न सक्ने जानकारी कर्मचारीहरूले दिएको स्रोतको भनाइ छ। यही अवस्थालाई आधार बनाएर कर अधिकृत पालले करसम्बन्धी सबै समस्या मिलाइदिने भन्दै १२ लाख रुपैयाँ घुस मागेको आरोप छ। उनले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईलगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम मागेको अख्तियार स्रोतले जनाएको छ।
सेवाग्राही पक्षले कम्पनीको आर्थिक अवस्था कमजोर रहेको बताएपछि दुवै पक्षबीच रकम घटाउने सहमति भएको र अन्ततः ५ लाख रुपैयाँमा कुरा मिलेको बताइएको छ। सोही रकम बुझ्दै गरेका बेला अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियारले घटनामा अन्य व्यक्तिको संलग्नता, घुस माग्ने प्रक्रिया तथा कर परीक्षणसँग सम्बन्धित सम्पूर्ण पक्षमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाबारे कर अधिकृत युवराज पाल वा नाम उल्लेख भएका अन्य कर अधिकृत प्रकाश राईको प्रतिक्रिया सार्वजनिक भएको छैन। अनुसन्धान जारी रहेकाले उनीहरूमाथिको आरोप कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।

