गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा एकको मृत्यु, कर्फ्युबीच शव सडकमै राखेर प्रदर्शन
लहान– सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज गोलीकाण्डको विरोधमा सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शन हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको ज्यान गएको जिल्ला प्रशासन कार्यालय सिरहाले पुष्टि गरेको छ।
टनापछि प्रदर्शनकारीले शव सडकमै राखेर विरोध जारी राखेका छन् भने जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालका अनुसार बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको हो। गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले मृतक गणेश यादव रहेको पुष्टि गर्दै घटनामा अर्का एक जना गम्भीर घाइते भएको जानकारी दिएका छन्।
घाइतेलाई प्रारम्भिक उपचारका लागि गोलबजारस्थित एक क्लिनिकमा लगिएको थियो। पछि अवस्था गम्भीर देखिएपछि उनलाई सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि स्वास्थ्यमा केही सुधार आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रशासनले जनाएको छ।
घटनापछि प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका छन्। सहायक सीडीओ बरालका अनुसार प्रदर्शनकारीले शव उठाउन नदिएका कारण तनाव कायमै छ। यद्यपि, गोली कसरी लाग्यो भन्ने विषयमा अझै स्पष्टता आएको छैन। प्रहरी प्रशासनले प्रदर्शन नियन्त्रणका क्रममा हवाई फायर र अश्रुग्यास मात्रै प्रयोग गरिएको दाबी गर्दै प्रहरीबाट कुनै व्यक्तिलाई लक्षित गरी गोली नचलाइएको जनाएको छ।
गोलीको स्रोत र मृत्युको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रशासनको भनाइ छ। घटनापछि जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा प्रशासनका उच्च अधिकारीहरू गोलबजार पुगेका छन्। सुरक्षा अवस्था नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको प्रशासनले जनाएको छ।
यसअघि सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि त्यसको विरोध मधेशका विभिन्न जिल्लामा फैलिएको थियो। सोही घटनाको प्रभाव सिरहामा पनि देखिएको हो।
बढ्दो तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु लागू गरिसकेको छ। कफ्र्यु जारी हुँदाहुँदै प्रदर्शन चर्किएपछि स्थिति थप जटिल बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, कफ्र्यु आदेशको पालना गर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। उता, गोली लागेर मृत्यु भएको घटनाको वास्तविकता पत्ता लगाउन सुरक्षा निकायले अनुसन्धान अघि बढाएको जनाएको छ। अहिलेको प्रमुख चुनौती सिरहामा थप हिंसा फैलिन नदिनु र तनावलाई नियन्त्रणमा ल्याउनु रहेको अधिकारीहरूको भनाइ छ।

