साइकलको ठक्करबाट वेहोस भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा १५ वर्षीया किशोरी पक्राउ

जनकपुर– महोत्तरीको सम्सी गाउँपालिका–५ मा तीन वर्षीय बालकको मृत्यु प्रकरणमा प्रहरीले स्थानीय १५ वर्षीया एक किशोरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा साइकलको ठक्करबाट बेहोस भएका बालकलाई मृत ठानेर शव लुकाउने प्रयास गरेको देखिएपछि किशोरी पक्राउ परेकी हुन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिन्डाका ३ वर्षीय मनिकेश कुमार यादवको शव जेठ २२ गते साँझ स्थानीय पोखरीमा बोराभित्र फालिएको अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोही गाउँकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएपछि घटनाबारे नयाँ विवरण खुलेको हो।

डीएसपी पञ्चलाल गोलेका अनुसार घटनाको दिन किशोरी करिब ३० किलो रासायनिक मल साइकलको पछाडि बोकेर खेततर्फ जाँदै थिइन्। मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने क्रममा सडकमा हिँडिरहेका बालक मनिकेश साइकलसँग ठोक्किएका थिए। ठक्करपछि किशोरी र बालक दुवै लडे।

अनुसन्धानमा किशोरीले लडेर उठेपछि बालकलाई हेर्दा उनी अचेत अवस्थामा रहेको र आफूले उनको मृत्यु भइसकेको ठानेको बयान दिएको प्रहरीले जनाएको छ। त्यसपछि घटना सार्वजनिक भए आफू समस्यामा पर्ने डरले उनले बालकलाई बोरामा राखेर घटनास्थलबाट करिब ३०० मिटर टाढा रहेको पोखरीमा लगेर फालेको आरोप लागेको छ।

प्रहरीका अनुसार शव पोखरीमा फाल्नुअघि बालकले लगाएको चाँदीको बाला समेत निकालिएको थियो। अनुसन्धानका क्रममा उक्त बाला किशोरीकै साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बालकको शव फेला परेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो। घटनास्थल, स्थानीय जानकारी र प्राप्त प्रमाणका आधारमा शंका लागेपछि प्रहरीले असार ५ गते किशोरीलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ।

डीएसपी गोलेका अनुसार पक्राउ परेकी किशोरीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण, ठक्करपछि बालकको अवस्था र मृत्युको यथार्थ कारणबारे विस्तृत अनुसन्धान तथा प्राविधिक परीक्षणको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

जेठ २२ गते साँझ पोखरीमा बोराभित्र बालकको शव भेटिएपछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको थियो। प्रारम्भिक रूपमा हत्या आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले अहिले दुर्घटनापछि प्रमाण लुकाउने प्रयास भएको कोणबाट समेत घटनाको अध्ययन गरिरहेको छ। प्रहरीले घटनासम्बन्धी थप तथ्य र फरेन्सिक प्रतिवेदन प्राप्त भएपछि मात्र मृत्युको कारण र संलग्न व्यक्तिको जिम्मेवारीबारे अन्तिम निष्कर्षमा पुग्न सकिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट