देवानगञ्ज गोलीकाण्डका मृतकको शव बुझ्न परिवारले मानेन, सरकारसँगको सहमति अन्यौलमा

विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमतिप्रति असन्तुष्टि चुलिएपछि शव लिन विराटनगर पुगेका परिवारका सदस्य र आफन्त गाउँ फर्किएका छन्। जसका कारण शुक्रबारका लागि तय गरिएको अन्त्येष्टि अनिश्चित बनेको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव हस्तान्तरणको तयारी गरे पनि परिवारले शव नबुझेपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन। हाल दुवै मृतकको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले सम्बन्धित पक्षसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयास जारी रहेको जनाएको छ।

गत आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनालगत्तै मृत्यु भएको थियो भने उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा रहेका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो निधन भएको थियो।

दुवै युवाको मृत्युपछि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकाको कार्यालयमा सरकार र पीडित पक्षबीच बिहीबार राति औपचारिक सहमति भएको थियो। सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनी कारबाही गर्ने, मृतक परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ।

सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन्। सोही सहमतिअनुसार शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने उल्लेख गरिएको थियो।

तर सहमतिपछि पनि स्थानीयस्तरमा विरोध नरोकिएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार गृहमन्त्रीको उपस्थितिमा मृतकका परिवारलाई दबाब र आग्रहका बीच सहमतिमा ल्याइएको भन्ने आरोप स्थानीय तहमा उठेपछि शव बुझ्न पुगेका परिवारका सदस्य र आफन्त पुनः देवानगन्ज फर्किएका हुन्। यही कारण शव हस्तान्तरण र पोस्टमार्टम प्रक्रिया प्रभावित भएको बताइएको छ।

देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले पनि घटनापछि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार गृहमन्त्रीले स्थानीय सरकारसँग आवश्यक समन्वय नगरी छलफल र निर्णय प्रक्रिया अघि बढाएका कारण स्थानीय तहलाई बेवास्ता गरिएको अनुभूति भएको छ। संकटका बेला स्थानीय जनप्रतिनिधिसँग सहकार्य हुनुपर्नेमा त्यसो नभएको उनको भनाइ छ। उनले अन्ततः सबै पक्षको आग्रहपछि मात्र सरकार र पीडित पक्षबीचको छलफलमा सहभागी भएको बताए। अध्यक्ष मेहताको धारणा स्थानीय बासिन्दा, मृतकका आफन्त र परिवारका सदस्यले पनि समर्थन गरेको जनाइएको छ।

यता सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले भने परिवारले शव बुझ्न अस्वीकार गरेको विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए। उनले सरकार र पीडित पक्षबीच सहमति भइसकेको, त्यसअनुसार शव बुझेर शुक्रबार नै अन्त्येष्टि गर्ने तयारी गरिएको तथा देवानगन्जमा आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको जानकारी दिए।

कप्तानगन्ज घटनामा सशस्त्र प्रहरीले चलाएको गोलीबाट १० जना युवा घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार जारी छ। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ।

गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन र हिंसात्मक गतिविधिका कारण जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए।

बुधबारदेखि सुनसरीको अवस्था केही सामान्य बन्दै गएको भए पनि घटनाको प्रभाव मधेश प्रदेशसम्म फैलिएको छ। सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको मृत्यु भएको छ, जसले सुरक्षा अवस्था र सामाजिक तनावप्रति थप चिन्ता बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट