ब्रोड पिक हिमपहिरोमा परी विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु, अन्य सदस्य पनि जीवित नरहेको घोषणा

काठमाडौँ— पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेका विश्व कीर्तिमानी पर्वतारोही तथा पूर्व बेलायती विशेष सैन्य बल (स्पेसल फोर्स) का सदस्य निर्मल पुर्जा ‘निम्स दाइ’ को मृत्यु भएको पुष्टि भएको छ।

उनको कम्पनी एलाइट एक्स्पेडिसनले शनिबार आधिकारिक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जासहित आरोहण टोलीका अन्य सदस्य पनि जीवित नरहेको जनाएको हो। कम्पनीले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा गहिरो दुःख व्यक्त गर्दै जुलाई ३० मा ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोपछि पुर्जाको ज्यान गएको पुष्टि गरेको छ। कम्पनीका अनुसार दुर्घटनामा परेका टोलीका अन्य सदस्यको पनि मृत्यु भएको छ।

निर्मल पुर्जा पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रोड पिक आरोहणका क्रममा एक अन्तर्राष्ट्रिय टोलीसँग थिए। हिमपहिरो आएपछि उनीसहित टोली सम्पर्कविहीन भएको थियो। प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित भएको थियो।

यसअघि पाकिस्तानी अधिकारीहरूले दुर्घटनामा परेका १० आरोहीमध्ये नेपालीसहित विभिन्न देशका आरोही रहेको जानकारी दिएका थिए। खोजीका क्रममा नेपाली आरोही पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव फेला परेको पुष्टि भएको थियो भने अमेरिकी आरोही सारा म्यालोरीका शारीरिक अवशेष पनि फेला परेका थिए। अन्य आरोहीको खोजी मौसमका कारण प्रभावित भएको थियो।

पाकिस्तानले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा निर्मल पुर्जालाई बेलायती नागरिकका रूपमा उल्लेख गरिएको थियो भने नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेका नेपालीहरूको सूचीमा उनको नाम समावेश गरेको थियो। यस विषयमा उनको नागरिकतासम्बन्धी चर्चा पनि भएको छ।

निर्मल पुर्जा नेपाली मूलका भए पनि पछि बेलायती सेनामा आबद्ध हुँदै बेलायती नागरिकता लिएका व्यक्ति हुन्। सार्वजनिक अभिलेखअनुसार उनले सन् २०१२ मा बेलायती राहदानी प्राप्त गरेका थिए।

चितवनमा हुर्किएका पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा असाधारण उपलब्धिका लागि परिचित थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही उपलब्धिमाथि आधारित नेटफ्लिक्स डकुमेन्ट्री ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ ले उनलाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चित बनाएको थियो।

पुर्जाले पछि एलाइट एक्स्पेडिसन स्थापना गरी हिमाल आरोहण व्यवसाय सञ्चालन गरेका थिए। उनले ‘निम्स दाइ’ ब्रान्डमार्फत पर्वतारोहण सामग्री उत्पादन र प्रवद्र्धनसमेत गर्दै आएका थिए।

निर्मल पुर्जाको निधनसँगै नेपालमा जन्मिएका एक विश्वप्रसिद्ध पर्वतारोहीको असामयिक अवसान भएको छ भने अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले पनि एक प्रभावशाली व्यक्तित्व गुमाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट