सुनसरी गोलीकाण्डको प्रभाव मधेशभरि फैलियोः सिरहामा १ दर्जन मोटरसाइकलमा आगजनी, धनुषामा पनि कर्फ्यु
राजविराज– सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनाव मधेश प्रदेशका अन्य जिल्लामा पनि फैलिएको छ। बिहीबार सिरहाको गोलबजार र लहान तथा धनुषाको जनकपुर उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सिरहामा दुई समूहबीच झडप हुँदा करिव १ दर्जन मोटरसाइकलमा आगजनी गरिएको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेको छ। सिरहाका सीडीओ सुरेन्द्र पौडेलका अनुसार सुनसरी घटनाको विरोधमा युवाहरू भेला भएर प्रदर्शन गरेपछि गोलबजार र लहान क्षेत्रमा सुरक्षा अवस्था असामान्य बनेको हो।
झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी भएको र ती पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
स्थिति थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको छ। कर्फ्युको क्षेत्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस आसपाससम्म तोकिएको छ।
कर्फ्यु आदेश जारी भए पनि केही स्थानमा प्रदर्शन जारी रहेको प्रशासनले जनाएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरिएको सीडीओ पौडेलले पुष्टि गरेका छन्। कर्फ्यु उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
यसैबीच धनुषामा पनि सुरक्षा अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा बिहीबार दिउँसो साढे ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
धनुषाका सीडीओ प्रेमप्रसाद लुइँटेलका अनुसार सुनसरी घटनाको विरोधमा जनकपुर र आसपासका क्षेत्रमा बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु लगाइएको हो।
प्रशासनले सार्वजनिक गरेको आदेशअनुसार कर्फ्यु क्षेत्र उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोड–एमक्यू स्टिल क्षेत्रदेखि हुलाकी सडक आसपास, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्र र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मणिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल हुँदै कादरी मस्जिद क्षेत्रसम्म विस्तार गरिएको छ।
उता, गृह मन्त्रालयले सुनसरी गोलीकाण्डको अनुसन्धानका लागि गठन गरेको छानबिन समिति घटनास्थल पुगेर अनुसन्धान अघि बढाइसकेको छ। तर, गोलीकाण्डको प्रत्यक्ष प्रभाव मधेशका अन्य जिल्लासम्म फैलिन थालेपछि सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा निगरानी र सुरक्षाकर्मीको परिचालन बढाएको जनाएको छ।
प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुरक्षा अधिकारीहरूका अनुसार अहिले प्राथमिकता हिंसा थप फैलिन नदिनु, जनधनको सुरक्षा सुनिश्चित गर्नु र घटनाको वास्तविक कारणबारे निष्पक्ष अनुसन्धान सम्पन्न गर्नु रहेको छ।
सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा गत आइतबार दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ, त्यसपछि विरोध प्रदर्शन थप चर्किएको हो।

