सप्तरी प्रशासनको चेतावनीः सामाजिक सञ्जालमा भ्रामक पोस्ट, लाईक र कमेण्ट गरे कारवाही

राजविराज — सप्तरीमा पछिल्लो सुरक्षा संवेदनशीलताबीच जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने सामग्री तत्काल हटाउन आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको सामाजिक सञ्जाल प्रोफाइल निगरानी भइरहेको जनाएको छ।

प्रशासनले भ्रामक सामग्री प्रसारण, आन्दोलनमा हतियार प्रदर्शन तथा बालबालिकाको प्रयोग गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। सीडीओ श्यामकृष्ण थापाद्वारा शनिवार जारी सूचनामा जिल्लाको शान्ति–सुव्यवस्था, अमनचयन र धार्मिक सहिष्णुता कायम राख्न सर्वसाधारण, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी, बुद्धिजीवी तथा सबै सरोकारवालालाई संयमता अपनाउन आग्रह गरिएको छ।

सूचनाअनुसार फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा वा उत्तेजना बढाउने तथा शान्ति–सुरक्षामा असर पर्ने प्रकृतिका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रिपोस्ट, लाइक, कमेन्ट वा सेयर गर्ने व्यक्तिको सामाजिक सञ्जाल गतिविधि निगरानीमा राखिएको छ।

यस्ता सामग्री पोस्ट वा सेयर गरिएको भए तत्काल हटाउन प्रशासनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले आन्दोलनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न पनि सबै पक्षलाई आग्रह गरेको छ। यस्ता गतिविधिले सार्वजनिक शान्ति र सुरक्षामा प्रतिकूल असर पर्ने भन्दै प्रशासनले कानुनी कारबाहीको चेतावनी दिएको छ।

प्रशासनले आन्दोलनमा बालबालिकाको प्रयोग कानुनले निषेध गरेको उल्लेख गर्दै कुनै पनि व्यक्ति वा समूहले बालबालिकालाई आन्दोलनमा सहभागी गराए सम्बन्धित आयोजकमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।

सूचनामा समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्‍याउने वा कानुनी व्यवस्था आफ्नै हातमा लिन खोज्ने जो–कोहीमाथि मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ।

सुनसरी घटनापछि सप्तरीसहित पूर्वी तराईका विभिन्न जिल्लामा सुरक्षा सतर्कता बढाइएका बेला जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनालाई सामाजिक सद्भाव कायम राख्ने र सम्भावित उत्तेजना रोक्ने उद्देश्यका साथ जारी गरिएको प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट