मुद्दाको रिसले रक्तपातः जमानतमा छुटेका आरोपीद्वारा एकैरात आफ्नै श्रीमती र २ छोरासहित ६ जनाको हत्या
काठमाडौँ— भारतको तेलंगाना राज्यस्थित रंगारेड्डी जिल्लामा पोक्सो (Protection of Children from Sexual Offences Act- POCSO) ऐनअन्तर्गतको मुद्दामा जमानतमा छुटेका एक आरोपीले एकै रात दुई परिवारका ६ जनाको हत्या गरेका छन्। प्रहरीले घटनालाई हालै दर्ता भएको पोक्सोसम्बन्धी मुद्दासँग जोडेर अनुसन्धान गरिरहेको छ। हत्या गरिसकेपछि आरोपी फरार भएका छन्।
प्रहरीका अनुसार ३५ वर्षीय राजु कुमारले शुक्रबार राति पहिले आफूमाथि मुद्दा दर्ता गराउने नाबालिग किशोरी र उनको परिवारमाथि आक्रमण गरेका थिए। त्यसपछि आफ्नै घर फर्केर श्रीमती र दुई साना छोराको समेत हत्या गरेका थिए। घटनामा नाबालिग किशोरी, उनकी ४२ वर्षीया आमा, ६० वर्षीया हजुरआमा, आरोपीकी ३१ वर्षीया श्रीमती तथा उनका ४ वर्ष र १८ महिनाका दुई छोराको मृत्यु भएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यस वर्षको मे महिनामा किशोरीको परिवारले राजु कुमारविरुद्ध पछ्याउने (स्टकिङ) तथा यौन दुव्र्यवहारसम्बन्धी आरोप लगाउँदै मुद्दा दर्ता गराएका थिए। सोही मुद्दामा पक्राउ परेका राजु जमानतमा छुटेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा यही विवादलाई घटनाको मुख्य कारण मानेको छ।
प्रहरी विवरणअनुसार शुक्रबार राति करिब १०ः४५ बजे राजु कुमार आफ्नो गाउँ रायवलगुडाबाट करिब ६ किलोमिटर टाढा रहेको शबद क्षेत्रमा पुगे, जहाँ पीडित किशोरीको परिवार बस्दै आएको थियो। घरको ढोका खुलेलगत्तै उनले किशोरीकी आमामाथि धारिलो हतियार प्रहार गरेका थिए। त्यसपछि घरभित्र प्रवेश गरेर सुतिरहेकी ६० वर्षीया हजुरआमाको पनि हत्या गरेका थिए।
घटनाका बेला घरमा रहेकी किशोरीकी २० वर्षीया मानसिक रूपमा अशक्त दिदीलाई भने उनले कुनै शारीरिक क्षति नपु¥याएको प्रहरीले जनाएको छ। घरभित्र दुई जनाको हत्या गरेपछि आरोपीले नाबालिग किशोरीलाई जबर्जस्ती कारमा राखेर गाउँनजिकैको झिल क्षेत्रमा लगेका थिए। त्यहाँ पुगेपछि किशोरीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको र शव झिलको बाँध नजिक फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
किशोरीको हत्या गरेलगत्तै राजु कुमार आफ्नै घर फर्किएका थिए। अनुसन्धानकर्ताहरूका अनुसार उनी राति ११ः२१ बजे घर पुगेका थिए र करिब ६ मिनेटभित्रै आफ्नी श्रीमती तथा दुई साना छोराको घाँटी रेटेर हत्या गरेका थिए।
घटना सम्पन्न गरेपछि आरोपीले आफ्ना बुवालाई फोन गरी आफूले दुवै परिवारका सबै सदस्यको हत्या गरिसकेको र अब आत्महत्या गर्ने बताएका थिए। छोराको फोन पाएपछि उनका आमाबुवाले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले सबै ६ शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने फरार आरोपीको खोजीका लागि व्यापक अभियान सञ्चालन गरिएको जनाएको छ।
प्रहरीले घटनास्थलबाट प्राप्त प्रमाण, परिवारका सदस्यहरूको बयान र पोक्सो मुद्दासम्बन्धी अभिलेखका आधारमा अनुसन्धान अघि बढाइरहेको छ। घटनाको विस्तृत कारण, हत्या अघि भएका गतिविधि तथा आरोपीको अवस्थाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

