श्रीमतीले उपहार दिएको थारमै गोली हानेर हत्या, पक्राउबाट बच्न पुरानो मुद्दामा जेल पुगे श्रीमान्
राजविराज– भारतको उत्तर प्रदेशस्थित मुरादाबादकी २३ वर्षीया कानुन अध्ययनरत विद्यार्थी अदीला रहमान बेपत्ता भएको घटनामा प्रहरीले श्रीमान् गुलफाम अलीमाथि हत्या गरेको आरोप लगाएको छ। प्रहरीले अदालतको अनुमति लिएर रामपुर जेलमा रहेका गुलफामसँग गरेको सोधपुछका क्रममा उनले जुन ३० मा उपहारस्वरूप पाएको महिन्द्रा थार एसयूभीभित्र अदीलालाई गोली हानी हत्या गरेको र शव रुड्कीस्थित नहरमा फालेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार अदीला जुन २५ मा हैदराबादस्थित उस्मानिया विश्वविद्यालयमा एलएलबी दोस्रो वर्षको परीक्षा दिन जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी परिवारको सम्पर्कमा फर्किनन्। जुन २९ मा दिल्ली विमानस्थल पुगेपछि उनको मोबाइल फोन बन्द भएको थियो। लामो समयसम्म कुनै जानकारी नपाएपछि उनकी आमाले जुलाई १८ मा गुलफाम अली र उनका भाइ कुर्बान अलीविरुद्ध अपहरणको उजुरी दर्ता गराएकी थिइन्।
उजुरीपछि सुरु गरिएको अनुसन्धानका क्रममा प्रहरीले गुलफाम अली पुरानो ज्यान मार्ने प्रयाससम्बन्धी मुद्दामा रामपुर जेलमा रहेको पत्ता लगायो। अदालतको अनुमति लिएर जेलमै सोधपुछ गर्दा उनले अदीलाको हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ।
अनुसन्धानअनुसार अदीला र गुलफामले यसै वर्ष अप्रिलमा अजमेर शरीफमा प्रेम विवाह गरेका थिए। विवाहपछि उनीहरू नोएडास्थित भाडाको फ्ल्याटमा बस्दै आएका थिए। प्रहरीका अनुसार अदीलाले गुलफामका अधिकांश व्यक्तिगत खर्च व्यहोर्दै आएकी थिइन् भने उनले प्रयोग गर्ने महिन्द्रा थार एसयूभी पनि उपहारस्वरूप किनिदिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले दम्पतीबीच गुलफामले आफ्ना परिवारसँग सम्बन्ध कायम राख्ने वा तोड्ने विषयमा पटक–पटक विवाद हुने गरेको देखाएको छ। अदीलाले श्रीमानले आफ्ना परिवारसँग सम्बन्ध विच्छेद गर्नुपर्ने अडान राख्ने गरेकी थिइन् भने यही विषय तनावको मुख्य कारण बनेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार जुन ३० मा दिल्लीबाट मुरादाबाद फर्किने क्रममा जोया क्षेत्रमा गुलफाम थार गाडी लिएर अदीलालाई लिन पुगेका थिए। यात्रा गर्ने क्रममा गाडीभित्र पुनः विवाद चर्किएपछि उनले घरेलु कट्टाबाट अदीलाको कनचटमा गोली हानेको आरोप छ। त्यसपछि शव गाडीमै राखेर रुड्कीको मंगलौर क्षेत्रस्थित नहरमा लगेर फालेको प्रहरीको अनुसन्धानमा उल्लेख छ।
घटनापछि आफूविरुद्ध तत्काल शंका नजाओस् भन्ने उद्देश्यले गुलफामले पुरानै ज्यान मार्ने प्रयाससम्बन्धी मुद्दामा रामपुर अदालतमा आत्मसमर्पण गरी जेल गएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार नहरमा फालिएको शव जुलाई ४ मा स्थानीय प्रहरीले फेला पारेको थियो। शवको पहिचान गराउन विभिन्न प्रयास गरिए पनि ७२ घण्टासम्म कुनै दाबी नआएपछि कानुनी प्रक्रिया पूरा गरी ‘बेवारिसे शव’का रूपमा अन्त्येष्टि गरिएको थियो।
अदीलाको परिवारले उनी हराएको भन्दै खोजी जारी राखिरहेका बेला अनुसन्धान हत्या प्रकरणतर्फ मोडिएको थियो। प्रहरीले अहिले घटनासँग सम्बन्धित सबै प्रमाण संकलन, बयान तथा अन्य प्राविधिक विवरणको परीक्षण गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ भने अभियुक्तविरुद्ध सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइएको छ। हालसम्म सार्वजनिक विवरणअनुसार गुलफाम अलीको औपचारिक अदालती बचाउ वा विस्तृत प्रतिक्रिया सार्वजनिक भएको छैन।

