सप्तरीमा ३३ क्विन्टलभन्दा बढी गाँजा बरामदः तीन सवारीसाधन नियन्त्रणमा, चालक फरार

राजविराज– सप्तरी प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनमा ३३ क्विन्टल ३२ किलो ४६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

हनुमाननगरबाट रामपुर मल्हनियातर्फ ओसारपसार भइरहेको गाँजा तीन वटा सवारीसाधनबाट बरामद गरिएको हो। घटनामा प्रयोग भएका सबै सवारीसाधन र एक थान मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ भने तीनै चालक फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहिबार (साउन ७ गते) राति करिब १ बजे प्रहरी टोलीले विशेष सूचनाका आधारमा तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित सडक खण्डमा उक्त कारबाही गरेको हो।

प्रहरीका अनुसार बा.प्र.०१–०२५ च ०४३६ नम्बरको सेतो स्कर्पियोबाट प्लास्टिकका १९ बोरामा राखिएको ५ क्विन्टल २३ किलो ६४० ग्राम गाँजा बरामद भएको छ। त्यसैगरी प्र १–०४–००१ च १५०७ नम्बरको सेतो पिकअपबाट ४८ बोरामा रहेको १६ क्विन्टल ६८ किलो ११० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै बा.प्र.०१–०२९ च ९५८६ नम्बरको सेतो पिकअपबाट ३३ बोरामा रहेको ११ क्विन्टल ७० किलो ७१० ग्राम गाँजा बरामद गरिएको छ। प्रहरीले डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकका १०० बोरासहित कुल ३३ क्विन्टल ६२ किलो ४६० ग्राम तौल भएको जनाएको छ। बोराको तौल हटाउँदा गाँजाको वास्तविक तौल ३३ क्विन्टल ३२ किलो ४६० ग्राम (३,३३२.४६० किलोग्राम) रहेको प्रहरीको विवरणमा उल्लेख छ।

कारबाहीका क्रममा लागुऔषध ओसारपसारमा प्रयोग भएको एक थान मोबाइल फोन पनि बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार घटनामा संलग्न तीनै चालक सवारीसाधन छाडेर फरार भएका छन्। उनीहरूको खोजतलास तीव्र पारिएको तथा बरामद गाँजा, सवारीसाधन र अन्य प्रमाण नियन्त्रणमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

प्रहरीले घटनाको सञ्जाल, गाँजाको स्रोत, गन्तव्य तथा फरार व्यक्तिहरूको पहिचान गर्न विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट