दिल्लीसँग बालेनको ‘ब्याकच्यानल’ संवादः भारत भ्रमणको ढोका खोल्न अजित डोभालसम्म पुगे कुमार बेन

काठमाडौँ– प्रधानमन्त्री बनेपछि भारतसँगको सम्बन्धलाई लिएर अनिश्चितता, दूरी र अनेक अड्कलबाजीको केन्द्रमा रहेका वालेन्द्र साह (बालेन) अन्ततः नयाँ दिल्लीसँग प्रत्यक्ष संवादको मार्गमा अघि बढेका छन्। सार्वजनिक कूटनीतिक भेटघाटभन्दा बाहिर रहेर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गोप्यस्तरको राजनीतिक–कूटनीतिक संवाद गरेको खोलासा भएको छ।

सरकार गठनपछि सय दिन पूरा हुन लाग्दा प्रधानमन्त्री साह आफैं भारत भ्रमण गर्ने कि नगर्ने, गरे कुन समयमा गर्ने र त्यसको राजनीतिक सन्देश के हुने भन्ने विषयमा स्पष्ट निर्णयमा पुगेका थिएनन्। यही पृष्ठभूमिमा उनका प्रमुख सल्लाहकार कुमार बेन र प्रधानमन्त्री निकट मानिने रोशन खड्का जुलाईको पहिलो साता नयाँ दिल्ली पुगेको स्रोतहरूले बताएका छन्।

प्रधानमन्त्री कार्यालय, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र परराष्ट्र मामिलासँग जानकार स्रोतहरूका अनुसार बेनले भारतका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। डोभालसँगको छलफल केवल औपचारिक शिष्टाचार भेट नभई बालेन नेतृत्वको सरकारको प्राथमिकता, छिमेक नीति, राजनीतिक स्थायित्व तथा प्रधानमन्त्री साहको सम्भावित भारत भ्रमणका एजेन्डामाथि केन्द्रित रहेको दाबी गरिएको छ।

नेपालको सत्ता संरचनाभन्दा बाहिरबाट उदाएका युवा प्रधानमन्त्री बालेन साह र भारतबीचको सम्बन्ध आरम्भदेखि नै चर्चाको विषय बनेको थियो। प्रधानमन्त्री बनेपछि उनले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्न समय नदिएको, नेपाल भ्रमणको तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग पनि औपचारिक संवाद नबढाएको चर्चा व्यापक बनेको थियो। त्यसले नयाँ दिल्लीमा बालेन सरकारबारे जिज्ञासा र केही हदसम्म असहजता पैदा गरेको कूटनीतिक वृत्तमा चर्चा हुँदै आएको थियो।

यही पृष्ठभूमिमा रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरे। सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे भने परराष्ट्रमन्त्री खनालले पनि भारतीय नेतृत्वसँग सरकारका प्राथमिकताबारे संवाद गरेका थिए। ती भ्रमणमार्फत नयाँ सरकारको प्रारम्भिक ‘ब्रिफिङ’ भारतलाई दिइसकिएको मानिन्छ।

तर प्रधानमन्त्री साहको प्रत्यक्ष भ्रमण अझै टुंगो नलागेका बेला कुमार बेनको दिल्ली दौडलाई नयाँ चरणको तयारीका रूपमा हेरिएको छ। प्रधानमन्त्री कार्यालयसँग आबद्ध एक अधिकारीका अनुसार डोभालसँगको छलफलमा प्रधानमन्त्री साहको सम्भावित भारत भ्रमणका विषयमा विशेष जोड दिइएको थियो। ती अधिकारीका अनुसार भारतीय पक्षले युवा प्रधानमन्त्रीलाई छिट्टै दिल्ली आमन्त्रण गर्नु राजनीतिक र कूटनीतिक दृष्टिले लाभदायक हुने धारणा राखेको थियो।

भारतको सुरक्षा, विदेश नीति र दक्षिण एसिया रणनीतिमा निर्णायक प्रभाव राख्ने अजित डोभाललाई नेपाल मामिलामा पनि अत्यन्त प्रभावशाली व्यक्तिका रूपमा हेरिन्छ। प्रधानमन्त्री मोदीका निकट विश्वासपात्र मानिने डोभाल विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीसँगै भारतको उच्चतम रणनीतिक निर्णय प्रक्रियामा संलग्न छन्।

