ममता बनर्जीले आफ्नै कार्यकर्तालाई थप्पड हानिनः भिडियो भाईरल
काठमाडौँ– पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) की नेतृ ममता बनर्जीले बुधबार कोलकातामा आयोजित विरोध र्यालीका क्रममा आफ्नै दलका कार्यकर्तामाथि थप्पड हानेको घटना सार्वजनिक भएपछि भारतको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा निकालिएको र्यालीका क्रममा उत्पन्न तनावबीच बनर्जीले एक कार्यकर्तालाई थप्पड हानेकी हुन्। तृणमूल कांग्रेसले आयोजना गरेको उक्त विरोध प्रदर्शन कोलकातास्थित बनर्जीको निवासतर्फ अघि बढिरहेको थियो।
¥यालीमा सहभागी नभएकी बनर्जी आफ्नै निवासमा थिइन्। तर जुलुस उनको घर नजिक पुग्न लाग्दा भारतीय जनता पार्टी ९भाजपा० समर्थक र तृणमूल कार्यकर्ताबीच विवाद तथा नाराबाजी सुरु भएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार केही व्यक्तिले ‘चोर–चोर’ भन्दै नारा लगाएपछि दुई पक्षबीच तनाव चर्किएको थियो। त्यसपछि उत्पन्न धकेलाधकेल र झडपका कारण घर वरपरको अवस्था असामान्य बनेको थियो।
घटनापछि बनर्जी निवासबाट बाहिर निस्किएकी थिइन्। बाहिरको अवस्था नियन्त्रणबाहिर जान थालेको देखेपछि उनले त्यहाँ उपस्थित आफ्नै दलका एक कार्यकर्ताको मुखमा थप्पड हानेको भिडियो सार्वजनिक भएको छ।
प्रत्यक्षदर्शीहरूले उनले थप केही व्यक्तिलाई ढाडमा प्रहार गरेको पनि बताएका छन्। घटनापछि बनर्जीले प्रहरीको भूमिकामाथि प्रश्न उठाएकी छिन्। उनका अनुसार भाजपा समर्थकहरूले तृणमूलका कार्यकर्ता, महिला तथा ज्येष्ठ नागरिकमाथि आक्रमण गरिरहँदा प्रहरी निष्क्रिय बनेर बसेको थियो।
उनले जुलुस बिथोल्ने प्रयास गर्नेलाई रोक्न प्रहरीले प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप लगाएकी छिन्। यद्यपि सार्वजनिक भएको थप्पड प्रकरणबारे भने बनर्जीले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन्। भाजपा पक्षबाट पनि घटनाबारे विस्तृत धारणा सार्वजनिक भएको जानकारी प्राप्त भएको छैन।
११ वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा तृणमूल कांग्रेसले राज्यव्यापी प्रदर्शनको आह्वान गरेको थियो। सोही क्रममा कोलकातामा आयोजित विरोध र्याली विवाद र झडपमा परिणत भएपछि बनर्जीको व्यवहारसमेत सार्वजनिक बहसको विषय बनेको छ।