मोदी–लामिछाने भेटका क्रममा पनि डोभाल उपस्थित थिए। त्यसअघि उनले लामिछानेसँग अलग्गै संवाद गरेका थिए। परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा पनि डोभालले नेपाल–भारत सम्बन्ध, सुरक्षा सहकार्य र राजनीतिक अवस्थाबारे चासो राखेको बताइन्छ। दिल्ली भ्रमणका क्रममा कुमार बेनले डोभालबाहेक भारतको विदेश मन्त्रालयका केही वरिष्ठ अधिकारीहरूसँग पनि भेटघाट गरेको स्रोतहरूले बताएका छन्। ती भेटहरूमा नेपाल–भारत सम्बन्धको आगामी कार्यसूची, उच्चस्तरीय भ्रमण आदानप्रदान र द्विपक्षीय सम्बन्धलाई पुनः सक्रिय बनाउने विषयमा छलफल भएको दाबी गरिएको छ।

स्रोतहरूका अनुसार दिल्लीबाट फर्किएपछि बेनले प्रधानमन्त्री साह र रास्वपा सभापति रवि लामिछानेलाई विस्तृत ‘ब्रिफिङ’ गरेका छन्। त्यसपछि प्रधानमन्त्री साह र काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच प्रत्यक्ष भेटवार्ताको तयारी सुरु भएको छ। सम्भवतः यही साताभित्र साह र श्रीवास्तवबीच पहिलो पटक एक्लाएक्लै भेट हुने बताइएको छ।

यो भेटलाई केवल औपचारिक शिष्टाचार भेटका रूपमा होइन, प्रधानमन्त्री साहको भारत भ्रमणको प्रारम्भिक कूटनीतिक तयारीका रूपमा समेत हेरिएको छ। परराष्ट्र मन्त्रालय निकट स्रोतहरूका अनुसार प्रधानमन्त्री साहको भारत भ्रमण सेप्टेम्बरअघि नै हुन सक्ने सम्भावना बढेको छ। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री साह सेप्टेम्बर ८ बाट अमेरिका जाने प्रारम्भिक तयारीमा रहेकाले त्यसअघि नै दिल्ली भ्रमण गराउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।

यसबीच अर्को रोचक संकेत पनि देखिएको छ। प्रधानमन्त्री साहको भारत भ्रमणको चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं नेपाल आउने सम्भावनाबारे पनि कूटनीतिक वृत्तमा चर्चा सुरु भएको छ। सुरक्षा स्रोतहरूका अनुसार साउन महिनाको सोमबार पारेर मोदीले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने तथा लुम्बिनी भ्रमण गर्ने सम्भावित कार्यक्रमबारे प्रारम्भिक छलफल भएको छ। यद्यपि यसबारे भारत वा नेपाल सरकारले औपचारिक पुष्टि गरेका छैनन्।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्री मोदीले नेपाल भ्रमण र धार्मिक स्थल अवलोकनबारे चासो व्यक्त गरेका थिए। यदि अन्तिम समयमा कुनै परिवर्तन नभए विशेष विमानमार्फत काठमाडौं आएर पशुपतिनाथसहित एक–दुई धार्मिक स्थल भ्रमण गर्ने सम्भावना रहेको ती नेताले बताएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेन नेतृत्वको सरकार र भारतबीचको सम्बन्ध सुरुवाती चरणमा अपेक्षाकृत चिसो देखिए पनि पछिल्ला गतिविधिहरूले दुवै पक्ष सम्बन्धलाई संस्थागत र व्यवहारिक दिशातर्फ लैजान इच्छुक रहेको संकेत दिएका छन्। भारतका लागि नेपाल राजनीतिक, सुरक्षा र भूराजनीतिक दृष्टिले संवेदनशील छ भने नेपालका लागि भारतसँगको सम्बन्ध आर्थिक, व्यापारिक, पारवहन र रणनीतिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको छ।

त्यसैले कुमार बेनको दिल्ली यात्रा केवल एउटा कूटनीतिक भेटघाटको विषय मात्र नभई प्रधानमन्त्री बालेन साहको विदेश नीतिको पहिलो ठूलो परीक्षा र भारतसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने प्रारम्भिक कदमका रूपमा हेरिन थालेको छ। अब भारतीय राजदूतसँगको भेट, सम्भावित भारत भ्रमण र त्यसपछि हुने उच्चस्तरीय संवादहरूले बालेन सरकारको छिमेक नीति कुन दिशामा अघि बढ्छ भन्ने स्पष्ट पार्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट